काठमाडौं। नियामक निकायलाई आफू अनुकूल प्रयोग गरेर सरकारी स्वामित्वको नेपाल रि इन्स्योरेन्स कब्जा गर्ने रणनीतिमा मतियार बनेका हिमालयन लाइफ इन्स्योरेन्सका मनोजलाल कर्णको राजीनामा मागेर आन्दोलन सुरु भएको छ। कम्पनीकै अभिकर्ताले ‘असक्षम प्रमुख कार्यकारी अधिकृत’ भन्दै कर्णको जीनामा मागेर धर्ना थालेका छन्।
पेसागत बीमा अभिकर्ता संघ नेपालले हिमालयन लाइफभित्रको बेथिति अन्त्यको माग गर्दै कार्यालयमा धर्ना थालेको हो।
सीइओ कर्ण तिनै हुन् जसले नेपाल रिइन्स्योरेन्स कब्जा गर्ने कम्पनीका अध्यक्ष विवादास्पद व्यवसायी सुलभ अग्रवाल र दीपक भट्टको रणनीतिमा हातमा हात मिलाइरहेका छन्। कर्णले श्रीमतीको नाममा सेयर रहेको ब्रोकरेज कम्पनीबाट दीपक र सुलभको षड्यन्त्रमा साथ दिइरहेका छन्।
नियामक निकाय नेपाल बीमा प्राधिकरण र नेपाल धितोपत्र बोर्ड(सेबोन)मा आफू अनुकूलका व्यक्तिलाई अध्यक्ष बनाएका दीपक-सुलभको स्वार्थमा नेपाल रि हत्याउन कर्णले सहजीकरण गरिहरेका हुन्।
कम्पनीका सीइओ कर्णले नेपाल रिकै पैसाले सोही कम्पनीको सेयर आफ्नो श्रीमतीको लगानी रहेको भृकुटी ब्रोकरमार्फत खरिद गराएका थिए।
हिमालयन लाइफले नेपाल रिइन्स्योरेन्सको सेयर खरिदका लागि सोही कम्पनीको लगानी रहेको ४ अर्ब रुपैयाँको सामूहिक लगानी कोष सेबोनबाट फास्ट ट्रायकमा स्वीकृत गराएको थियो।
सेबोन अध्यक्ष सन्तोषनारायण श्रेष्ठले नेपाल रि कब्जा गर्ने प्रिपेड बिचौलिया भनिने यही समूहको चाहना अनुसार कैफियतमा आँखा चिम्लेर दुई सातामै हिमालयन लार्ज क्याप फण्डलाई ४ अर्ब रुपैयाँ पैसा उठाउन अनुमति दिएका थिए।
हिमालयल लाइफले यो रकम नेपाल रिको सेयर खरिदमा प्रयोग गर्ने रणनीति अनुसार कोष सञ्चालनमा ल्याएको छ। यसको चाँजोपाँजो कर्ण दम्पत्तिले मिलाइरहेका हुन्।
कर्णकी पत्नी सुधाले भृकुटी स्टक ब्रोकरिङ प्रालि अर्थात ५५ नम्बर ब्रोकरबाट नेपाल रिको सेयर उठाइरहेकी छन्। कम्पनीको कर्पोरेट सुशासन छोडेर सुलभ र दीपकको स्वार्थ अनुसार काम गरिहरेका उनै कर्णविरुद्ध अभिकर्ता खनिएका हुन्।
कर्णले बीमितको हित विपरीत व्यवस्थापनको स्वार्थमा काम गरिरहेकोले आन्दोलनमा उत्रिएको अभिकर्ताको भनाइ छ।
‘इन्स्योरेन्समा कर्णले बीमितको हित नभएर सञ्चालकलाई खुसी बनाउन काम गरेकाले हामी धर्नामा उत्रिएका हौं,’ अभिकर्ता संघका एक पदाधिकारीले भने, ‘माग पूरा नभएसम्म आन्दोलन निरन्तर कायम राख्नेछौं। व्यवस्थापनले अहिलेसम्म समस्या बुझ्ने कोसिससम्म गरेको छैन।’
अभिकर्ताले न्यूनतम् बोनस दर प्रति हजार ५० हजार रुपैयाँ कायम हुनुपर्ने माग पनि राखेका छन्। बीमितले पाउने बोनस प्रतिस्पर्धी कम्पनीसँग बराबर गर्नुपर्ने अभिकर्ताको माग छ।
अभिकर्ताले सीइओ कर्णको राजीनामा माग्दै व्यवस्थापनको लापरवाही नियन्त्रण गर्नुपर्ने माग राखेका छन्।
हिमालयन लाइफको स्वार्थमा सेबोन अध्यक्ष सन्तोषनारायण मात्रै होइन, बीमा प्राधिकरणले समेत नीतिगत सहजीकरण गर्दै आएको छ।
प्राधिकरणले हिमलायन लाइफ इन्स्योरेन्सलाई नेपाल रिइन्स्योरेन्सको सेयर खरिद गर्न सहज हुने गरी भदौमा लगानी सम्बन्धी नयाँ निर्देशन जारी गरेको छ।
सूचीकृत कम्पनीको सेयरमा हिमालयन लाइफ इन्स्योरेन्सले अहिले नै तोकिएको सीमाभन्दा धेरै लगानी गरेको पृष्ठभूमिमा प्राधिकरणले लगानी थप्ने वातावरणस्वरुप पुरानो निर्देशन खारेज गरेर नयाँ निर्देशन गरेर सहजीकरण गरिदिएको हो।
बीमा कम्पनीहरुले सूचीकृत पब्लिक कम्पनीको सेयरमा कुल लगानीको १० प्रतिशतभन्दा बढी लगानी गर्न नपाउने व्यवस्था रहेकामा हिमालयन लाइफले आफ्नो फेबरमा हुने गरी बढाएर १५ प्रतिशत पुर्याउन लगाएको हो।
सूचीकृत कम्पनीको सेयरमा कुल लगानीको १० प्रतिशतभन्दा बढी लगानी गर्न नपाउने व्यवस्था हिमालयन लाइफले उल्लंघन गर्दा प्राधिकरणले यसअघि पनि निर्देशन संशोधन गरेर सहज पारिदिएको थियो।
जीवन बीमा कम्पनीले सेयरमा गरेको कुल लगानीमध्ये हिमालयन लाइफ एक्लैको एकतिहाइ हिस्सा छ।