काठमाडौं। हिमालयन लाइफ इन्स्योरेन्सका अभिकर्ताहरूले अध्यक्ष सुलभ अग्रवालकाे राजीनामा माग्दै घेराउ गरेका छन्।
कम्पनीका अध्यक्ष अग्रवाल र सीइओ मनोजकुमार लाल कर्णविरुद्ध आन्दोलनमा उत्रिएका अभिकर्ताहरूले शुक्रबार कार्यालय परिसर हात्तीसारमा घेराउ गरेका हुन।
शुक्रबार अग्रवाल र कर्णको राजीनामा माग्दै अभिकर्ताहरूले कार्यालय अगाडि नाराबाजी गरेका थिए।
अभिकर्ताहरूले व्यवस्थापनको मनोमानी अन्त्य गर्नुपर्ने मागसहित अध्यक्ष र सीइओकाे राजीनामा माग्दै आन्दोलन गरिरहेका छन्। पेसागत बीमा अभिकर्ता महासंघ नेपालले आफ्नो माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने बताएको छ।
नियामक निकायलाई आफू अनुकूल प्रयोग गरेर सरकारी स्वामित्वको नेपाल रि-इन्स्योरेन्स कब्जा गर्ने रणनीतिमा मतियार बनेका इन्स्योरेन्सका सीइओ मनोजलाल कर्णलाई ‘असक्षम प्रमुख कार्यकारी अधिकृत’ भन्दै उनीहरूले राजीनामा मागेर लगातार धर्ना दिइरहेका हुन्।
अभिकर्ताले न्यूनतम बोनस दरप्रति हजार ५० हजार रुपैयाँ कायम हुनुपर्ने माग पनि राखेका छन्। बीमितले पाउने बोनस प्रतिस्पर्धी कम्पनीसँग बराबर गर्नुपर्ने अभिकर्ताको माग छ।
हिमालयन लाइफमा अध्यक्ष सुलभ अग्रवाल र कर्णले कम्पनीलाई आफू अनुकूल प्रयोग गरिरहेका छन्। सरकारको लगानी रहेको नेपाल रिइन्स्याेन्स कब्जा गर्ने रणनीतिमा हिमालयन लाइफलाई प्रयोग गरेका अग्रवाल-दीपक भट्टको चाहनामा पछिल्लो राजनीतिक उथलपुथलले ठेस लागेको छ।
हिमालयन लाइफमा भट्ट पत्नीको लगानी छ। नेपाल रि हत्याउन रणनीति रूवरूप उनीहरूले कर्ण पत्नीको लगानी रहेको ब्राेकरमार्फत कम्पनीको सेयर खरिद गरेका थिए।
त्यही प्रयोजनका लागि नेपाल रिलाई समेत लगानी गराएर हिमालयन लाइफकाे नामबाट ४ अर्ब रुपैयाँको सामूहिक लगानी कोष ल्याइएको थियो।