काठमाडौं। ऊर्जामन्त्री दीपक खड्का नेपाल विद्युत प्राधिकरणका कर्मचारीहरुको तारोमा परेका छन्।
प्राधिकरणको ४०औं वार्षिकोत्सवका अवसरमा कर्मचारीहरुले मन्त्री खड्कामाथि डेडिकेटेड र ट्रंक लाइनको सवा ८ अर्ब रुपैयाँ बक्यौता ढिसमिस गर्नका लागि चलखेल गरेको आरोप लगाएका छन्।
सत्तारुढ नेकपा एमाले समर्थित कर्मचारीले ऊर्जामन्त्री खड्कालाई लक्षित गरेर बक्यौता नउठाउनका लागि शक्तिकेन्द्रमार्फत चलखेल भइरहेको बताए।
एमाले निकट कर्मचारी युनियनका अध्यक्ष रामकुमार थेबेले बक्यौता रकम नउठाउनका लागि विभिन्न प्रयास भइरहेको भन्दै यसप्रति भर्त्सना व्यक्त गरे।

‘बक्यौता रकम जसरी पनि उठाउनुपर्छ। तर, उठाउन नदिनका लागि अहिले विभिन्न किसिमका मोलाहिजा भइसरहेको छ। विभिन्न एक्सर्साइज भइरहेका छन्। आउट डोर वा विभिन्न शक्ति केन्द्रहरू मार्फत। यसप्रति घोर भर्त्सना गर्न चाहन्छु,’ उनले भने।
ऊर्जामन्त्री खड्काले आफूले प्राधिकरणको सञ्चालक नियुक्त गरेका श्याक कुमार यादवलाई प्रशासनकि पुनरवलोकन आयोगको अध्यक्ष बनाएर डेडिकेटेड र ट्रंक लाइनको सवा ८ अर्ब रुपैयाँ बक्यौता रकम छुट दिन खोजेको प्लटबारे थाहा पाएपछि प्राधिकरणका कर्मचारीले समितिमा बस्न मानिरहेका छैनन्।
बक्यौता रकम छुट दिन खोजिएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्राधिकरण सञ्चालक समितिको निर्णयको माइन्युट मगाएर छानबिन गरिरहेको छ। अख्तियारका प्रमुख आयुक्त प्रेम कुमार राईले प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई बोलाएर कुनै पनि बहानामा छुट नदिन र बक्यौता उठाउन निर्देशन दिएका छन्।
प्राधिकरणको राष्ट्रिय कर्मचारी युनियनका अध्यक्ष रामेश्वरप्रसाद पौडेलले बक्यौता रकम नउठ्नुमा मन्त्री खड्कामाथि औंला उठाए।
‘मन्त्रीज्यूले ३९औं वार्षिकोत्सवमा मान्छेको घाँटी काट्ने र लाइन काट्ने एउटै हो भन्नुभयो। जसले गर्दा अहिलेसम्म बक्यौता रकम उठ्न सकेको छैन,’ उनले भने।

उनले मन्त्रीले निर्देशन दिए डेडिकेटेड र ट्रंक लाइनको बक्यौता रकम तत्काल उठ्ने बताए।
‘डेडिकेटड र ट्रंक लाइनको बक्यौता उठाउन निर्देशन दिनुस्। रकम उठाउनुस् म तपाइँको सुरक्षाको ग्यारेन्टी लिन्छु भन्नुस्। त्यो बक्यौता अहिले नै उठ्छ। यसका लागि स्पष्ट निर्देसन चाहिएको छ,’ उनले भने।