BIZMANDU
www.bizmandu.com

खरानीबाट उठ्दै निजी क्षेत्र, धमाधम पुनर्निर्माण, अर्थमन्त्रीले दिलाउन खोजेको कन्फिडेन्स बोनस

२०८२ असोज २

खरानीबाट उठ्दै निजी क्षेत्र, धमाधम पुनर्निर्माण, अर्थमन्त्रीले दिलाउन खोजेको कन्फिडेन्स बोनस
खरानीबाट उठ्दै निजी क्षेत्र, धमाधम पुनर्निर्माण, अर्थमन्त्रीले दिलाउन खोजेको कन्फिडेन्स बोनस


काठमाडौं। जेनजीको आन्दोलनका क्रममा ठूलो क्षति ब्यहोरेको निजी क्षेत्र पुनर्निर्माणमा जुटेको छ। सरकारी कार्यालयहरू विवरण संकलनमा अलमलिरहँदा निजी क्षेत्र व्यवसाय संचालनमा ल्याउनका लागि पुनर्निर्माणमा जुटेको हो।

Tata
GBIME
Nepal Life

आन्दोलनका क्रममा सबैभन्दा ठूलो चोट सहेको भाटभटेनी सुपरमार्केट खरानी बनेको संरचनालाई पुरानै रुप दिने प्रयासमा लागिसकेको छ। भाटभटेनीले कोटेश्वरस्थित आफ्नो स्टोर सरसफाइलाई तीव्रता दिएको छ।

तोडफोड र लुटपाट मात्र भएका स्टोर यसअघि नै संचालनमा ल्याइसकेको भाटभटेनी आगजनी गरिएका स्टोर पनि सक्दो चाँडो चलाउने गरी पुनर्निर्माणमा लागेको छ।

आगजनीका कारण खस्किएको निजी क्षेत्रको मनोबल बढाउने प्रयासस्वरुप मंगलबार अपराह्न अर्थमन्त्री रामेश्वर खनाल विभिन्न व्यावसायिक प्रतिष्ठानमा पुग्दा धमाधम सरसफाइ लगायत काम भइरहेको थियो।

भाटभटेनीको कोटेश्वरस्थित स्टोर

अर्थमन्त्री खनालले क्षतिग्रस्त व्यावसायिक प्रतिष्ठानमा पुगेर आवश्यक सहयोग गर्ने आश्वासन दिएपछि निजी क्षेत्र केही आशावादी बनेको छ। अर्थमन्त्रीले कन्फिडेन्स दिन खोजेपछि अटोमोबाइल व्यवसायीले तोडफोड र आगजनीबाट ध्वस्त गाडीका शोरुम पुनर्निर्माणलाई तीव्रता दिएका छन्।

थापाथली क्षेत्रमा आगजनी र तोडफोडमा परेका सबै शोरुमको पुनर्निर्माण अगाडि बढेको छ।

टाटा गाडीको शोरुम केही दिनमा संचालनमा ल्याउने गरी पुनर्निर्माण भइरहेको छ। टाटाको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले शोरुमको पछाडि पट्टि पाल टाँगेर ग्राहकहरूलाई सर्भिस प्रदान गरिरहेको छ।

सिप्रदी ट्रेडिङका प्यासेन्जर भेहिकल बिजनेस युनिटका महाप्रबन्धक सावन्तजंग सिजापतिले अर्को सातासम्म शोरुम संचालनमा ल्याउने गरी काम भइरहेको बताए।

‘एकातिर बीमाको प्रक्रिया चलिरहेको छ भने अर्कातिर पुनर्निर्माण भइरहेको अबको ८ देखि १० दिनमा शोरुम संचालनमा आउँछ,’ उनले भने।

सुजुकी गाडीको थापाथलीस्थित शोरुम पनि दसैंसम्म संचालनमा ल्याउने तयारी छ। सुजुकी गाडीको विक्रेता सीजी मोटोकर्पका सिनियर मार्केटिङ म्यानेजर करुण शाक्यले अहिले क्षतिको मूल्यांकन भइरहेको र शोरुम दसैंसम्म संचालनमा ल्याउने बताए।

‘अहिले ड्यामेजको तथ्यांक संकलन गरिरहेका छौं। सकेसम्म दसैं अगाडि शोरुम संचालन गर्ने योजना छ,’ उनले भने।

महिन्द्रा गाडीको शोरुम पुनर्निर्माणका लागि भने समय लाग्ने देखिएको छ। महिन्द्राको आधिकारिक विक्रेता अग्नि इन्कर्पोरेटेडले बीमा दाबी गर्ने र शोरुम सफा गर्ने काम भइरहेको तर पुनर्निर्माणका लागि भने भारत र चीनबाट सामान ल्याउनुपर्ने बताएको छ।

‘शोरुम उत्पादक कम्पनीको ग्लोबल स्ट्यान्डर्ड अनुसार निर्माण गर्नुपर्ने भएकाले केही समय लाग्नेछ। यसका लागि सामान भारत र चीनबाट ल्याउनु पर्ने हुन्छ,’ कम्पनीका एक कर्मचारीले भने।

सीजी मोटर्सका प्रमुख कार्यकारी अधिकृत (सीइओ) कपिल शिवाकोटीले सोमबारबाटै शोरुम पुनर्निर्माणको काम गरिरहेको बताए।

‘सोमबारदेखि काम सुरु भएको छ। शोरुममा फ्लोर सबै भत्काएर बनाउनु पर्नेछ,’ उनले भने, ‘बीमाका लागि सर्वे गर्ने काम सकिएको छ। यसको मूल्यांकन गरेर प्रतिवेदन आउन बाँकी छ।’

सीजीको थापाथलीस्थित भवनमा एक्सपेङ, आयोन, स्मार्ट र अवतारको शोरुम थियो। आयोन र एक्सपेङ गाडीको शोरुममा धेरै क्षति पुगेको छ।

शिवाकोटीका अनुसार क्षति धेरै भएका कारण शोरुम तयार पार्न ३ महिना लाग्ने अनुमान छ। उनले शोरुमका लागि सीसा भारतबाट मगाउनुपर्ने बताए।

थापाथलीमा टाटा, एक्सपेङ, आयोन, स्मार्ट, महिन्द्रा, हुन्डाई र सुजुकी गाडीका आधा दर्जन शोरुम तोडफोड र आगजनीमा पर्दा ३५ करोडदेखि ५० करोड रुपैयाँ हाराहारी क्षति भएको अनुमान गरिएको छ। शोरुमसँगै ३० वटा गाडी तोडफोड र आगजनीमा परेका छन्। सीजी मोटर्स, सिप्रदी ट्रेडिङ र सीजी होल्डिङ्सलाई सबैभन्दा धेरै क्षति भएको छ।

अर्थमन्त्री खनालले जेनजीको आन्दोलनबाट क्षति पुगेका थापाथलीस्थित शोरुमको मंगलबार अपराह्न अवलोकनका क्रममा सरकारले आवश्यक सहयोग गर्ने आश्वासन दिएका थिए।

खनालले क्षतिग्रस्त व्यावसायिक संरचना अवलोकनपछि अपराह्न मन्त्रालयमा उद्योगी व्यवसायीसहितको बैठक राखेर कर तिर्ने समय एक महिना थप्ने निर्णय सुनाएका थिए।

उद्योगी व्यवसायीको मनोबल बढाउनका लागि खनालले ‘एकीकृत पुनरुत्थान योजना’ ल्याउन लागेका छन्। त्यसका लागि अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकका कर्मचारी सम्मिलित कार्यदलले काम गरिरहेको छ।