काठमाडौं। विधानअनुसार नेपाली कांग्रेसको १५ औं महाधिवेशन २०८२ मंसिरमा हुनुपर्छ। कांग्रेसका कतिपय नेताहरु यही मितिमा महाधिवेशन हुनुपर्ने पक्षमा रहेपनि सभापति शेरबहादुर देउवा क्रियाशील सदस्यताको विवाद देखाउँदै सार्ने तयारीमा छन्।
कांग्रेसमा क्रियाशील सदस्यता विवाद मिलाउन महामन्त्री गगन थापालाई जिम्मा दिइएको छ। थापा नेतृत्वको क्रियाशील सदस्यता व्यवस्थापन समितिमा केन्द्रीय सदस्यहरु सीता गुरुङ, प्रकाश स्नेही रसाइली र योगेन्द्र चौधरी छन्।
यो समितिले जिल्ला समितिहरुलाई चैत मसान्तभित्र क्रियाशील सदस्यता विवादबारे पूर्ण विवरण बुझाउन परिपत्र गरेको छ। विवादको वास्ताविकता बुझेर समाधानको सुत्र निकाल्ने तयारीमा आफूहरु रहेको समितिका सदस्य चौधरी बताउँछन्। ‘यही मसान्तसम्ममा जिल्ला जिल्लाबाट रिपोर्ट आएपछि क्रियाशील सदस्यता विवादबारे निर्णय हुन्छ,’ चौधरीले भने।
कांग्रेसमा १४औं महाधिवेशनमा सहभागी भएका क्रियाशील सदस्यहरुकोसमेत रेकर्ड कम्युटरमा नदेखिएपछि विवाद चर्किँदै गएको छ। केही जिल्लाका नेताले अझै फारम नै नलगेको बताएका छन्। फारम नपुगेको जिल्लामा प्युठानदेखि हुम्लासम्म छन्।
कतिपयले भने क्रियाशील सदस्यको शुल्क महँगो भएको भन्दै नवीकरण नगरेको पाइएको छ। कांग्रेस केन्द्रले क्रियाशील सदस्यता नवीकरणका लागि २०० रुपैयाँ तोकेको छ। नयाँ क्रियाशील सदस्यता लिनेले ३०० रुपैयाँ बुझाउनुपर्छ। नवीकरण हरेक वर्ष गर्नुपर्ने विधानमा व्यवस्था छ।
जिल्ला समितिले भने शुल्क बढाएर पाँच सय रुपैयाँसम्म लिने गरेको कार्यकर्ताको गुनासो छ। जसकारण क्रियाशील सदस्यता नवीकरण गर्न रुचि नदेखाएको समितिकै सदस्यको बुझाइ छ। ‘केन्द्रले २०० रुपैयाँ तोकेपनि जिल्लामा पार्टी सञ्चालनका लागि आवश्यक भन्दै थपेर शुल्क लिएको देखिन्छ। शुल्क बढी भएको भन्दै कतिपयले सदस्यता नवीकरण नगरेको पाइएको छ,’ समितिका सदस्य चौधरीले भने।
१४औं महाधिवेशनमा कांग्रेसले ८ लाख ५२ हजार ७१२ जनालाई क्रियाशील सदस्यता प्रदान गरेको दाबी गरेको थियो। जसअनुसार महाधिवेशन गरेपछिको आर्थिक वर्ष २०७९/८० मा कांग्रेसको कोषमा क्रियाशील सदस्यताबाट १७ करोड रुपैयाँभन्दा बढी उठ्नुपर्ने हो।
तर, त्यो वर्ष कांग्रेसले क्रियाशील सदस्यबाट जम्मा ८०० रुपैयाँमात्र आम्दानी गरेको देखिन्छ। कांग्रेसले सार्वजनिक गरेको लेखापरीक्षण प्रतिवेदनले क्रियाशील सदस्यबाट शुल्क नै नउठेको देखाउँछ।
जबकि १४औं महाधिवेशनमा कांग्रेसले क्रियाशील सदस्य छानबिन समितिका लागि मात्र ६१ लाख २९ हजार ३७९ रुपैयाँ खर्च गरेको थियो। त्यतिबेला कांग्रेसले रमेश लेखकको संयोजकत्वमा क्रियाशील सदस्यता छानबिन समिति बनाएको थियो।
क्रियाशील सदस्यता विवादका कारण त्यतिबेला समितिका सदस्य श्याम घिमिरेमाथि सिन्धुपाल्चोकका कांग्रेस नेताहरुले आक्रमणसमेत गरेका थिए। १४औं महाधिवेशनको वर्ष भने कांग्रेसले सदस्यता र लेभीबाट ७ करोड ४३ लाख ३ हजार ५०१ रुपैयाँ उठाएको थियो।
१३औं महाधिवेशनमा ४ लाख ७० हजार क्रियाशील सदस्य रहेकामा १४औं महाधिवेशनका लागि पुराना ४ लाख ३ हजार ९१३ जनाले मात्रै सदस्यता नवीकरण गरेका भनिएको थियो।