BIZMANDU
www.bizmandu.com

सुनको मूल्य आधा घट्ने अमेरिकी विश्लेषकको अनुमान, तोलाको एक लाख नजिक आउला?

२०८१ चैत्र २४

सुनको मूल्य आधा घट्ने अमेरिकी विश्लेषकको अनुमान, तोलाको एक लाख नजिक आउला?
सुनको मूल्य आधा घट्ने अमेरिकी विश्लेषकको अनुमान, तोलाको एक लाख नजिक आउला?

सुनको मूल्य केही दिन अघिसम्म अभूतपूर्व स्तरमा उकालो लाग्यो। मूल्य उकालो लाग्दा यसले सुनमा लगानी गर्नेहरूलाई त फाइदा पुर्‍यायो तर आम उपभोक्ता भने मारमा परे।

Tata
GBIME
Nepal Life

यसबीच एक अमेरिकी विश्लेषकले निकट भविष्यमै यसको मूल्यमा तीव्र गिरावट आउने आकलन गरेका छन्। अमेरिकामा आधारित मर्निङस्टारका विश्लेषक जोन मिल्सले आगामी केही वर्षमा सुन मूल्यमा ३८ प्रतिशतसम्म गिरावट आउने अनुमान गरेका हुन्

लगातार उकालो लागेर उच्च विन्दुमा पुगेको सुनको मूल्य पछिल्ला केही दिन घट्न थालेको छ। साताको पहिलो दिन आइतबार तोलामा १ हजार ९०० रुपैयाँ घटेर प्रति तोला १ लाख ७४ हजार ५ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यसअघि गत शुक्रबार सुन ३ हजार ९ सय रुपैयाँ घटेर प्रति तोला १ लाख ७६ हजार ४सय रुपैयाँमा कारोबार भएको थियो। नेपाली बजारमा गत बिहीबार कारोबार मूल्य बढेर प्रति तोला १ लाख ८० हजार ३ सय रुपैयाँको रेकर्ड नै बनेको थियो।

अन्तर्राष्ट्रिय बजारमा आइतबार सुन प्रति औंस ३०३७.६५ डलरमा कारोबार भइरहेको छ। गत शुक्रबार सुनको मूल्य प्रति औंस ३१०३.९१ डलर।

यदि ३८ प्रतिशतको गिरावट आए नेपालमा सुनको भाउ लगभग १ लाख ८ हजार रुपैयाँ प्रति तोलामा झर्न सक्छ। जोन मिल्सका अनुसार सुनको मूल्य घटेर १ हजार ८२० डलर प्रति ओंसम्म पुग्ने सम्भावना रहेको छ।

नेपालमा सुन कारोबार गर्नेहरुले पनि ‘ट्रेन्ड’ परिवर्तन भए सुनको मूल्य घटेर १ लाख ५० हजार रुपैयाँ प्रतितोला वा सो भन्दा कम हुन सक्ने बताइरहेका छन्।

के आधारमा मूल्य घट्ने आकलन?

हालका दिनमा सुनको मूल्य वृद्धि हुनुको मुख्य कारण आर्थिक अनिश्चितता, महँगाईको चिन्ता र भूराजनीतिक तनाव हो। लगानीकर्ताले यसलाई सुरक्षित सम्पत्ति मान्न थालेका छन्।

विशेषगरी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहिलो कार्यकालमा व्यापार युद्ध सुरु भएसँगै यस्तो अवस्था देखिन थालेको थियो। तर, अब मूल्य घट्न सक्ने विभिन्न कारणहरू औँल्याइएका छन्।

सुनको आपूर्ति बढेको छ। २०२४ को दोस्रो त्रैमासिकमा खानीबाट प्राप्त हुने नाफा प्रति औन्स ९५० डलर पुगेको छ।

सुनको विश्वव्यापी भण्डारण ९ प्रतिशतले बढेर २ लाख १६ हजार २६५ टन पुगेका छन्। अस्ट्रेलियाले उत्पादन बढाएको छ भने ‘रिसाइकल’ गरिएका सुनको आपूर्ति पनि वृद्धि भएको छ।

यसबीचमा माग भने घट्न सक्ने सम्भावना देखिएको छ। विश्वभरका केन्द्रीय बैंकहरूले गत वर्ष १ हजार ४५ टन सुन किनेका थिए।

आगामी दिनमा उनीहरूले अब सुन किन्ने गति कम गर्ने सम्भावना छ। वर्ल्ड गोल्ड काउन्सिलको एक सर्वेक्षणका अनुसार ७१ प्रतिशत केन्द्रीय बैंकहरूले भविष्यमा आफ्नो सुनको भण्डारण घटाउने वा स्थिर राख्ने योजना बनाएका छन्।

सन् २०२४ मा सुन बजारमा व्यवसायीहरूबीचको मर्जर र एक्विजिसन ३२ प्रतिशतले बढेको छ। जुन बजारको उच्च विन्दुको संकेत हो। यसका अतिरिक्त सुनमा आधारित ईटीएफहरूको वृद्धि पनि विगतमा देखिएका मूल्य समायोजनको जस्तै संकेत दिइरहेका छन्।

तर, जोन मिल्सको भविष्यवाणीका बावजुद केही प्रमुख वित्तीय संस्थाहरू अझै पनि सकारात्मक देखिन्छन्। बैंक अफ अमेरिकाले आगामी दुई वर्षमा सुनको मूल्य प्रति औंस ३५ सय डलर पुग्ने अपेक्षा गरेको छ।

त्यस्तै, गोल्डम्यान स्याक्सले यो वर्षको अन्त्यमा मूल्य ३३ सय डलर प्रति औंस पुग्ने अपेक्षा गरेको छ। सुनको मूल्यले आफ्नो गति कायम राख्छ या प्रक्षेपण गरिएअनुसार गिरावटको सामना गर्छ भन्ने कुरा आगामी महिना र वर्षहरूमा स्पष्ट हुँदै जानेछ।