काठमाडौं । प्रहरीको खोजी सूचीमा रहेका राजावादी प्रर्दशनका कमान्डर दुर्गा प्रसाईंलाई प्रहरीले नियन्त्रणमा लिएर झापामा ल्याएको छ। बिहीबार दिउँसो नै भारतको असाममा प्रसाईं ‘लोकेट’ थिए।
चैत १५ गते तीनकुनेमा दुई जनाको ज्यान जाने गरि भएको अराजक प्रदर्शनपछि उनी प्रहरीको खोजी सूचीमा थिए। प्रसाईं तीनकुनेबाट ललितपुरको इमाडोल हुँदै भक्तपुर, धुलिखेलबाट झापाको काकडभिट्टा पुगेका थिए। त्यसपछि सिलगुडी हुँदै आसाम पुगेको खुलेको छ।
नेपाल प्रहरीको टोली प्रसाईं खोज्न भारतको विभिन्न स्थानमा पुगेको थियो। असमानमा एक स्थानीय नेताको घरमा प्रसाईं बसेको खुलेको छ।
प्रसाईंले भने आफू भारत नभागेको र नेपालमै भएको दाबी भिडियोबाट गर्दै आएका थिए।
अहिले प्रसाईंलाई विमानबाट काठमाडौं ल्याउने तयारी भइरहेको छ। बुद्ध एयरको ११:३० बजेको विमानबाट उनलाई काठमाडौं ल्याइँदैछ।
तीनकुने घटना भएकै दिन राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शम्शेर राणालाई प्रहरीले पक्राउ गरेको थियो।
प्रदर्शनमा संलग्नमध्ये अहिलेसम्म करिब २ सय जनालाई पक्राउ परिसकेका छन्। केहीलाई सोधपुछ गरेर छाडिएको छ। तीनकुनेको घटनामा कीर्तिपुर-४ का २९ वर्षीय सविन महर्जन र एभिन्युज टिभीका पत्रकार सुरेश रजकको मृत्यु भएको थियो।
अराजक भीडले जडीबुटी चोकस्थित सरकारी कम्पनी जडिबुटी उत्पादन तथा प्रशोधन केन्द्र, समाजवादी पार्टी कार्यालय, बालकुमारीबाट काठमाडौंतर्फ आउने करिडोर बाटो, बानेश्वर पुल पारिपट्टि, एयरपोर्टको फोहोरमा, सिनामंगलको इन्द्रेणी सहकारीको कार्यालय भवन, रोयल रेस्टुरेन्ट, एरोम्याक्सको कार्यालय र कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा तोडफोड, आगजनी तथा लुटपाट गरेको थियो।
लुटपाट र तोडफोड मच्चाएर प्रसाईं तीनकुनेबाट फरार भएका थिए। उनलाई दुई सातादेखि प्रहरीले खोजी रहेको थियो। दिल्लीसम्म पुगेका उनलाई पछ्याउँदै अन्तत: असाममा ‘लोकेट’ गरेर आज नेपाल ल्याइएको हो।
काठमाडौं ल्याइँदै गरेको प्रसाईंविरुद्ध प्रहरीले राज्य विरुद्धको अपराधमा म्याद लिएर अनुसन्धान गर्नेछ। जिल्ला प्रहरी परिसर काठमाडौंले यसबारेमा थप अनुसन्धान गर्नेछ। त्यसपछि अन्य मुद्दाहरु पनि आकर्षित हुने छन्।
‘अहिले राज्य विरुद्धको अपराधमा म्याद लिइएर थप मुद्दा आकर्षित गर्ने छौं,’ परिसरका एसपी अपिल बोहोराले भने।
तीनकुनेमा भएको प्रदर्शनका क्रममा कान्तिपुर मिडिया हाउस, केएमसी अस्पताल, सिनामंगलमा डीआईए अगाडि बन्दै रहेको भवन, सिनामंगलमा नेपाल प्रहरीको दुइटा सीसीटीभी, सिनामंगल, भत्केको पुलको प्रहरी बिट, कोटेश्वरका प्रहरी प्रभाग र ट्राफिक प्रहरी प्रभाग तथा बागमती करिडोरमा रहेको समाजवादी पार्टीको कार्यालयमा तोडफोड भएको थियो।