BIZMANDU
www.bizmandu.com

एनएसीमा महाप्रबन्धक खुला प्रतिस्पर्धाबाट नियुक्त गरिने, पर्यटन सचिवको नेतृत्वमा समिति गठन

२०८२ कात्तिक १४

एनएसीमा महाप्रबन्धक खुला प्रतिस्पर्धाबाट नियुक्त गरिने, पर्यटन सचिवको नेतृत्वमा समिति गठन
एनएसीमा महाप्रबन्धक खुला प्रतिस्पर्धाबाट नियुक्त गरिने, पर्यटन सचिवको नेतृत्वमा समिति गठन

काठमाडौं। नेपाल वायु सेवा निगम (एनएसी)को महाप्रबन्धक खुला प्रतिस्पर्धाबाट चयन गरिने भएको छ।

Tata
GBIME
Nepal Life

खुला प्रतिस्पर्धाबाट योग्य उम्मेदवार छनोट गरी सिफारिस गर्न पर्यटन मन्त्रालयका सचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा समिति गठन गरिएको छ।

प्रधानमन्त्री सुशीला कार्कीले विभागीय मन्त्रीको हैसियतमा शुक्रबार समिति गठन गरेकी हुन्। समितिमा विज्ञ सदस्यका रुपमा क्याप्टेन कुलबहादुर लिम्बुलाई राखिएको छ। लिम्बु एनएसीकै पूर्वमहाप्रबन्धक हुन्।

पर्यटन मन्त्रालयका योजना तथा प्रशासन महाशाखा प्रमुखले समितिमा सदस्य सचिवको रुपमा काम गर्नेछन्। समितिलाई खुला प्रतिस्पर्धाबाट योग्य उम्मेदवार छनोट गरी सिफारिस गर्न एक महिनाको समय दिइएको छ।

खुला प्रतिस्पर्धाबाट नयाँ महाप्रबन्धक नियुक्त नभएसम्मका लागि निगमकै वरिष्ठतम् कर्मचारी उप-प्रबन्ध निर्देशक जनकराज कालाखेतीले निमित्त महाप्रबन्धक भई काम गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

यसैगरी एनएसीको सञ्चालक समिति अध्यक्षको काम अर्को व्यवस्था नभएसम्म उपाध्यक्ष विक्रम राईले गर्ने छन्।

एनएसीमा यसअघि कार्यकारी प्रमुखका रुपमा अध्यक्ष नियुक्त गरिएको थियो। कार्यकारी अध्यक्षका रुपमा युवराज अधिकारीको चार वर्षे कार्यकाल कात्तिक ७ गते सकिएको थियो।

अधिकारीले कार्यकाल दोहोर्‍याउन दौडधुप गरेकामा प्रधानमन्त्री कार्कीले विभिन्न विवादमा मुछिएकालाई नबोक्ने सन्देश दिएकी थिइन्। त्यसपछि अधिकारी हच्किएका थिए।

अधिकारीले कात्तिक ४ गते उप-प्रबन्ध निर्देशक डोलेश्वर कोइरालालाई निमित्तको जिम्मेवारी दिएका थिए। कोइराला कालाखेतीभन्दा कनिष्ठ हुन्।

अधिकारीले बिहीबार एनएसीका केही कर्मचारीलाई आफू फेरि फर्किन सक्ने भन्दै टेलिफोन गरेका थिए।

यो समाचार बिजमाण्डूले सार्वजनिक गरेको भोलिपल्ट विभागीय मन्त्रीका नाताले प्रधानमन्त्री कार्कीले एनएसीको नेतृत्व खुला प्रतिस्पर्धाबाट छान्नका लागि समिति गठन गरेकी हुन्।

उनले निमित्तको जिम्मेवारी पनि अधिकारीका विश्वासपात्र कोइरालाको साटो कालाखेतीलाई दिएकी छन्।