काठमाडौं। सरकारले एसियाली विकास बैंक (एडीबी)को ४२ अर्ब रुपैयाँ सहयोगमा दुई वटा सडक आयोजना अगाडि बढाउन लागेको छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले २७५ मिलियन अमेरिकी डलर अर्थात ३९ अर्ब रुपैयाँ ऋण र २० मिलियन अमेरिकी डलर अर्थात तीन अर्ब रुपैयाँ अनुदानमा नारायणगढ-हेटौंडा र आँबुखैरेनी-मुग्लिन सडक आयोजना अगाडि बढाउन लागेको हो। ती दुई सडक निर्माणमा ५५ अर्ब रुपैयाँखर्च हुने अनुमान छ। एडीबीले दिएर अपुग हुने बाँकी रकम सरकारले हाल्नेछ।
एडीबीका प्रतिनिधिले सोमबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङ र सचिव केशवकुमार शर्मालाई भेटेर सडक विस्तारका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। उनीहरुले यसका लागि छिट्टै ऋण सम्झौता गर्न आफूहरु तयार रहेको बताएको मन्त्रालयका एक उच्च अधिकृतले जानकारी दिए।
‘एडीबीका प्रतिनिधिले दुई वटा सडकका लागि ४२ अर्ब रुपैयाँ सहयोग गर्ने गरी चाँडै सम्झौता गर्ने भनेका छन्। स्रोत सुनिश्चिता भएपछि काम अगाडि बढाउन सकिन्छ,’ ती कर्मचारीले भने।
नारायणगढ-हेटौंडा र आँबुखैरेनी-मुग्लिन सडक विस्तारका लागि पूर्वतयारीको काम भइसकेको छ। वातावरणीय प्रभाव मूल्यांकनको काम अन्तिम चरणमा पुगेको छ। यस्तै डिजाइन र विस्तृत परियोजना प्रतिवेदन(डीपीआर) पनि स्वीकृतिको चरणमा रहेको सडक विभागमा एडीबीमा आयोजना हेर्ने निर्देशनालयले जनाएको छ।
निर्देशनालयका प्रमुख चुडाराज ढकालका अनुसार यी दुवै आयोजनाको डिजाइन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले रिभ्यु गरिरहेको जानकारी दिए। ‘इआईए पनि एउटाको स्वीकृत भइसकेको छ भने नारायणगढ-हेटौंडा सडकको मन्त्रालयले रिभ्यु गरिरहेको छ,’ उनले भने।
मुग्लिनदेखि आँबुखैरेनीसम्म साढे ८ किलोमिटर सडक बनाउन ४ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ। मुग्लिनमा पुल निर्माण गर्ने योजना छ।
नारायणगढ-हेटौंडा सडकमा फ्लाइओभर बनाउने विषय छलफलमा रहेकाले डिजाइन र डीपीआर स्वीकृत भएको छैन।
‘ब्रान्डघाटमा २ किलोमिटर लामो फ्लाइओभर बनाउने विषयमा छलफल भइरहेको छ। फ्लाइओभर बनाउँदाको अवस्थामा त्यसको प्रभाव के हुन्छ भन्ने हेर्नुपर्नने हुन्छ,’ ढकालले भने।
नारायणगढ-हेटौंडा
१०४ किलोमिटर लामो नारायणगढ-हेटौंडा सडक विस्तारका लागि ५० देखि ५२ अर्ब रुपैयाँ खर्च हुने अनुमान। यसमा २ किलोमिटर लामो एउटा फ्लाइओभर बनाउने गरी डीपीआर तयार पारिएको छ।
टिकौली जंगल भनेर चिनिने चितवन राष्ट्रिय निकुञ्जको बरभण्डार क्षेत्रमा यस्तो फ्लाइओभर बनाउने प्रस्ताव छ। वन्यजन्तुको वासस्थान र हिँड्ने बाटोमा असर नपर्ने गरी फ्लाइओभर बनाउन प्रस्ताव गरिएको निर्देशनालयका निर्देशक ढकालले बताए।
यो सडक बस्ती नभएका क्षेत्रमा ४ लेन र शहरी क्षेत्रमा ६ लेनको हुनेछ। चितवनको रत्ननगरदेखि भण्डाराको मार्तल खोलाको पुलसम्म ६ लेन सडक बन्ने छ। त्यहाँदेखि मकवनपुरको बसमाडीसम्म ४ लेनको हुनेछ। बसमाडीदेखि हेटौंडासम्म भने सडक ६ लेनकै बनाइनेछ।
यो सडक विस्तारका लागि २०७७ मै परामर्शदाता छनोट गरिएको थियो। डीपीआर बनाउने जिम्मा सुसङ इआरएमसी टेक स्टुडिओ अफ इन्जिनरिङले पाएको थियो। यो कम्पनीले दुई वर्षभित्र डीपीआर २०७७ असोज १८ गते सडक विभागको आयोजना निर्देशनलयसँग १५ लाख ५७ हजार डलरमा सम्झौता गरेको थियो।
यो सडकमा घरटहरा हटाउने काम भइसकेको छ। राजमार्ग छेउका बस्तीहरुमा दुबैतर्फ ३.५ मिटरको ‘सर्भिस लेन’ पनि बनाइने छ।
आँबुखैरेनी-मुग्लिन
आँबुखैरेनीको पारिबाट मुग्लिनसम्मको ८.५ किलोमिटर सडक निर्माण गर्ने योजना छ। अहिलेको सडक मर्स्याङ्दी हाइड्रोपावरका कारण चार लेनमा विस्तार गर्न सम्भव नभएपछि पारिपट्टिबाट नयाँ सडक निर्माण गर्न लागिएको हो।
नयाँ सडक दुई लेनको हुनेछ। यो सडकमा त्रिशुली र मर्स्याङ्दीमा दुई वटा पुल निर्माण गरिनेछ।