BIZMANDU
www.bizmandu.com

ग्यासमा घरायसी ग्राहकलाई सहुलियतको योजना तत्कालका लागि होल्ड, व्यवसायीलाई ४५० किलोको सिलिन्डर

२०८२ कात्तिक ९

ग्यासमा घरायसी ग्राहकलाई सहुलियतको योजना तत्कालका लागि होल्ड, व्यवसायीलाई ४५० किलोको सिलिन्डर
ग्यासमा घरायसी ग्राहकलाई सहुलियतको योजना तत्कालका लागि होल्ड, व्यवसायीलाई ४५० किलोको सिलिन्डर

काठमाडौं। नेपाल आयल निगमले घरायसी प्रयोजनका लागि एलपी ग्यासमा सहुलियत दिने योजना तत्कालका लागि होल्ड गर्ने भएको छ।

Tata
GBIME
Nepal Life

निगमले उही तौलको सिलिन्डरमा घरायसी प्रयोजनका लागि सहुलियत दिंदा दुरुपयोग हुने जोखिम देखाउँदै त्यो योजना थाँती राखेर फेरि दुई खाले सिलिण्डर प्रयोगमा ल्याउने योजना अगाडि बढाएको छ।

निगमले घरायसी प्रयोजनका लागि अहिलेकै १४.२ केजीको सिलिण्डरलाई निरन्तरता दिएर व्यावसायिक प्रयोजनका लागि ४५० केजीको सिलिन्डर लागू गर्न लागेको हो।

निगमका कार्यकारी निर्देशक चण्डिका भट्टले घरायसी र व्यावसायिक प्रयोजनका लागि अलग तौलका सिलिण्डर प्रयोगका ल्याउन आवश्यक गृहकार्य अगाडि बढाइएको जानकारी दिए।

‘हामीले अब व्यावसायिक प्रयोजनमा ग्यास प्रयोगका लागि ४५० केजीको सिलिन्डरलाई म्यान्डेटोरी गर्न लागेका छौं,’ भट्टले भने।

यसका लागि निगमले नेपाल गुणस्तर तथा नापतौल विभागमा पत्राचार गरिसकेको छ। निगमले विभागलाई व्यावसायिक प्रयोजनको सिलिण्डरमा नेपाल स्ट्यान्डर्ड लागू गर्नका लागि आवश्यक सहयोग गर्न पत्र लेखेको हो।

विभागकी महानिर्देशक कुमारी ज्योति जोशी(भट्ट)ले निगमको पत्र प्राप्त भएको तर आफूहरुले आवश्यक प्रक्रिया अगाडि बढाउन बाँकी रहेको बताइन्।

‘४५० केजीको सिलिण्डरका लागि निगमले हामीलाई पत्राचार गरेको छ। तर, जेनजीको आन्दोलनका क्रममा विभागको नापतौल शाखाको प्रयोगशाला र उपकरणमा क्षति पुगेका कारण अहिले काम गर्न सकिने अवस्था छैन,’ उनले भनिन्।

विभागले निर्णय गरेपछि दुई थरि तौलका सिलिण्डर प्रयोगमा आउनेछन्।

निगमले घरायसी र औद्योगिक/व्यावसायिक प्रयोजन छुट्याएर ग्यास बेच्नका लागि तीन महिनाअघि नै कानुनी आधार प्रस्ताव गरेको थियो। घरायसी प्रयोजनका लागि प्रति परिवार वार्षिक ८ सिलिन्डर ग्यासमा अनुदान दिने गरी निगमले कार्यविधिको मस्यौदा बनाएको थियो।

ग्यास परल मूल्यमा बिक्री गरी घरायसी ग्राहकलाई अनुदान फिर्ता दिने गरी कार्यविधि प्रस्ताव गरेको निगमले तीन महिनापछि नै त्यसलाई होल्ड गरेर ४५० केजीको सिलिण्डर प्रयोगमा ल्याउने गृहकार्य अगाडि बढाएको हो।

‘घरायसी प्रयोजनमा प्रयोग हुने ग्यासमा सहुलियत दिंदा ग्राहकले सुरुमा व्यावसायिक प्रयोजनमा सरह परल मूल्य नै तिर्नुपर्छ। तर उपभोक्ताले परल मूल्यलाई एसेप्ट नगर्ने र अनुदान दिन पनि समस्या हुने देखिएकाले दुईथरि सिलिन्डरको योजना बनेको हो,’ भट्टले भने, ‘दुईथरि सिलिण्डर हुँदा व्यवसायीलाई परल मूल्यमा र घरायसी ग्राहकलाई सहुलियत दिएर बेच्न सजिलो हुन्छ।’

भट्टका अनुसार यसबारेमा निगमले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हासँग कुरा गर्न बाँकी छ। तर ग्यास व्यवसायीले भने ४५० केजीको सिलिण्डर प्रयोगमा ल्याउन सहमति जनाइसकेको भट्टको दाबी छ।

‘यस विषयमा मन्त्रीसँग केही दिनमा छलफल गर्ने योजना बनाएका छौं,’ उनले भने, ‘ग्यास उद्योगीले हामीसँगको छलफलमा ४५० केजीको सिलिन्डर प्रयोगमा ल्याउनका लागि सहमति जनाइसक्नुभएको छ।’

सहज छैन पुराना सिलिन्डरको व्यवस्थापन

व्यावसायिक प्रयोजनका लागि ठूला सिलिण्डर प्रयोगमा ल्याउँदा अहिलेका १४.२ केजीका सिलिण्डर व्यवस्थापन निक्कै पेचिलो बन्नेछ। किनभने अहिले व्यवसायीहरुले प्रयोग गरिरहेका सिलिण्डर सबै घरायसी प्रयोजनमा प्रयोगमा आउँदैनन्। अर्थात १४.२ केजीका सिलिण्डर व्यवस्थापन व्यवसायीका लागि टाउको दुखाइको विषय बन्नेछ।

निगमका कार्यकारी निर्देशक भट्टले भने सिलिण्डर व्यवस्थापनको उपायसहित कार्यविधि बनाउने बताए।

‘अहिले व्यावसायिक रुपमा प्रयोग भइरहेका सिलिन्डर ४५० केजीको प्रयोग गर्दा फिर्ता हुन्छ। त्यसलाई व्यवस्थापन गर्ने उपाय कार्यविधिमै राखिने छ,’ भट्टले भने, ‘पुरानोलाई व्यवस्थापन गर्न र ४५० केजीको सिलिन्डर प्रयोग गर्ने सम्बन्धमा कार्यविधि बनाउँछौं। जसमा जुन उद्योगको सिलिन्डर हो त्यही उद्योगलाई व्यवस्थापन गर्न अनिवार्य गरिनेछ। अहिले प्रयोग भइरहेका सिलिन्डरको धरौटीमा नयाँ सिलिन्डर रिप्लेस गर्ने तयारी छ। यो छलफलकै चरणमा छ।’

ग्यास व्यवसायीले पुराना सिलिन्डर फिर्ताको नीति के हुन्छ भन्नेबारे निगमको प्रष्ट धारणा आउन बाँकी रहेको बताए।

‘ठूला सिलिण्डर प्रयोगका ल्याउनका लागि हामीले ठूलो रकम लगानी गर्नुपर्ने हुन्छ। अहिले प्रयोगमा रहेका र घरायसी प्रयोजनमा मात्र खपत नहुने सिलिण्डरमा गरिएको लगानीको पनि कुरा छ,’ एक व्यवसायीले भने, ‘पहिला निगमको प्रष्ट धारणा आओस्। त्यसपछि हामी सिलिण्डर व्यवस्थापनबारे हाम्रा भनाइ सार्वजनिक गर्नेछौं। अहिले नै यसै गर्छौं भन्नु निक्कै हतार हुन्छ।’