काठमाडौं। नेपाल वायुसेवा निगम (एनएसी)मा महाप्रबन्धकको काम गर्ने अधिकार पाएका सञ्चालक अमृतमान श्रेष्ठले बिहीबार जिम्मेवारी सम्हालेका छन्।
मन्त्रिपरिषद्ले महाप्रबन्धकको काम, कर्तव्य गर्ने जिम्मेवारी दिएको तेस्रो दिन श्रेष्ठले बहाली गरेका हुन्। उनले इजरायलमा रहेको एनएसीको इन्जिन ल्याउनका लागि आवश्यक प्रक्रिया अगाडि बढाइसकेको भन्दै साथ दिन कर्मचारीलाई आग्रह गरेका छन्।
उनले लिजको इन्जिन फिर्ता गरेर एनएसीको इन्जिन जडान गर्ने काम तत्कालै टुंग्याउने बताएको एनएसीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।
एनएसीको मर्मतका लागि इजरायलको आईएआई कम्पनीमा पठाइएको न्यारोबडी जहाजको इन्जिन ९ महिना अगाडि बनिसके पनि अझै फिर्ता ल्याइएको छैन। एनएसीका यसअघिका अध्यक्ष युवराज अधिकारीले आईएआईबाट भाडाको इन्जिन ल्याएका थिए।
आफ्नो इन्जिन ल्याउनका लागि एनएसीले आईएआईलाई भाडाको इन्जिन फिर्ता गर्नुपर्छ। एनएसीले आईएआईलाई मर्मत र भाडा बापत बुझाउनुपर्ने रकम १ अर्ब ९० करोड रुपैयाँ हाराहारी छ।
प्रधानमन्त्री सुशीला कार्कीले भाडाको इन्जिन फिर्ता गरेर आफ्नो इन्जिन ल्याउनकै लागि श्रेष्ठलाई महाप्रबन्धकको जिम्मेवारी दिएकी हुन्।