काठमाडौं। विवादास्पद सेयर कारोबारी दीपेन्द्र अग्रवालमाथि सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान हुने भएको छ। ठगी र आपराधिक विश्वासघातको कसुरमा प्रहरीले अनुसन्धान गरिरहँदा अग्रवालमाथि सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान अगाडि बढाइने भएको हो।
ठगी र आपराधिक विश्वासघातको कसुरमा दीपेन्द्र बुधबार हाजिरी जमानतमा रिहा भएका थिए। जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले दीपेन्द्रमाथि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान गर्न प्रहरी परिसर काठमाडौंलाई पत्राचार गरेको छ।
‘हामीले सम्पत्ति शुद्धीकरणमा अनुसन्धान गर्नू भनेर प्रहरीलाई पत्राचार गरेका छौं,’ जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख सहन्यायाधिवक्ता रामहरि शर्माले भने।
अग्रवालको सेयर कारोबार पनि अनुसन्धानको विषय बनेको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले दीपेन्द्रको सेयर कारोबारबारे अनुसन्धान गरिरहेको हो।
सेबोनले सरकारी वकिल कार्यालयलाई दीपेन्द्रको सेयर कारोबारको ‘हिस्ट्री’ केलाइरहेको जानकारी दिएको छ। तर यस विषयमा औपचारिक प्रतिक्रिया लिन खोज्दा सेबोनका अधिकारी सम्पर्कमा आउन चाहेनन्।
सेयरको मूल्य तलमाथि गर्न भूमिका निर्वाह गर्ने भनेर चिनिएका दीपेन्द्र ठगीको उजुरीका आधारमा साउन ५ गते पक्राउ परेका थिए। उनीविरुद्ध पूर्वसांसद दिनेश साहले उजुरी दिएका थिए।
दिनेशले आफ्नो ६ करोड ४५ लाख रुपैयाँ ठगी भएको उजुरी दिएपछि जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले दीपेन्द्रलाई पक्राउ गरी १० दिन हिरासतमा राखेर अनुसन्धान गरेको थियो।
प्रहरीले केही कागजपत्र समयमा नै जुटाउन नसक्दा अदालतले बुधबार हाजिरी जमानीमा रिहा गर्न आदेश दिएको थियो।
तर, प्रहरीको अनुसन्धान रोकिएको छैन। जिम्मा जमानीमा छोडेको खण्डमा ठगी केसमा प्रहरीले एक वर्षभित्र अनुसन्धान सकेर सरकारी वकिलमार्फत अदालतमा मुद्दा दायर गर्नुपर्ने हुन्छ।
‘अदालतले बाहिरै राखेर अनुसन्धान गर्नु भनेको हो। उनी रिहा भए पनि हाम्रो अनुसन्धान जारी नै छ,’ जिल्ला प्रहरी परिसरका एसपी कुलदीप चन्दले भने।
सरकारी वकिल कार्यालयले पटक पटकको उजुरीका आधारमा दीपेन्द्रको कारोबार शंकास्पद लागेका कारण सम्पत्ति शुद्धीकरणमा अनुसन्धान गर्न पत्र काटेको बताएको छ।
‘अग्रवालविरुद्धको उजुरीलाई हामीले चासोका साथ हेरिरहेका छौं। उनी हाजिरी जमानीमा रिहा भए पनि अनुसन्धानबाट बाहिर छैनन्। हामीले सम्पत्तिको स्रोतमा शंका लागेर प्रहरीलाई अनुसन्धान गर्न भनेका छौं,’ सरकारी वकिल कार्यालय काठमाडौंका एक कर्मचारीले भने।
दीपेन्द्रविरुद्ध ब्रोकर कम्पनी सिप्ला सेक्युरिटीजले पनि १६ करोड रुपैयाँ नदिएको भन्दै उजुरी दिएको छ।