BIZMANDU
www.bizmandu.com

प्रशासनको निर्देशन बेवास्ता गर्दै नाडालाई महासंघमा लाने निर्णय, नयाँ नेतृत्व पुस २५ मा छानिने

२०८२ पुष ९

प्रशासनको निर्देशन बेवास्ता गर्दै नाडालाई महासंघमा लाने निर्णय, नयाँ नेतृत्व पुस २५ मा छानिने
प्रशासनको निर्देशन बेवास्ता गर्दै नाडालाई महासंघमा लाने निर्णय, नयाँ नेतृत्व पुस २५ मा छानिने

काठमाडौं। नाडा अटाे माेबाइल्स एसोसिएसन अफ नेपाललाई महासंघमा रुपान्तरण गरिने भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंको निर्देशनलाई बेवास्ता गर्दै नाडाले आफूलाई महासंघमा रुपान्तरण गर्ने निर्णय गरेको हो।

Tata
GBIME
Nepal Life

बुधबार ललितपुरको एक होटलमा भएको ४९औं वार्षिक साधारण सभाले अध्यक्ष करण चौधरीले राखेको प्रस्ताव विवादकाबीच पारित गरेको छ। नाडालाई महासंघमा लाने निर्णयमा केही सदस्यले असहमति जनाएका छन्।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंगलबार मात्र नाडालाई महासंघमा लाने प्रस्ताव कानुन सम्मत नभएको भन्दै कार्यान्वयन नगर्न निर्देशन दिएको थियो।

स्थानीय प्रशासनले निर्वाचन तालिका प्रकाशन गरेर मात्र साधारण सभा गर्न पनि निर्देशन दिएको थियो। तर नाडाले प्रशासनको निर्देशनलाई बेवास्ता गर्दै बुधबार साधारण सभा गरेको हो।

‘साधारण सभाका लागि प्रस्ताव गरिएका एजेण्डामा नयाँ कार्यसमितिको चयन सम्बन्धी कुनै प्रस्ताव नराखी सूचना प्रकाशित भएकोले सो साधारण सभामा नयाँ नेतृत्वका लागि निर्वाचन कार्य तालिका प्रकाशन गरी साधारण सभा सम्पन्न गर्न हुन र हाल अस्तित्वमा रहेको नाडा अटोमोबाइल एसोसिएसन अफ नेपाललाई नै महासंघमा लैजाने भनी गरिएको प्रस्ताव कानुन सम्मत नभएको हुँदा सो सम्बन्धी कार्य नगर्नु/नगराउनु हुन आदेशानुसार निर्देशन गरिएको छ,’ नाडाका अध्यक्ष चौधरी र कार्यसमितिका सदस्यलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंगलबार लेखेको पत्रमा भनिएको छ।

अध्यक्ष चाैधरीले नाडाकाे नयाँ कार्यसमिति चयनका लागि पुस २५ गते निर्वाचन गर्ने घाेषणा गरेका छन्। उनले यसका लागि कानुन व्यवसायी रमण कर्णलाई निर्वाचन अधिकृत ताेकेकाे बताए। चौधरीका अनुसार २५ गते चयन हुने नयाँ नेतृत्वले नाडालाई महासंघमा रुपान्तरणका लागि आवश्यक प्रक्रिया अगाडि बढाउनेछ।

अध्यक्ष चौधरी इत्तर पक्षको नेतृत्व गरिरहेका आकाश गोल्छा पक्षका नाडाका केही साधारण सदस्यले साधारण सभा रोक्न माग गर्दै सोमबार जिल्ला प्रशासन कार्यालयमा निवेदन दर्ता गराएका थिए। निवेदनमा निर्वाचन कार्यक्रमविना अवैधानिक रुपमा साधारण सभा गर्न लागिएको भन्दै त्यसलाई रोक्न माग गरिएको थियो।

नाडाको विधान अनुसार हरेक दुई वर्षमा कार्यसमिति चयनका लागि निर्वाचन गर्ने उल्लेख छ। नाडाले यसअघि २०८० पुस २० गते साधारण सभाबाट चौधरीको अध्यक्षतामा नयाँ नेतृत्व छानेको थियो। त्यो कार्यसमितिको म्याद पुस १९ गते सकिंदैछ।

नाडाको विधानमा साधारण सभाको १५ दिन अगाडि निर्वाचन तालिका प्रकाशन गर्नुपर्ने व्यवस्था छ। तर निर्वाचन तालिकाविनै बुधबार साधारण सभा गरिएको हो।

नाडालाई महासंघका लाने कार्यसमितिको निर्णय र निर्वाचन कार्यक्रमविनै साधारण सभा गर्ने अध्यक्ष चौधरी पक्षको निर्णय चित्त नबुझेर गोल्छा पक्ष उच्च अदालत पाटन समेत गएकामा अदालतले अन्तरिम आदेश जारी गर्ने/नगर्ने विषयमा छलफलका लागि पुस १३ गते पेसी तोकेको छ।