BIZMANDU
www.bizmandu.com

आज संचालन होला प्रतिनिधिसभा बैठक? विपक्षी दलहरुबीच बनिरहेको छ यस्तो धारणा

२०८२ जेठ २३

आज संचालन होला प्रतिनिधिसभा बैठक? विपक्षी दलहरुबीच बनिरहेको छ यस्तो धारणा
आज संचालन होला प्रतिनिधिसभा बैठक? विपक्षी दलहरुबीच बनिरहेको छ यस्तो धारणा

काठमाडौं । संघीय संसद्को दुवै सदनको बैठक आज बस्दैछ। प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्ने गरी निर्धारण भएको छ।

Tata
GBIME
Nepal Life

आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र सो प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची छ।

यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘सङ्घीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्ने कार्यतालिका छ।

यस्तै, राष्ट्रियसभाको बैठक आज दिउँसो १ः१५ बजे बस्ने छ। सो बैठकमा राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल जारी रहनेछ।

तर, विपक्षी दलको अवरोधका कारण प्रतिनिधिसभा बैठक बस्न सकेको छैन। विपक्षी सांसदहरुले हिजोको बैठक पनि अवरुद्ध गरेका थिए। भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै उनीहरुले बैठक अवरुद्ध गरेका हुन्।

आजको बैठक पनि अवरुद्ध गर्ने प्रतिपक्षको तयारी छ। यद्यपि, विभिन्न विकल्पबारे भने छलफल चलिरहेको छ।

पढ्नुस : विपक्षी दलमा छानबिनपछि लेखकमाथि अध्ययन समिति बनाउने प्रस्ताव, रास्वपा अलमलमा

बुधवार कांग्रेसले पनि प्रतिपक्षी दलहरुलाई मध्यमार्गी प्रस्तावको रुपमा अख्तियारले अनुसन्धान टुंग्याउनासाथ छानबिन समिति बनाउने प्रतिवद्धता जनाउने र संसदको अवरोध हटाउनुपर्ने प्रस्ताव उप सभापति पूर्णबहादुर खड्का, गगन थापा लगायतले गरेका थिए। उनीहरुको प्रस्तावलाई माओवादी केन्द्रका सचिव शक्ति बस्नेत र प्रमुख सचेतक हितराज पाण्डले समर्थन जनाएका थिए। एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डले पनि समर्थन जनाएका थिए।

‘अख्तियारको छानबिनपछि समिति बनाउँछौं भन्ने लिखित प्रतिबद्धता गर्ने र त्यसपछि अवरोध हटाउनेमा माओवादी र एकीकृत समाजवादी तयार छन्। तर रास्वपाले अप्ठेरो मान्यो। उहाँहरुले गृहमन्त्रीको विषयलाई व्यक्तिगत रुपमा पनि लिइदिनुभयो,’ कांग्रेसका एक पदाधिकारीले भने।

रास्वपाले भने आफूहरुसँग कुराकानी नै नगरी मध्यमार्गी प्रस्ताव आएको भन्दै आपत्ति जनाएको थियो। रास्वपाका उप सभापति स्वर्णिम वाग्ले र प्रमुख सचेतक सन्तोष परियारसँग थापा र खड्काले कुराकानी गरेपछि उनीहरु दुवै जनाले पार्टीमा कुराकानी गर्ने भन्दै संसदबाट निस्किएका थिए।