BIZMANDU
www.bizmandu.com

चनौलीको सूचनाले झस्काएपछि हितेन्द्रदेव जिल्ला दौडाहामा, यसरी लगाउँदैछन् काम

२०८२ साउन १२

चनौलीको सूचनाले झस्काएपछि हितेन्द्रदेव जिल्ला दौडाहामा, यसरी लगाउँदैछन् काम
चनौलीको सूचनाले झस्काएपछि हितेन्द्रदेव जिल्ला दौडाहामा, यसरी लगाउँदैछन् काम

काठमाडौं। माग धान्न नसकेर बिजुलीको आपूर्ति बन्द गर्नुपर्ने अवस्था आएको भनेर चनौली वितरण केन्द्रले निकालेको सूचनाले देशभर नै लोडसेडिङ हुन लागेको सन्देश गएपछि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य जिल्ला दौडाहामा निस्किएका छन्।

Tata
GBIME
Nepal Life

चनौली वितरण केन्द्रको सूचनाले सिंहदरबारमा नै भूइँचालो गएपछि आइतबार हतारहतार वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठलाई चितवन पठाएका हितेन्द्रदेव सोमबार आफैं भरतपुर पुगेका छन्।

उनले चनौली वितरण केन्द्र पुगेर त्यहाँको समस्याबारे कर्मचारीसँग छलफल गरेका छन्। ‘एमडी सर आज बिहान चनौली जानु भएको छ। उहाँले त्यहाँको समस्याबारे कर्मचारीसँग छलफल गरी कामलाई छिटो छरितो गर्न निर्देशन दिनुभएको छ,’ शाक्यको सचिवालयका इन्जिनियर नारायण अर्यालले भने।

चनौली वितरण केन्द्रले शनिबार स्थान र समय तोकेर विद्युत आपूर्ति बन्द हुने तालिका निकालेपछि त्यसले प्राधिकरणको केन्द्रीय कार्यालयदेखि सिंहदरबारमा हल्लाखल्ला मच्चिएको थियो। प्राधिकरणले अब लोडसेडिङ गर्न लागेको भन्दै त्यो सूचना सामाजिक सञ्जालमा भाइरल भएको थियो।

प्रधानमन्त्री कार्यालयबाट नै हितेन्द्रदेवलाई फोन गरेर ‘प्राधिकरणले लोडसेडिङ गर्न सुरु गरेको हो?’ भनेर सोधिएको थियो। त्यसपछि हितेन्द्रदेवले चनौलीको समस्या समाधानका लागि उपकार्यकारी निर्देशक दीर्घायुकुमारलाई चितवन पठाएका थिए।

अत्यधिक गर्मी र रोपाइँको समयमा पानी नपरेका कारण अहिले चितवन मात्र होइन, खासगरी मधेशमा बिजुलीको माग ह्वात्तै बढेको छ। तर, कतिपय ठाउँमा प्राधिकरणको प्रणाली माग धान्ने खालको छैन।

भरतपुर १३२/३३ केभी सबस्टेसनबाट आउने ३३ केभी डग कन्डक्टर तारमा ३०० एम्पिएरभन्दा बढी विद्युत प्रवाह गर्न नमिल्ने अवस्थाको रहेकामा त्यहाँ विद्युतको माग ४५० एम्पिएरसम्म पुगेको छ। त्यही कारण माग धान्न नसकेर चनौलीले शनिबार सूचना निकालेको हो।

चनौली वितरण केन्द्रका प्रमुख राजकुमार श्रेष्ठले विद्युतको माग धान्ने व्यवस्था मिलाउन आफूहरुले काम गरिरहेको बताए।

‘चनौलीमा हामीले वैकल्पिक व्यवस्था गरेर बिजुली आपूर्ति गर्ने तयारी गरिरहेका छौं। त्यसका लागि हामीले हर्दी सबस्टेसनबाट करिब ३०० एम्पियर ल्याउँदै छौं। त्यसका लागि अहिले लाइन चार्ज भइरहेको छ,’ वितरण केन्द्र प्रमुख श्रेष्ठले भने, ‘आज बेलुकादेखि समस्या समाधान हुन्छ। चनौलीको लाइनको क्षमता अभिवृद्धि गर्ने काम पनि जारी छ। भोलिसम्म सक्ने गरी काम गरिरहेका छौं।’

माग धान्न नसकेर विद्युत आपूर्ति बन्द गर्ने भनी निकालेको सूचनाले नै समस्या चाँडो समाधान हुने अवस्था बनेको चनौली वितरण केन्द्रका कर्मचारीहरुले बताए।

‘हामीकहाँ विद्युतको माग बढेको असारको मध्यदेखि नै हो। तर, माग अनुसार बिजुली आपूर्ति गर्न प्रणालीले साथ दिने अवस्था थिएन। त्यसैले बाध्य भएर बिजुली आपूर्ति बन्द हुने सूचना निकाल्यौं। त्यो सूचनाले काम गर्‍‍यो,’ केन्द्रका एक कर्मचारीले भने, ‘समस्या समाधानका लागि प्राधिकरण मुख्यालयले नै चासो दियो। नत्र हामीसामु लोडसेडिङ गर्नुको विकल्प हुने नै थिएन।’

वितरण केन्द्रले निकालेको सूचनाबाट झस्किएर प्राधिकरणको नेतृत्व फिल्डमा पुगेको यो पहिलोपटक हो। हितेन्द्रदेव र दीर्घायुकुमारसँग प्राधिकरणका बागमती प्रदेश प्रमुख टेकनाथ तिवारी पनि चितवनमा छन्।

चनौली वितरण केन्द्रले जस्तो सूचना प्राधिकरणका अरु वितरण केन्द्रले निकालेका छैनन्। तर, विद्युत ट्रिपिङको समस्या धेरैतिर बढेको छ।

त्यही कारण कार्यकारी निर्देशक हितेन्द्रदेव आफैं जिल्ला दौडाहामा निस्किएका हुन्। उनी सोमबार नै चितवनबाट जनकपुर जाने तालिका छ।

‘अहिले तराई क्षैत्रमा झन् धेरै ट्रिपिङको समस्या छ। त्यहाँ खडेरीका कारण डिप ट्युबेल चलाउन बिजुलीको माग बढेको छ। चनौलीको जस्तो अवस्था अन्यत्र नआओस् भन्नका लागि कार्यकारी निर्देशकज्यू आफैं जिल्ला दौडाहामा निस्कनुभएको हो,’ प्राधिकरणका एक कर्मचारीले भने, ‘प्रणालीमा देखिएका समस्या सुधारका कामलाई द्रुत गतिमा अगाडि बढाउन लगाइएको छ।’