काठमाडौं। सरकारका पछिल्ला निर्णयहरुमा असन्तुष्टि जनाउँदै सरकारी संयन्त्रको बैठक जान छाडेका कांग्रेस महामन्त्री गगन थापा बुधबार भने बालुवाटार पुगेका छन्। उनी उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा सहभागी हुन बुधबार साँझ बालुवाटार पुगेका हुन्।
गभर्नर नियुक्ति प्रकरणमा कांग्रेस एमालेबीच टसल बढेका बेला वैशाख ३ गते संयन्त्रको बैठक डाकिएको थियो। गगन त्यस दिन बारा पुगेका थिए। बाराबाट फर्केपछि बैठकमा सहभागी हुने बताइए पनि उनी अनुपस्थित भएका थिए।
अघिल्लो दिन बैशाख २ गते गगनले काठमाडौंको एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको सार्वजनिकरुपमै आलोचना गरेका थिए। गभर्नर नियुक्ति प्रकरणमा बिचौलिया हाबी भएको र प्रधानमन्त्रीको बेडरुमसम्मै पहुँच भएको उनको आरोप थियो।
‘हाम्रो इकोनोमीमा अहिले समस्या भएको भनेको बिचौलियाको कारणले हो। म यो प्रधानमन्त्री त्यो प्रधानमन्त्री भन्दिनँ बिचौलियाहरूको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म हुने भयो। नेतृत्वको बेडरुमसम्म हुने भयो,’ गगनले भनेका थिए। त्यसपछि देउवा बालुवाटार पुगेर भोलिपल्टका लागि संयन्त्रको बैठक डाकिएको थियो।
त्यसअघि चैत ११ गते नेपाल विद्युत प्राधिकरणबाट कुलमान घिसिङलाई हटाइएपछि गगन सरकारसँग रुष्ट बनेका थिए। त्यस विषयमा गगनले सदनमै बोलेका थिए।
चैत २६ गते गुल्मी पुगेर पनि गगनले सरकारको आलोचना गरेका थिए। ‘नागरिकमा असन्तुष्टि छ। असन्तुष्टि किन छ भने, २० वर्ष नागरिकले प्रतीक्षा गर्यो। २०६० सालदेखि २०८० साल भनेको २० वर्ष भयो । यो भित्रमा जति छिटो परिणाम आउनुपर्थ्यो। त्यो परिणाम आउन सकेन। नागरिकमा ठूलो बेचैनी र असन्तुष्टि देखिन्छ,’ गगनले भनेका थिए।
गगनले सरकारले गरेको कामको गति नै नमिलेको ठोकुवा गरेका थिए। ‘कामको गति मिलिरहेको छैन। सरकार जुन गतिमा जानुपर्ने हो, गति भएन, गति पुगेन। म जुन ठाउँमा बसेर काम गरिरहेको छु,’ थापाले भनेका थिए।
गगनले लगातार असन्तुष्टि जनाउन थालेपछि सत्ता साझेदार दल नेकपा एमालेले वैशाख १ गते सचिवालय बैठक डाकी अरुलाई मात्र औंला ठड्याएर नहुने जवाफ दिएको थियो।
गभर्नर नियुक्तिको विषयमा गगनको असन्तुष्टिप्रति प्रधानमन्त्री ओलीले सार्वजनिक तहमै प्रतिवाद गरेका थिए। ‘कोही यसरी धङ्धङ्गिएर बोल्छन् कि प्रधानमन्त्रीको बेडरूमसम्मै बिचौलियाको पहुँच पुग्या छ। दया लाग्छ त्यस्ता शब्दहरू सुन्दा। त्यस्ता कुराहरू प्रमाणित गर्न सक्छन्?’ वैशाख १४ गते मदन भण्डारी फाउन्डेसनको चौथो राष्ट्रिय सम्मेलनका क्रममा ओलीले भनेका थिए।
त्यसपछि प्रधानमन्त्री ओलीले वैशाख १७ गते संयन्त्रको बैठक डाके। त्यो बैठक पनि गगनले बंक गरे।
त्यसयता गगन सदनमा पनि उपस्थित भएनन्। सरकारको नीति तथा कार्यक्रम र प्रिबजेट छलफलमा सहभागी नै भएनन्।
यस विषयमा सदनमा वैशाख २२ गते एमाले सांसद सूर्य थापाले प्रश्न उठाएका थिए।
सरकारका कार्यलाई प्रभावकारी बनाउन गत कात्तिकमा गठन गरिएको दुई दलीय संयन्त्रमा कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन, गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री आरजु राणा देउवा छन्।