BIZMANDU
www.bizmandu.com

दीपक भट्टकी सासुलाई अवैध ‘बिजनेस’: अख्तियारको निर्देशनपछि प्राधिकरणले थाल्यो छानबिन

२०८२ साउन २०

दीपक भट्टकी सासुलाई अवैध ‘बिजनेस’: अख्तियारको निर्देशनपछि प्राधिकरणले थाल्यो छानबिन
दीपक भट्टकी सासुलाई अवैध ‘बिजनेस’: अख्तियारको निर्देशनपछि प्राधिकरणले थाल्यो छानबिन

काठमाडौं। सरकारी र सर्वसाधारणको लगानी रहेको हिमालयन रिइन्स्योरेन्समा दीपक भट्टले धोकाधाडी गरेको सार्वजनिक भएपछि नियामक नेपाल बीमा प्राधिकरणले छानबिन सुरु गरेको छ।

Tata
GBIME
Nepal Life

आफ्नो लगानी रहेको हिमालयन रिइन्स्योरेन्सबाट सासुआमा अञ्जना नेपाललाई ‘बिजिनेस’ दिएर त्यो पैसा पत्नी आयुष्मा नेपाल हुँदै दीपक भट्टले सिद्धार्थ बैंकमा रहेको खातामा ल्याएको विषयमा प्राधिकरणले समिति गठन गरेर छानबिन थालेको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी बैंकहरुको स्वामित्वसमेत रहेको हिमालयन रिबाट गैरकानुनी रुपमा ‘बिजनेस’ दिएर हानि नोक्सानी पुर्‍याएको भन्दै अनुसन्धानका लागि निर्देशन दिएपछि छानबिन समिति बनाएको प्राधिकरण स्रोतले बतायो।

सरकारी ठेक्कापट्टा, लाइसेन्स, कर्मचारी सरुवा, बढुवा तथा नियुक्तिमार्फत लाभ लिनका लागि २५ व्यावसायिक घरानालाई मिलाएर ‘प्रिपेड’ समूह तयार पारेका विवादास्पद व्यवसायी भट्टले हिमालयन रिइन्स्योरेन्सबाट दुई आर्थिक वर्षमा ५२ करोड रुपैयाँ ‘चोरी’ गरेका थिए। 

अख्तियारको निर्देशनपछि प्राधिकरणका अध्यक्ष सेवन्तक पोखरेलले कार्यकारी निर्देशक सुशीलदेव सुवेदीलाई गम्भीररुपमा छानबिन अगाडि बढाउन भनेका छन्। प्राधिकरणको समितिले हिमालयन रिइन्स्योरेन्स कम्पनीका सञ्चालकका साथै प्रमुख कार्यकारी अधिकृत र व्यवस्थापनको माथिल्लो तहमा रहेकाहरुमाथि छानबिन गर्ने छ।

प्राधिकरणले छानबिनको प्रगति विवरण अख्तियारलाई नियमितरुपमा जानकारी गराउनु पर्नेछ। ‘अख्तियारले यति गम्भीर विषयमा किन मौन रहेको भनेर प्रश्नसहित छानबिन गर्न निर्देशन दिएको छ। साथै छानबिनको प्रगति विवरण पनि बुझाउनु भनेको छ,’ स्रोतले भन्यो।

पब्लिक लिमिटेड कम्पनीका रुपमा रहेको हिमालयन रिइन्स्योरेन्समा सरकार नियन्त्रित दुई बैंक- नेपाल र राष्ट्रिय वाणिज्य बैंकको १० प्रतिशत सेयर हिस्सा छ। 

हिमालयन रिइन्स्योरेन्स, त्यही कम्पनी हो जो लाइसेन्स लिँदा, संस्थापकलाई सेयर बाँडफाँट गर्दा र सर्वसाधारणलाई प्रिमियममा सेयर जारी गर्दा विवादित बनेको थियो।

एकल स्वामित्वको इन्फिनिटी होल्डिङमार्फत साढे चार प्रतिशत सेयरधनी रहेका दीपक भट्टको हिमालयन रिइन्स्योरेन्सको सञ्चालक समिति र व्यवस्थापनमा गहिरो पकड छ। 

पछिल्ला दुई आर्थिक वर्ष २०७९/८० र २०८०/८१ मा सासुआमा अञ्जनाको कम्पनी र श्रीमतीको खाता हुँदै भट्टले लेयरिङ र प्लेसमेन्टमार्फत हिमालयन रिइन्स्योरेन्सबाट ५२ करोड रुपैयाँ लगेका छन्। र, त्यसको अधिकांश हिस्सा भट्टको सिद्धार्थ बैंकमा रहेको व्यक्तिगत खातामा पुगेको छ।

यो पैसा भट्टलाई सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृतको मिलेमतोमा दिइएको आशंकामा अख्तियारले सम्पति शुद्धिकरणको दृष्टिकोणबाट पनि अनुसन्धान गर्न भनेको स्रोतले बतायो। 

हिमालयन रिइन्स्योरेन्सबाट गैरकानुनी लाभ लिनका लागि भट्टले सबैभन्दा पहिले २०७८ फागुन १६ गते कम्पनी रजिस्ट्रारको कार्यालयमा २८५३८३ दर्ता नम्बर भएको एलियन्ट इन्स्योरेन्स ब्रोकर प्रालि नामको कम्पनी खोले। हिमालयन रिइन्स्योरेन्सले पनि त्यही साल जेठ २३ गते स्थापना भएर असार ३१ गते कारोबार सुरु गर्‍यो।

यो कम्पनीकी सेयरधनी मोरङको विराटनगर महानगरपालिका-१६ रानी स्थायी ठेगाना भएकी दीपक भट्टकी सासु अन्जना नेपाल हुन्। महालक्ष्मी विकास बैंकमा खाता खोल्दा भर्नुपर्ने ‘नो योर कस्टमर’ (केवाइसी) फारममा अन्जनाको पेसामा ‘साधारण गृहिणी’ लेखिएको छ।

अन्जनाकी छोरी आयुष्मा नेपाल भट्ट दीपक भट्टकी पत्नी हुन्। एउटा छोरा अमेरिकामा रहेकाले अन्जना पनि प्रायजसो उतै बस्छिन्। त्यही भएर यो कम्पनी सञ्चालनमा प्रयोग भएका सेयर दर्ता किताब, प्रबन्ध पत्र, नियमावली र वित्तीय विवरणहरुमा अन्जना नेपालका हस्ताक्षर फरक-फरक छन्।

कम्पनी स्थापना भए पनि साधारण गृहिणीका नामबाट झण्डै पाँच करोड रुपैयाँ लगानी गर्ने सम्भावना थिएन। त्यही भएर एलियन्ट इन्स्योरेन्स ब्रोकरमा लगानी पनि अर्कै व्यक्तिबाट आएको छ। २०७८ फागुन १६ गते दर्ता भएको कम्पनीको नेपाल इन्भेष्टमेन्ट बैंकमा चैत ११ गते खाता खुलेको थियो।

यसरी कम्पनी खोलेपछि त्यो आर्थिक वर्ष एलिएन्ट इन्स्योरेन्स ब्रोकरले खातामा आएको पैसालाई फिक्स्ड डिपोजिट गरेर आर्थिक वर्ष २०७८/७९ मा ब्याज आम्दानी मात्रै गरेको छ। र, त्यो नगण्य मात्रै छ।

भट्टले एलियन्टमार्फत हिमालयन रिइन्स्योरेन्सबाट आफ्नो खातामा पैसा ल्याउने खेल भने अर्को आर्थिक वर्ष २०७९/८० बाट सुरु गरेका छन्। एलियन्टको आर्थिक वर्ष २०७९/८० को वित्तीय विवरणअनुसार कम्पनीले रिइन्स्योरेन्स ब्रोकरेजबापत २६ करोड २८ लाख ३७ हजार ८०२ रुपैयाँ आम्दानी गरेको देखिन्छ।

हिमालयन रिइन्स्योरेन्सको त्यो आर्थिक वर्षको वित्तीय विवरणको क्यास फ्लोमा ‘ब्रोकरेज’ भुक्तानी भनेर कम्पनीले २५ करोड ४ लाख ८७ हजार रुपैयाँको खर्च लेखेको छ।

एलियन्टको आम्दानीभन्दा हिमालयन रिइन्स्योरेन्सको खर्च कम देखिएपछि बिजमाण्डूले स्रोतमा कर कट्टी सम्बन्धी अख्तियारबाट प्राप्त एउटा विवरणलाई ‘भेरिफाइ’ गरेको थियो।

विवरणअनुसार त्यो आर्थिक वर्षमा हिमालयन रिइन्स्योरेन्स (प्यान नम्बर ६१००१३३५७)ले एलियन्टको नाममा ३ करोड ९३ लाख ५८ हजार ९३५ रुपैयाँ स्रोतमा कर कट्टी गरेर कर कार्यालयमा बुझाएको छ।

स्रोतमा १५ प्रतिशत करकट्टी हुने हुँदा त्यो आर्थिक वर्षमा हिमालयनले एलियन्टलाई खर्चमा देखाएभन्दा बढी कम्तीमा पनि २६ करोड २३ लाख ९२ हजार रुपैयाँ भुक्तानी गरेको छ। यो आम्दानी एलियन्टले देखाएकोभन्दा जम्मा चार लाख रुपैयाँ मात्रै कम हो।

एलियन्टको आम्दानीमा बैंकको ब्याज आम्दानीबाहेक हिमालयन रिइन्स्योरेन्सले दिएको पैसा मात्रै आय हो। यस्तै अवस्था आर्थिक वर्ष २०८०/८१ मा पनि छ। आर्थिक वर्ष २०८०/८१ मा एलियन्टले २५ करोड ५९ लाख ०२ हजार ६४२ रुपैयाँ रिइन्स्योरेन्स ब्रोकरेज आम्दानी देखाएको छ।

तर, यो वर्ष हिमालयन रिइन्स्योरेन्सले भने ब्रोकरेज खर्च भनेर ३३ करोड ६२ लाख रुपैयाँ खर्च देखाएको छ। स्रोतमा कर कट्टी विवरण हेर्दा हिमालयनले एलियन्टका नाममा तीन करोड ८१ लाख ७५ हजार ६४० रुपैयाँ आग्रिम कर कट्टी गरेको छ। यो एलियन्टले आम्दानी देखाएभन्दा १४ लाख रुपैयाँमात्रै कम हो।

अघिल्लो वर्ष अन्य व्यक्तिले हालिदिएको पैसाले खोलेको एलियन्टमा अर्को आर्थिक वर्षको मध्यबाट हिमालयन रिइन्स्योरेन्सले पैसा दिन थाल्यो। सुरुमा छुटपुट पैसा दिएको हिमालयन रिइन्स्योरेन्सले आर्थिक वर्षको अन्तिमतिर आएर अधिकांश पैसा दियो।

यसरी आएको २६ करोड रुपैयाँमध्ये सामान्य खर्च कटाएपछि एलियन्टले २०७९/८० मा २४ करोड ७६ लाख रुपैयाँ र आर्थिक वर्ष २०८०/८१ मा २१ करोड ८२ लाख रुपैयाँ मुनाफाका रुपमा देखायो। त्यो मुनाफाबाट एलियन्टले आर्थिक वर्ष २०७९/८० का लागि १८ करोड ५५ लाख ७९ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने निर्णय गर्‍यो।

त्यसबाट एलियन्टले २०८१ जेठ २८ गतेदेखि असार ११ गतेसम्म पाँच किस्तामा सेयरधनीका रुपमा रहेकी अन्जना नेपालको महालक्ष्मी विकास बैंकको खातामा १६ करोड ९२ लाख ४८ हजार ११६ रुपैयाँ भुक्तानी गर्‍यो।

जेठ २८ गते एलियन्टबाट अन्जनाको खातामा चार करोड ७५ लाख रुपैयाँ पैसा गयो। त्यसको भोलिपल्ट जेठ २९ गते महालक्ष्मी विकास बैंकको अन्जनाको खाताबाट त्यो पैसा आयुष्मा नेपालको सिद्धार्थ बैंकको खातामा पुग्यो। र, जेठ २९ गते नै त्यो ४ करोड ७५ लाख रुपैयाँ आयुष्माको खाताबाट दीपक भट्टको सिद्धार्थ बैंकको खातामा ‘ट्रान्सफर’ भयो।

त्यसैगरी असार २ गते दुई करोड रुपैयाँ एलियन्टबाट अन्जना नेपालको खातामा, त्यो पैसा असार ३ गते अन्जनाको खाताबाट छोरी आयुष्माको खातामा र असार ४ गते दीपक भट्टको खातामा पुग्यो।

असार ५ गते फेरि एलियन्टले अन्जना नेपाललाई चार करोड ५० लाख रुपैयाँ भुक्तानी दियो। त्यो पैसा असार ६ गते आयुष्माको खातामा र त्यही दिन दीपक भट्टको खातामा पुग्यो।

असार ९ गते एलियन्टले चार करोड ९० लाख रुपैयाँ अन्जनाको खातामा पठायो, त्यही दिन अन्जनाको खाताबाट आयुष्माको खाता र आयुष्माको खाताबाट दीपक भट्टको खातामा पैसा ‘ट्रान्सफर’ भयो।

असार ११ गते एलियन्टले फेरि ७७ लाख ४८ हजार ११६ रुपैयाँ अन्जना नेपाललाई दियो। त्यो पैसा असार १२ गते आयुष्माको खातामा पुग्यो भने असार १३ गते दीपक भट्टको खातामा पुग्यो।

त्यसबाहेक एलियन्टको खाताबाट जग्गाका लागि ‘एडभान्स’ भनेर २० करोड रुपैयाँ पनि पैसा ‘ट्रान्सफर’ भएको छ।