BIZMANDU
www.bizmandu.com

कांग्रेसको जेनजी समर्थकको भरोसा तोड्दै देउवा, ‘ओलीले जे भन्यो त्यही सुनेर बालुवाटारबाट फर्किने?’

२०८२ भदौ २३

कांग्रेसको जेनजी समर्थकको भरोसा तोड्दै देउवा,  ‘ओलीले जे भन्यो त्यही सुनेर बालुवाटारबाट फर्किने?’
कांग्रेसको जेनजी समर्थकको भरोसा तोड्दै देउवा, ‘ओलीले जे भन्यो त्यही सुनेर बालुवाटारबाट फर्किने?’

काठमाडौं । अहिले सामाजिक संजालमा नेपालका मूलधार मिडियालाई लक्षित अर्को अभियान चलिरहेको छ। युवाहरु मिडियालाई भन्दैछन् : अहिलेको जेनजी प्रदर्शन सामाजिक संजालमाथि रोक लगाएको विषयमामात्र होइन, भ्रष्टाचारविरुद्ध हो।

Tata
GBIME
Nepal Life

फेसबुक, इन्स्टाग्राम, युटयुब लगायत सामाजिक संजाल बन्द गरेपछि जेनजी पुस्ताको ध्यान बोल्न पाउनुपर्छ भन्नेमा मात्रै सीमित भएन। हामीले हाम्रो भविष्यका लागि लड्नुपर्छ र त्यसका लागि भ्रष्टाचार अन्त्य हुनुपर्छ भन्ने पनि थियो। त्यसैलाई केन्द्रति गरेर फिलिपिन्सबाट सुरु भएको ‘एक्सपोज नेपो बेबी’ अभियानलाई अंगाले।

उनीहरुले नेपालका राजनीतिक परिवारसँग जोडिएका छोराछोरीको तस्विर साझा गर्दै प्रश्न गर्न थाले ‘हामीले तिरेको करबाट तिमीहरु मोज गर्ने?’

सामाजिक संजालमाथि प्रतिबन्ध लाग्दा यस्तो प्रश्न गर्न बाध्य भएका थिए उनीहरु। किनभने सामाजिक संजाल बन्द हुँदा उनीहरुले बोल्न मात्र होइन आफ्नो भविष्यका थप आयामहरु पनि रोकिएको महसुस गरेका थिए।

पढ्नुस : केपी ओली र शेरबहादुर देउवा : अब माफीमात्र स्वीकार्य छैन, भोग्नुपर्छ दमनको कारबाही पनि

‘नेपो किड्स’ लाई सामाजिक संजाल बन्दले नछुने र उनीहरु आफूहरुले तिरिरहेको करबाट मौजमस्तीमा रम्न उनीहरुको बुझाइ थियो। त्यसैले उनीहरुले सामाजिक संजाल बन्द हुँदा त्यसलाई ‘सेकेन्डरी’ मुद्दा बनाए र पहिलो मुद्दा बन्यो भ्रष्टाचार।

सोमबार बिहान जब जेनजी पुस्ता माइतीघर मण्डल क्षेत्रमा भेला हुन थाले धेरैको उनीहरुले बोकेको कागजमा भ्रष्टाचारविरुद्धका नारा लेखिएको थियो। भ्रष्टाचारलाई नाइँ भनौं, जेनजी पुस्ता चिच्याउँछन्, भ्रष्टहरुलाई गिज्याउँछन्, नेपाललाई भ्रष्टाचार मुक्त देश बनाउँ भनेर लेखिएका कागज बोकेका थिए कलेज पोसाकमै माइतीघर पुगेका युवाहरुले।

आफ्नै स्ल्याङ भाषामा उनीहरुले अंग्रेजीमा लेखेका थिए : Corruption is sus, we are not vibin.

यसरी माइतीघरमा युवाहरु उभिरहँदा त्यहाँ वरिपरि राजनीतिक दलका समर्थक जेनजी पुस्ताका अनुहारहरु पनि थिए।

यसरी उनीहरु सामाजिक संजाल प्रतिबन्धको आडमा भ्रष्टाचारविरुद्ध अभियानमा सरिक थिए। त्यहाँ उनीहरुलाई उक्साउनेहरुको कमी थिएन, तर पनि संयमित भएर नै उनीहरु आफ्ना माग भनिरहेका थिए। उनीहरुलाई लाग्थ्यो : सरकारले जेनजी पुस्ताको कुरा सुन्छ।

तर, प्रदर्शन केही घण्टामा नै उग्र बन्यो। प्रहरीले अन्धाधुन्ध गोली चलाउँदा करिब १९ जनाको मृत्यु भयो। देश नै अशान्त बन्यो।

अशान्तीबीच धेरैलाई लाग्यो सरकारले अब सामाजिक संजाल प्रतिबन्ध खोल्छ र बिग्रिँदो अवस्थालाई सम्हाल्ने पहल गर्छ।

तर, जब राति मन्त्रिषरिषद् बैठक बस्यो तब प्रधानमन्त्री ओलीले भनिदिए : सामाजिक संजाल तत्काल खुल्दैन।

पढ्नुस : ओलीले मानेनन् देउवाको पनि आग्रह, मन्त्रिपरिषदमा भने : सामाजिक संजाल खुल्दैन

जेनजी पुस्ताले के सोचिरहेको ओलीले अझै पनि मेसो पाउन सकेका छैनन्। जेनजी पुस्ताले सामाजिक संजाल मात्र खुलेको हेर्न चाहेको होइन। उनीहरु अब फेरि यस्तै परिस्थिति दोहोरियोस् र उनीहरुको भविष्य अन्धकार नबनोस् भनेर अभियानमा जुटेका हुन्।

आफ्ना सहोदर साथी प्रहरीको दमनमा मारिँदा पनि सामाजिक संजाल खोलेर वातावरणलाई केही सहज बनाउन सकिएला भन्ने आशामा ओलीले ‘ब्रेक’ लगाइदिए। र, त्यसमा टुलुटुलु हेरेर बसिरहेको छ सहयात्री दल नेपाली कांग्रेस। जसमा सबैभन्दा बढी पछुतो मानिरहेको छ उसैको जेनजी पुस्ता समर्थक।

बानेश्वरमा कलिला शरीर गोलीले ढल्दा त्यही सहयात्री दललाई सायद चियो पस्यो र महामन्त्री र नेताहरुले तत्काल सरकारबाट समर्थन फिर्ता लिनुपर्छ भनेर माग गरे। यहाँ कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि जेनजी पुस्तालाई बुझेनन्।

उनले प्रधानमन्त्री ओलीलाई फोन गरेर सामाजिक संजाल खोल्न भने। भ्रष्टाचारविरुद्ध अभियानको कुरै भएन। सायद उनलाई लागेको होला सामाजिक संजाल खोल्दा अवस्था केही सामान्य बन्ला।

तर, ओली न हुन्। बैठकमै देउवाकी श्रीमतीसमेत रहेका परराष्ट्र मन्त्री आरजु राणा देउवा र अन्य कांग्रेस मन्त्रीकै अगाडी भनिदिए : सभापतिज्यूले फोन गर्नु भएको हो। सामाजिक संजाल खोलिदिनुस् भन्नु भयो। तर उनीहरु दर्ता गर्दैनौं भनिरहेका छन्। सामाजिक संजाल खुल्दैनन्। नियमन हुने भएपछि मात्रै खुल्छ।

बैठकमा ओलीको उत्तर थियो : दर्ता गर्दैनौं भनिरहेका छन्। सामाजिक संजाल खुल्दैनन्। नियमन हुने भएपछि मात्रै खुल्छ।

र, आज भएको घटनाको छानबिन गर्न समिति बनाउने भन्दै सकियो बैठक। कांग्रेस मन्त्रीहरु केही प्रतिवाद नगरी बालुवाटरबाट फर्किए।

दिउँसोभर उफ्रिरहेका कांग्रेस नेता हिस्स बने। जसकारण कांग्रेसका युवा नेता र उनका परिवार लक्षित टिप्पणी भइरहेको छ : के यही हो विपीको कांग्रेस?

कांग्रेसमाथि ‘जनताको हत्या’को अभियोग लाग्दा धेरैलाई लागेको अर्को विषय हो कांग्रेस आजै सरकारबाट बाहिरिन्छ। कांग्रेसका दुई महामन्त्री र पार्टी नेता कार्यकतालाई पनि त्यसै लागेको थियो। उनीहरुले सामाजिक संजालमा त्यसको वकालत पनि गरे।

कांग्रेस सांसद राजेन्द्र बजगाइँको प्रश्न : यसरी मान्छे मार्ने सरकारमा हामी बसिरहने?

तर, देउवाले सरकारबाट फिर्ता हुने तत्काल कुनै निर्णय लिएनन्। न त मन्त्रिपरिषद् मै यसबारेमा कांग्रेसका नेताहरुले केही आवाज उठाए।

यसबाट अहिले कांग्रेस ओलीलाई ट्रयाकमा राख्न भन्दा पनि थप भड्किन दिन छुट दिइरहेको देखिएको छ। आफ्नै गृहमन्त्रीलाई राजीनामा गराएर नैतिकताको सान्तवना देखाएको कांग्रेसको धारणा अझै स्पष्ट हुन सकेको छैन। यसले कांग्रेस भित्रकै जेनजी आजित भएका छन्।

नेपाली कांग्रेसको शुभेच्छुक संस्था युथ कांग्रेसका धेरै सदस्य अहिलेसम्म पनि देउवाले समर्थन फिर्ता नलिएकोमा असन्तुष्ट छन्। युथ कांग्रेसले कांग्रेसले नेतृत्व परिवर्तनको माग पनि गरेको छ।जेनजी पुस्ता कै उमेर समूह समेत संलग्न युथ कांग्रेसका सदस्यहरु माथि नै अहिले प्रश्न उठिरहेको छ : ओलीले जे भन्यो त्यही सुनेर बालुवाटारबाट फर्किने पार्टी हो कांग्रेस?

उनीहरुसँग प्रश्नको उत्तर छैन। तर, जब उनीहरु यसको उत्तर दिन तयार हुनेछन्, धेरै ढिला भइसकेको हुनेछ!