BIZMANDU
www.bizmandu.com

‘लिगेसी’लाई काँध दिन जुटलाई व्यवसायिक बनाउँदै कोमल गोल्छा, स्वदेशमा सम्भावना खोज्दै विदेश पुर्‍याउने चाह

२०८२ भदौ ५

‘लिगेसी’लाई काँध दिन जुटलाई व्यवसायिक बनाउँदै कोमल गोल्छा, स्वदेशमा सम्भावना खोज्दै विदेश पुर्‍याउने चाह
‘लिगेसी’लाई काँध दिन जुटलाई व्यवसायिक बनाउँदै कोमल गोल्छा, स्वदेशमा सम्भावना खोज्दै विदेश पुर्‍याउने चाह

ललितपुर। रामलाल गोल्छाले पाँच हजार रुपैयाँबाट नेपालमा व्यवसाय सुरु गरेका थिए। सुरुवातमा किसानबाट जुट किनेर भारत निकासी गरे।

Tata
GBIME
Nepal Life

जुटको व्यापार बुझेका रामलालले त्यसको प्रशोधन उद्योग स्थापना गर्ने योजना बनाए। रामलालले भारतीय उद्योगपति राधाकिशन चमडियासँग मिलेर विराटनगर जुट मिल्स स्थापना गरे। नेपालमा औद्योगिकरणको बीजारोपण गरेका रामलालको चौथो पुस्ता त्यही जुटको आधुनिकीकरणमा जुटेको छ।

परम्परागत खेतीबाट उत्पादन हुने जुटलाई आधुनिकतासँग जोड्ने काममा पछिल्लो समय चौथो पुस्ताकी कोमल गोल्छा जोडिएकी हुन्। कोमल राजकुमार गोल्छाको छोरी हुन्। रामलालले सुरु गरेको लिगेसीलाई धान्दै कोमलले जुटमा नयाँ सम्भावना खोजेकी छन्।

२७ वर्षीया कोमल व्यवसायमा जोडिएको ७ वर्ष भइसकेको छ। पहिला अरु व्यवसाय हेरिरहेकी कोमलका लागि केही वर्षदेखि जुटले असाध्यै धेरै ध्यान तान्यो। गोल्छा समूहको साम्राज्य खडा गर्न जुटले दिएको योगदानलाई नजिकबाट अध्ययन गरिन्। रामलाल र जुटको लिगेसीलाई अगाडि बढाउन केही इन्नोभेसन गर्नुपर्ने निष्कर्षमा पुगिन्।

झण्डै एक वर्षको गहन अध्ययन र परिश्रमपछि कोमलले जुटको उत्पादनको बजारीकरणमा जाने निधो गरिन्। उनको त्यही निर्णयले बुधबार सार्थकता पाएको छ। उनको नेतृत्वमा उत्पादन भएका जुटका वस्तु बिक्री गर्न ‘शो रुम’ खुलेको छ। ‘गोल्डेन फाइबर’मा थप चमकको खोजीमा चालिएको कोमलको कदमले कस्तो परिणाम दिन्छ होला?

भारतको दिल्लीबाट बिजनेस स्टडिजमा उच्च शिक्षा हासिल गरेकी कोमललाई राजकुमारकी अर्की छोरी अश्विनीले पनि साथ दिएकी छन्।   

‘लिगेसी क्यारी गर्नुपर्ने भएकाले म यसमा जोडिएकी हुँ,’ बिजमाण्डूसँग कोमलले नेपालकै पुरानो उद्योगसँग आफू जोडिनुको कारण बताइन्, ‘जुट अहिलेको विश्वमा सबैभन्दा दिगो प्रडक्ट हो। नेपालका हरेक घरमा यसलाई चिनाउन चाहन्छु।’

कोमल गोल्छा

चौथो पुस्ताले जुटलाई ‘मोर्डनाइज’ गर्न थालेकोमा राजकुमार उत्साहित छन्। विराटनगरलाई व्यावसायिक केन्द्रका रुपमा सम्हाल्दै आएका उनी ‘कोशा’को शो रुममा भेटिए। ‘यसको नेतृत्व छोरी कोमलले लिँदैछिन्,’ उनले भने।

कोशाको अर्थ के हो त? ‘सनपाटको भित्री भागलाई कोशा भनिन्छ। त्यसबाहेक छोरी र मेरी श्रीमतीको नामको मिलनबाट यो ब्रान्डको नाम तयार भएको हो,’ राजकुमार गोल्छाले बताए।

सम्बन्धित स्टोरी : बलियासँग निर्धाको प्रतिस्पर्धाकै बीचको उद्योग जसले धानिरहेछ ७ अर्बको निर्यात

कुपण्डोलको ओरालोमा ‘कोशा’ ब्रान्डमा खुलेको आउटलेटमा जुटका धेरैखाले उत्पादन उपलब्ध छन्। यहाँ प्रदर्शनीमा रहेका उत्पादन लग्जरी रिसोर्ट वा होटलको एम्बियन्सलाई फरक देखाउन काफी लाग्छन्। आकर्षक बत्ती होस् या कार्पेट, अथवा डोरम्याट नै किन नहोस्, अर्ग्यानिक प्रडक्ट चाहनेका लागि ‘कोशा’ राम्रो विकल्प बन्ने देखिन्छ।

राजकुमारले छोरीको डिजाइनमा तयार भएका प्रोडक्टहरू एकएकगरी देखाए। जुटबाट बनेका सपिङ ब्याग हुन् या कार्पेट – बजारमा देखिनेभन्दा निक्कै फरक लाग्छ। तिनमा प्रयोग भएको मटेरियलको गुणस्तरबारे पनि राजकुमारले व्याख्या गरे। उनका अनुसार शोरुममा घरायसी प्रयोगका वस्तुमात्र छैनन्, निर्माण क्षेत्रमा सुरक्षाका लागि राखिने जुटकै उत्पादन र पहिरो रोकथामका लागि प्रयोग हुने वस्तु समेत छन्।

यहाँ रहेका सबै वस्तु सुनसरीको सोनापुरमा रहेको अरिहन्त मल्टिफाइबर्समा उत्पादन हुन्छ। किसानले उत्पादन गरेको सनपाट प्रशोधन गरेर निकालिने फाइबर नै जुट हो, जसबाट विभिन्नखाले वस्तु तयार हुने गर्छ। त्यस हिसाबले चौथो पुस्ताको सक्रियताले किसानदेखि उपभोक्तासम्मलाई जोड्ने देखिन्छ। जुट उत्पादन र प्रशोधनमा सबै भन्दा धेरै जनशक्ति लाग्छ। अधिकांश काम हातैले गर्नुपर्ने हुन्छ। यस्तोमा के कोशाले बजारको माग धान्न सक्छ?

कोमल निश्चिन्त सुनिन्छिन् – ‘फाइभ स्टार होटलले जति परिमाणमा माग गर्न सक्छ हामी उहाँहरूलाई उपलब्ध गराउन सक्छौं।’

कुपण्डोलमा खोलिएको जुटको शो रुम कोशा

धेरै नेपालीले प्रयोग गरेको प्रडक्ट हो- जुटको बोरा र सुतलीको धागो। गोल्छा परिवारको अरिहन्त मल्टीफाइबर्स र रघुपति जुट मिलले फाइनल प्रडक्टका रुपमा यी बाहेक अन्य उत्पादन पनि गर्छ। तर, अधिकांश उत्पादन विदेश निर्यात हुने भएकाले घरेलु बजारसँग जुटका कतिपय उत्पादन जोडिएकै छैनन्।

तर, यसलाई आधुनिक बनाउँदा लग्जरी प्रडक्टका रुपमा पनि जुटको प्रयोग हुनसक्ने देखिएको छ। त्यसैले कोमल भन्छिन्, ‘हामीले उत्पादन थाल्नुभन्दा पहिले तालिम दिएर बलियो जनशक्ति तयार पारिसकेका छौं। माग अनुसार उपलब्ध गराउन समस्या छैन।’

फाइभ स्टार होटलका लागि कोशाले के के दिन सक्छ त?

कोमलले जवाफ दिइन्, ‘कार्पेटदेखि टेबल म्याट, लन्डी बक्स देखि स्लिपरसम्म, ल्याम्प सेपदेखि फर्निचर पनि जुटकै तयार गर्न सक्छौं।’ अर्ग्यानिक चाहनेका लागि यसखाले उत्पादनले मौलिकता र आफ्नोपन पनि दिने उनको भनाइ छ।

कुपण्डोलको शो रुममा भित्तामा झुन्ड्याइएका कार्पेट र डायनिङ टेबलमाथि राखिएको म्याट आकर्षक देखिन्छ। यी उत्पादन उच्च घरानाका लागि लक्षित छन्। ह्यान्ड मेड र प्राकृतिक उत्पादनलाई प्राथमिकतामा राख्‍नेको रुचीमा यी उत्पादन पर्छ नै। त्यसबाहेक सपिङ ब्याग र त्यसमा प्रयोग भएको कलर सेपरेसनले सबैको ध्यान खिच्छ। डोर म्याट लगायतका उत्पादन पनि अहिले बजारमा उपलब्ध भएभन्दा फरक लाग्छ।   

‘अहिले मानिसहरू धेरै नै शिक्षित छन् र प्रकृतिको महत्त्व बुझेका छन्,’ जुटका यी उत्पादनबारे कोमलले भनिन्, ‘वातावरण जोगाउनका लागि उनीहरू जागरुक छन्। उनीहरू के किनिरहेको छु र किन किनिरहेको छु भन्नेमा सचेत छन्। त्यसैले यसलाई बजारमा ल्याउँदा धेरै चुनौती हुन्छ भन्ने लाग्दैन।’

डायनिङ टेबलमाथि राखिएको म्याटबारे हाम्रो शंका थियो – कति समय टिक्ला यो? त्यसैले महँगो हुने सम्भावना ज्युदै छ। हाम्रो शंकामाथि कोमलको जवाफ थियो – ‘जुटका उत्पादन कम खर्चालु छ। यी उत्पादन भएका बस्तुमा साह्रै पातलो ल्यामिनेसन गरिएको छ। टेबल म्याटमा पानी पोखिँदा पनि केही फरक पर्दैन। सपिङ ब्यागमा पनि भित्र ज्यादै पातलो प्लास्टिक लाइनिङ छ जसले यसलाई दिगो बनाउँछ। लामो समय टिकाउँछ।’

पढ्नुस : ‘गोल्डेन फाइबर’मा सुनौलो चमकको खोजी, जुटको विरासत कसरी फिर्ता ल्याउन सकिन्छ? 

कोमलको दाबीलाई मान्ने हो भने कुनै पनि प्लास्टिक ब्यागभन्दा यो धेरै टिकाउ हुन्छ। जुटका उत्पादनमा किसानको, यसको प्रशोधन र बजारमा उतारिएको प्रडक्टमा जनशक्तिको सबैभन्दा धेरै मेहनत पर्छ। त्यसले यसको मूल्य बजारमा सहजै भेटिने प्लास्टिकमा आधारित सामग्रीभन्दा माथि पर्छ। त्यस्तोमा चौथो पुस्ताले थालेको कदममा चुनौती पनि छ।

‘हामी धेरै नयाँ छौं यसमा। लन्च गरेपछि यसबारे बुझाउनुपर्छ। हाम्रो कार्पेटको डिजाइनिङ निक्कै राम्रो छ। यसलाई राम्रोसँग बजारिकरण गर्न सक्यौं भने चुनौती होला भन्ने लाग्दैन,’ उनी निर्धक्क सुनिइन्।

शोरुम उद्घाटनमा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन। साथमा राजकुमार गोल्छा र कोमल गोल्छा

नेपालमात्र होइन उनले विश्व बजारतिर पनि यसलाई लैजानसक्ने आधार पेस गरिन्।

‘म युरोप र अमेरिकी बजारमा यो बेच्न चाहन्छु,’ उनले भनिन्, ‘अहिले ट्यारिफका कारण अमेरिका पठाउँदा यसले बजार पाउँछ। किनकि यसखाले सामग्रीको माग राम्रो छ।’ उनका अनुसार मध्यमदेखि उच्च वर्गसम्मको पहुँचमा छ कोशाका उत्पादन।

अरिहन्त र रघुपति जुट मिल्सका संचालक राजकुमार गोल्छा पनि छोरीको सोच र रणनीतिप्रति सन्तुष्ट सुनिन्छन्। आफूपछिको पुस्ता पनि जुटसँग जोडिएकोमात्र होइन त्यसलाई निर्यात केन्द्रितबाट नेपालीको घरघरमा पुर्‍याउने लक्ष्यले उनलाई लोभ्याएको छ।