काठमाडौं। संघीय निजामती विधेयकबाट ‘कुलिङ पिरियड’ गायब पारिएको विषयमा संसदीय छानबिन हुने भएको छ। सभामुख देवराज घिमिरेले छानबिनका लागि विशेष समिति गठनको प्रस्ताव गरेका छन्।
उनले कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे, एमालेका मुख्य सचेतक महेश बर्तौला र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेलाई बोलाएर विशेष समिति गठनको प्रस्ताव गरेको सभामुखको सचिवालयले जनाएको छ।
सभामुखले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १८० बमोजिमको समिति गठन गर्न प्रस्ताव गर्नुभएको छ,’ घिमिरेका सञ्चार विज्ञ शेखर अधिकारीले भने।
समितिले गर्ने काम र समयावधि तथा समितिमा रहने सदस्यको नामबारे सभामुखले दलहरुसँग प्रस्ताव मागेका छन्। नियमावलीमा गम्भीर प्रकृतिका विषयमा विशेष समिति गठन गर्न सकिने व्यवस्था छ।
असार २३ गते बस्ने प्रतिनिधि सभाको बैठकबाट समिति गठन गर्ने तयारी रहेको घिमिरेको सचिवालयले जनाएको छ।
राज्य व्यवस्था तथा सुशासन समितिले आफूले पारित प्रतिवेदन विपरीत संसद्कै अपमान हुने गरी विधेयकमा सचिव र सहसचिवका लागि ‘कुलिङ पिरियड’ लागू नहुने व्यवस्था कसरी पर्यो भन्ने सम्बन्धमा छानबिनका लागि बुधबार सभामुखसँग आग्रह गरेको थियो।