काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव हरिप्रसाद मैनालीलाई झपारेकी छन्।
नेपाल वायुसेवा निगम (एनएसी)मा महाप्रबन्धक नियुक्तिको प्रक्रिया अगाडि नबढाएकामा प्रधानमन्त्री कार्कीले मंगलबार अपराह्न पर्यटन सचिव मैनालीलाई आफ्नो कार्यकक्षमा बोलाएर झपारेकी हुन्।
‘मैले एनएसीको महाप्रबन्धक नियुक्ति गर्नका लागि तपाइँको नेतृत्वमा समिति गठन गरेको करिब दुई साता भइसक्यो। तर तपाइँले त प्रक्रिया नै अगाडि बढाउनुभएन। के यसरी नै जागिर पाक्छ भन्ने सोच्नुभएको हो? के तपाइँमा पनि राजनीतिक दलका नेताहरुमा जस्तै अझै चेत पलाएको छैन?,’ आक्रोशित हुँदै प्रधानमन्त्री कार्कीले सचिव मैनालीलाई प्रश्न गरिन्।
एनएसीको महाप्रबन्धक खुला प्रतिस्पर्धाबाट नियुक्त गर्नका लागि प्रधानमन्त्री कार्कीले विभागीय मन्त्रीको हैसियतमा कात्तिक १४ गते सचिव मैनालीको नेतृत्वमा सिफारिस समिति गठन गरेकी थिइन्।
कार्कीले एनएसीका पूर्वमहाप्रबन्धक वरिष्ठ क्याप्टेन कुलबहादुर लिम्बुलाई समितिको विज्ञ सदस्य नियुक्त गरी मन्त्रालयका योजना तथा प्रशासन महाशाखा प्रमुखलाई सदस्यसचिवको रुपमा काम गर्ने जिम्मेवारी तोकेकामा सचिव मैनालीले अहिलेसम्म समितिको बैठक नै राखेका छैनन्। योजना तथा प्रशासन महाशाखा प्रमुख अहिले जयनारायण आचार्य छन्।
जबकि समितिलाई खुला प्रतिस्पर्धाबाट योग्य उम्मेदवार छनोट गरी सिफारिस गर्न एक महिनाको समय दिइएको छ। करिब दुई साता हुँदा बैठक नै नबोलाएको जानकारी पाएपछि प्रधानमन्त्री कार्कीले मंगलबार अपराह्न सचिव मैनालीलाई बोलाएर आक्रोश व्यक्त गरेकी हुन्।
‘जेनजीले सुशासनका लागि त्यत्रो आन्दोलन गरे। तर तपाइँले त त्यसबाट केही पाठ सिकेको देखिएन। सचिवको काम गर्ने तरिका यही हो? मैले खुला प्रतिस्पर्धा गराएर एक महिनाभित्र नाम सिफारिस गर्न भनेको छु। तर तपाइँले त अहिलेसम्म प्रक्रिया नै सुरु गर्नु भएन। यस्तो पाराले काम चल्दैन,’ प्रधानमन्त्री कार्कीलाई उद्यृत गर्दै स्रोतले भन्यो, ‘मैले भनेको समयभित्र जसरी पनि नाम चाहिन्छ।’
प्रधानमन्त्री कार्की आक्रोशित मुद्रामा प्रस्तुत भएपछि सचिव मैनालीले ढिलासुस्ती हुनुमा विभिन्न बहानाबाजी गर्न खोजे। उनले समिति गठन हुँदा आफू विदेशमा रहेको र फर्किएपछि कार्यविधि बनाउने काम अगाडि बढाएको भनेर जोगिन खोजेकामा प्रधानमन्त्री कार्कीले आफूलाई कुनै किसिमको बाहनाबाजी सह्य नहुने बताइन्।
‘तपाइँ विदेश भ्रमणमा गएको आधारमा मन्त्रालयको काम रोकिने भन्ने हुन्छ? मेरोसामु बहाना नबनाउनुस्। मलाई बहाना चाहिएको छैन। काम चाहिएको छ। काममा ढिलासुस्ती स्वीकार्य हुँदैन,’ प्रधानमन्त्री कार्कीले भनिन्।
प्रधानमन्त्री कार्कीले कात्तिक १४ गते समिति गठनको निर्णय गर्दा सचिव मैनालीले नै माइन्यूट तयार पारेका थिए। उनीसँगको सल्लाहमा नै प्रधानमन्त्रीले समिति गठनका साथै सिफारिस गर्नका लागि समय तोकेकी थिइन्।
सचिव मैनालीसँगको छलफलपछि नै प्रधानमन्त्री कार्कीले खुला प्रतिस्पर्धाबाट नयाँ महाप्रबन्धक नियुक्त नभएसम्मका लागि निगमकै वरिष्ठतम् कर्मचारी उपप्रबन्ध निर्देशक जनकराज कालाखेतीलाई निमित्त महाप्रबन्धक र अर्को व्यवस्था नभएसम्म उपाध्यक्ष विक्रम राईलाई अध्यक्षको रुपमा काम लगाउने निर्णय गरेकी थिइन्।
तर, सचिव मैनाली आफ्नो नेतृत्वमा समिति गठन भएलगत्तै नेपाल पर्यटन बोर्डको अध्यक्षका नाताले पर्यटन सम्बन्धी कार्यक्रममा भाग लिन बेलायत गएका थिए। उनी कात्तिक २२ गते स्वदेश फर्किएका थिए।
प्रधानमन्त्री कार्कीले मैनालीसामु ‘सचिव विदेशमा रहेका बेला राज्य रोकिने यो कस्तो कार्यशैली हो तपाइँहरुको?’ भन्ने प्रश्न गर्दै सुशासनका लागि जेनजीले गरेको आन्दोलनको मर्म राम्रोसँग बुझेर काम गर्न निर्देशन दिइन्।
‘सचिव भनेको त मन्त्रालय र मातहतका कार्यालयका सबै कर्मचारीलाई ड्राइभ गर्ने मान्छे पो हो त। तपाइँले नै बहानाबाजी गरेर ढिलासुस्ती गर्नुभयो भने अरु कर्मचारीले के सिक्छन्? जेनजीले आन्दोलन गरेको यस्तै ढिलासुस्तीका लागि हो?,’ प्रधानमन्त्री कार्कीले भनिन्।
उनले एनएसीलाई आर्थिक संकटबाट पार लगाउने खालको योग्य उम्मेदवार सिफारिस गर्न भनेकी छन्। एनएसीमा यसअघि कार्यकारी प्रमुखका रुपमा अध्यक्ष नियुक्त गरिएका युवराज अधिकारीको चार वर्षे कार्यकाल कात्तिक ७ गते सकिएको थियो।
प्रधानमन्त्री कार्की निक्कै कडा रुपमा प्रस्तुत भएपछि सचिव मैनाली समितिको बैठक मंगलबार नै राखेर महाप्रबन्धक सिफारसको प्रक्रिया अगाडि बढाउँछु भन्दै प्रधानमन्त्री कार्यालयबाट बाहिरिएका थिए।