BIZMANDU
www.bizmandu.com

जनताको पैसामा दीपक भट्टको ‘फेमिली बिजनेस’: शुद्धीकरण गर्न खोलिएको सासुको कम्पनी नै अवैध स्रोतबाट

२०८२ भदौ १२

जनताको पैसामा दीपक भट्टको ‘फेमिली बिजनेस’: शुद्धीकरण गर्न खोलिएको सासुको कम्पनी नै अवैध स्रोतबाट
जनताको पैसामा दीपक भट्टको ‘फेमिली बिजनेस’: शुद्धीकरण गर्न खोलिएको सासुको कम्पनी नै अवैध स्रोतबाट


काठमाडौं। हिमालयन रिइन्स्योरेन्सबाट गैरकानुनी रुपमा ५२ करोड रुपैयाँ भुक्तानी लिनका लागि दीपक भट्टले सासुआमा अन्जना नेपालका नाममा खडा गरेको एलियन्ट ब्रोकरेज कम्पनीको स्थापना पनि गैरकानुनी रुपमै भएको पाइएको छ।

Tata
GBIME
Nepal Life

भट्टले सासु अन्जना नेपाल सेयरधनी रहने गरी एलियन्ट इन्स्योरेन्स ब्रोकरेज कम्पनी खडा गर्दा कम्पनी स्थापना, सञ्चालन र नियमन गर्नका लागि बनाइएको कम्पनी ऐनविरुद्ध हुने गरी काम गरेका थिए। कम्पनी ऐनविरुद्धको त्यो कामको निपटारा गर्दा कम्पनी रजिष्ट्रार नेपाल सरकारका सहसचिव महेश बराल थिए।

एलियन्ट इन्स्योरेन्स ब्रोकर कम्पनी २०७८ फागुन १६ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको थियो। त्यसको अर्को महिना चैत २४ गते सहसचिव बरालले कम्पनी रजिष्ट्रारको कार्यालयमा रजिष्ट्रारको भूमिकामा काम सुरु गरेका थिए।

उनी कम्पनी रजिष्ट्रार बनेर आएपछि एलियन्टको गैरकानूनी र सम्पत्ति शुद्धीकरणका लागि जारी गरिएको गोएमएलविरुद्ध गएर सेयर लगत बनेको थियो। त्यही कम्पनीबाट भट्टले पछिल्ला दुई आर्थिक वर्ष २०७९/८० र २०८०/८१ मा सासुआमाको कम्पनी, श्रीमतीको बैंक खाता हुँदै लेयरिङ र प्लेसमेन्टमार्फत हिमालयन रिइन्स्योरेन्सबाट ५२ करोड रुपैयाँ लगेका थिए। र त्यसको अधिकांश हिस्सा भट्टको सिद्धार्थ बैंकमा रहेको व्याक्तिगत खातामा पुगेको थियो।

+++

नेपालमा सुरुमा प्रबन्धपत्र, नियमावली बनाएपछि र त्यसलाई कम्पनी रजिष्ट्रारको कार्यालयमा बुझाएपछि कम्पनी दर्ता हुन्छ। त्यो दर्ता लिएर गएपछि आन्तरिक राजस्व कार्यालयले स्थायी लेखा नम्बर (प्यान) जारी गर्छ।

प्यान नम्बरका आधारमा त्यो कम्पनीका नाममा वित्तीय कारोबार गर्न बाटो खुल्छ, यही नम्बर लिएपछि कम्पनीको नाममा बैंक खाता पनि खुल्छ। बैंक खाता खुलेपछि बल्ल सेयर लगतको काम सुरु हुन्छ।

सेयर लगत बनाउनका लागि संस्थापकले कबुल गरेको रकम आफ्नै खाताबाट सम्बन्धित कम्पनीको बैंक खातामा ट्रान्सफर गर्नुपर्छ। सँगसँगै त्यो पैसाको स्रोत के हो भनेर समेत कम्पनी रजिष्ट्रारको कार्यालयलाई सेयरधनीले सपथपत्र दिनुपर्छ।

कम्पनी निर्देशिका २०७२ को दफा ३९ को उपदफा ३ बमोजिम कुनै प्राइभेट कम्पनीको सेयरधनीले आफूले लिन कबुल गरेको सेयर बापतको रकम दफा ३८ बमोजिम चुक्ता गरेको प्रमाण कार्यालय (कम्पनी रजिष्ट्रार)मा पेस गर्नुपर्ने व्यवस्था गरेको छ।

दफा ३८ को उपदफा २ ‘ख’मा संस्थापकले लिन कबुल गरेको सेयरको रकम बैंक वा वित्तीय संस्थामा जम्मा गरेको भए सोको प्रमाण पेस गर्नुपर्ने व्यवस्था छ।

अर्थात

कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता नम्बर २८५३८३ रहेको एलियन्ट इन्स्योरेन्स ब्रोकर प्रालिका सम्बन्धमा यसको सेयरधनी प्रस्ताव गरिएकी मोरङ जिल्ला विराटनगर महानगरपालिका वडा नम्बर १७ रानीमा स्थायी ठेगाना भएकी अन्जना नेपालले कबुल गरेको रकम उनकै खाताबाट कम्पनीको खातामा जम्मा हुर्नुपर्छ।

तर यो देशको प्रशासन केही व्यक्तिका लागि भने कानुन, नियम, नियमावलीभन्दा माथिबाट पनि चल्छ। र त्यसमा महेश बराल जस्ता सहसचिवको साथ पाएपछि २५ व्यवसायिक घरानालाई साथ लिएर प्रिपेड समूह तयार गरेका दीपक भट्टका लागि नचल्ने कुरै रहेन।

एलियन्ट इन्स्योरेन्स ब्रोकरको सेयर लगत बन्दा कम्पनी ऐन, नियमावली र निर्देशिकाविरुद्ध  काम भयो। जस्तो २०७८ फागुन १६ गते दर्ता भएको एलियन्टले चैत ७ गते आन्तरिक राजस्व कार्यालयबाट प्यान नम्बर लिएको थियो।

त्यही प्यानका आधारमा एलियन्ट इन्स्योरेन्स ब्रोकरको चैत ११ गते नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा ००१०१०१०३४३०७७ नम्बरको खाता खुलेको थियो। खाता खुलेपछि त्यसलाई सञ्चालनमा ल्याउनका लागि त्यही दिन श्रीधर खनालले कम्पनीको खातामा २१ हजार रुपैयाँ जम्मा गरेका थिए।

त्यसको पर्सिपल्ट चैत १३ गते भने कम्पनीमा मृदुला सरियाको नामबाट दुई करोड ४० लाख रुपैयाँ जम्मा भयो। मृदुला राजनीतिक पहुँचका आधारमा इन्डोनेशियाबाट सुपारी नेपाल ल्याउने र त्यसलाई गैरकानुनी ढंगले भारत पुर्‍याउने समूहलाई नेतृत्व गरिरहेका गोविन्द सरियाकी छोरी हुन्।

उनै मृदुलाका नाममा राजनीतिक पहुँच र नीतिगत भ्रष्टाचारमार्फत सञ्चालनमा ल्याइएका माइक्रो इन्स्योरेन्स कम्पनीहरुमा समेत करोडौं रुपैयाँको सेयर लगानी छ।

हिमालखबरको एक आलेखअनुसार भट्टको लविङमा स्थापना भएको प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनीमा गोविन्द सरियाकी छोरी मृदुला सरियाका नाममा स्थापना भएको कम्पनी मेट्रो क्यापिटलसँग ११ करोड २५ लाख रुपैयाँको सेयर छ।

त्यसैगरी खुलेको अर्को माइक्रो इन्सुरेन्स कम्पनी क्रेस्टमा पनि त्यही मेट्रो क्यापिटलबाट आठ करोड ७२ लाख ५० हजार रुपैयाँको सेयर छ। सर्वासाधरणका लागि सेयर जारी गर्दा क्रेस्टले सार्वजनिक गरेको आह्वानपत्रअनुसर मेट्रो क्यापिटल मृदुलाको एकल स्वामित्व भएको कम्पनी हो। ललितपुरमा ग्रुमिङ टेल्स नामको साधरण व्यवसायिक संस्था सञ्चालन गरिरहेकी मृदुलाको पुँजी लगानीको स्रोतमाथि प्रश्न उठाउने प्रशस्त ठाउँ छ।

भट्टकै व्यवसायिक लविङमा खुलेको अर्को एक कम्पनी इन्फोमेरिक्स क्रेडिट रेटिङमा पनि मृदुलाको नाममा ९५ लाख रुपैयाँको सेयर लगानी छ। यो सबै सेयरको ‘प्रिमियम’ (घूस) वापत उनले अञ्जना नेपालको कम्पनीमा सेयर लगानी गरिदिएको स्रोतको दावी छ।

मृदुलाको पछिल्ला दिनमा जगदम्बा र शंकर समूह नाममा दुई व्यवसायिक संस्था चलाउने शंकरलाल अग्रवालसँग पारिवारिक सम्बन्ध पनि जोडिएको छ। भट्टको व्यवसायिक साझेदार सुलभ र साहिल अग्रवालका पिता शंकरलाल अग्रवालकी भान्जी हुन्, रेणु गुप्ता। रेणुका छोरा अखिलसँग मृदुलाको विवाह भएको छ।

रेणु गुप्ता आफैं पनि विवादस्पद छन्। उनी र उनको एकल स्वामित्वमा भएको कम्पनी सत्यसाई प्रालिमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेशमा ‘लेडिज’ साइकल खरिदमा अनियमितता गरेको भन्दै मुद्दा दायर गरेको छ।

मृदुलाबाट आएको पैसालाई वैध कारोबार देखाउनका लागि मृदुलाले सेयर बेचेको र अञ्जली नेपालले खरिद गरेको एउटा सेयर खरिदबिक्री सम्बन्धि सम्झौता समेत तयार पारिएको छ। त्यो सम्झौता २०८० चैत ३० गते तयार पारिएको थियो।

अवैध कारोबारलाई वैध देखाउनका लागि दीपक भट्टको चलाउने यो पुरानो ‘ट्रिक’ हो। जस्तो जगदम्बा स्टिलबाट दीपक भट्टको खातामा आएको ४५ करोड रुपैयाँलाई वैध देखाउन सानेपास्थित किरण भवन जगदम्बालाई बिक्री गरेको त्यो बिक्रीका लागि बैना लिएको कागजात बनाइएको थियो।

त्यसैगरी दोस्रो पटक जगदम्बा स्टिल र शंकरलाल अग्रवालबाट ल्याएको साढे २२ करोड रुपैयाँको अवैध कारोबारलाई कभर गर्न भट्टको एकल स्वामित्व भएको ग्रीन नेपाल डेभलपर्स भन्ने कम्पनीको सेयर कारोबार देखाइएको थियो।

खुद नोक्सानमा रहेको यो कम्पनीको प्रति सेयर नौ हजार रुपैयाँका दरले कारोवार देखाइएको थियो। तर दुवै कारोबार अहिलेसम्म एक्ज्क्युट भने भएका छैनन्।

मृदुलाको नामबाट एलियन्टमा पैसा आएको केही समयपछि चैत २१ गते मृदुलाले जस्तै गरी मनोजकुमार अग्रवालबाट अर्को दुई करोड ४० लाख रुपैयाँ एलियन्ट इन्स्योरेन्स ब्रोकरको खातामा पैसा आएको छ।

उनी पनि विवादस्पद व्यवसायी भएको र परिवारका नाममा विभिन्न कम्पनीमा प्राप्त सेयरवापत यो कारोबारमार्फत भट्टलाई प्रिमियम भुक्तानी गरेको स्रोतको दाबी छ। न्युरोडमा कपडा पसल सञ्चालन गरिरहेका अग्रवाल फक्स टुर्स एण्ड ट्राभल्सका प्रबन्ध निर्देशक हुन्।

हिमालयन रिइन्स्योरेन्स लिमिटेडको आह्‍वानपत्रअनुसार अग्रवालको यही फक्स टुर्स एण्ड ट्राभल्सले पनि हिमालय रिइन्स्योरेन्समा संस्थापक सेयर पाएको छ। यसरी मृदुला र मनोज अग्रवालको बैंक खाताबाट आएको ४ करोड ८० लाख रुपैयाँलाई अञ्जना नेपालको सेयर लगानीका रुपमा कम्पनी रजिष्ट्रारको कार्यालयमा देखाइएको छ।

महालक्ष्मी विकास बैंकमा खाता खोल्दा भर्नुपर्ने ‘नो योर कस्टमर’ (केवाईसी) फर्ममा अञ्जनाको पेसामा साधारण गृहिणी लेखिएको छ। बैंक खाता खोल्दा पेसामा साधरण गृहिणीको नाम लेखिएकी अन्जना नेपालको नामबाट झण्डै पाँच करोड रुपैयाँ लगानी गर्ने सम्भावना रहँदैन।

त्यही भएर एलियन्ट इन्स्योरेन्स ब्रोकरमा लगानी पनि अर्कै व्यक्तिबाट आएको भन्दै उनको सेयर लगानीदेखि एलियन्टसम्मको कारोबारलाई शंकास्पदमा राखेर नेपाल राष्ट्र बैंकमा सस्पिसिएस ट्रान्जेक्सन रेकर्ड (एसटीआर) भएको थियो।

सेयर लगानी गर्दा आफ्नो नामबाट सम्बन्धित कम्पनीको बैंक खातामा पैसा गएको स्रोत फाराम विवरण र बैंक स्टेटमेन्ट पेस गरेमात्रै सेयरधनी कायम गर्ने कम्पनी रजिष्ट्रारको नियमविपरीत २०८० साउन ११ गते अन्जना नेपालको नाममा एलियन्ट इन्स्योरेन्स ब्रोकरको सेयर लगत तयार भएको थियो।

अञ्जनाकी छोरी आयुष्मा नेपाल भट्ट दीपक भट्टकी श्रीमती हुन् भने उनका एक छोरा अमेरिकामा छन्,  अञ्जना पनि प्रायजसो अमेरिकामै छोरासँग बसोबास गर्ने गर्छिन्। त्यही भएर यो कम्पनी सञ्चालनमा प्रयोग भएका सेयर दर्ता किताब, प्रबन्ध पत्र, नियमावली र वित्तीय विवरणहरुमा अञ्जना नेपालका हस्ताक्षर पुरै फरक-फरक छन्।

एलियन्ट इन्स्योरेन्स ब्रोकरमा अर्को एक जना पर्सा वीरगंजकी नीता अग्रवालको पनि सेयर लगानी छ। पाँच करोड पुँजी भएको यो कम्पनीमा उनको नाममा भने जम्मा २० लाख रुपैयाँ छ भने अन्जना नेपालको नाममा चार करोड ८० लाख रुपैयाँ सेयर लगानी छ। निता अग्रवाल भट्टकै समूहको लविङ र जगदम्बा समूहको वित्तीय पोषणमा खुलेको रेटिङ कम्पनी केयरएजको लगानीकर्ता समेत हुन्।

सासुआमाका नाममा लेयरिङ

कुनै पनि संस्थाबाट गैरकानुनी लाभ लिने र  त्यो लाभलाई विभिन्न कम्पनी तथा बैंक खाता (कर्पोरेट भेहिकल)मार्फत अन्तिम हिताधिकारीमा ‘ट्रान्सफर गर्ने विषयलाई सम्पत्ति शुद्धीकरणको भाषामा लेयरिङ वा प्लेसमेन्ट भनिन्छ।