BIZMANDU
www.bizmandu.com

स्टुअर्ड ल बने नेपाली क्रिकेटको मुख्य प्रशिक्षक, विवादले छाडेका थिए अमेरिका

२०८१ चैत्र १६

स्टुअर्ड ल बने नेपाली क्रिकेटको मुख्य प्रशिक्षक, विवादले छाडेका थिए अमेरिका
स्टुअर्ड ल बने नेपाली क्रिकेटको मुख्य प्रशिक्षक, विवादले छाडेका थिए अमेरिका


काठमाडौं। नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षक अस्ट्रेलियाका स्टुअर्ड ल बनेका छन्। नेपाल क्रिकेट संघ (क्यान)ले उनलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको शुक्रबार राति जनाएको हो।

Tata
GBIME

भारतीय प्रशिक्षक मोन्टी देशाइको करार अवधि सकिएपछि नवीकरण नगरेको क्यानले प्रशिक्षकको खोजीमा आवेदन खुलाएको थियो। यसक्रममा नेपाली टोलीका केही पूर्वमुख्य प्रशिक्षकसहित ७० जनाको आवेदन परेको क्यानले जनाएको छ। त्यसमध्ये १० जनाको नाम सर्टलिस्ट गरेको थियो। यसबाट अस्ट्रेलियन प्रशिक्षक स्टुअर्ट ल मुख्य प्रशिक्षकमा छानिएका हुन्।

उनीसँगको करार अवधि दुई वर्षको रहने क्यानले जनाएको छ। नेपाली टोलीको अबको ध्यान क्रिकेट विश्वकप लिग-२ मा रहने छ। यो लिगमा ८ टोलीमध्ये सातौँ स्थानमा संघर्ष गरिरहेको नेपाललाई लयमा फर्काउँदा मिड टेबलमा लगेर एकदिवसीय मान्यता जोगाउने र शीर्ष तीनमा पुर्‍याएर एकदिवसीय विश्वकपको ग्लोबल क्वालिफायर्समा पुर्‍याउने चुनौती प्रशिक्षक ललाई हुनेछ।

खेलाडीछँदा ५४ एकदिवसीय अन्तर्राष्ट्रिय खेलेका उनले ५१ इनिङ्समा १२३७ रन बनाएका थिए। पछिल्लो पटक अमेरिकी टोलीसँग रहेका उनकै प्रशिक्षणमा अमेरिकाले टी-२० विश्वकपमा पाकिस्तानलाई हराएको थियो। यसबाहेक उनीसँग श्रीलंका, बंगलादेश, वेस्ट इण्डिजमा प्रशिक्षण सम्हालेको अनुभव छ।

बंगलादेशमा छँदा पहिलो पटक टोलीलाई एसिया कप फाइनलमा पुर्‍याएको श्रेय पनि उनलाई जाने गरेको छ।

पछिल्लो प्रशिक्षणमा तीतो अनुभव

नेपाली क्रिकेट टोली गएको कात्तिक महिनामा क्रिकेट विश्वकप लिग-२ खेल्न अमेरिका पुगेको थियो। त्यसबेला अमेरिकी टोलीमा भने माहोल अशान्त थियो। अमेरिकाले त्यसअघि स्कटल्याण्डमा भएको सिरिजमा नराम्रो हार ब्यहोरेको थियो। यसको कारण थियो: टोलीमा प्रशिक्षक र खेलाडीबीचको द्वन्द्व।

अमेरिकाका तत्कालिन कप्तान मोनांक पटेलसहित सिनियर ८ खेलाडीले उनीमाथि फेभोरिजम गरेको, विभेदगरेको लगायतका गम्भीर आरोपहरु लगाएका थिए।

यस्तोमा उनी अमेरिकी टोलीबाट हटे। तीन वर्षे करारमा रहेका उनलाई अमेरिकाको क्रिकेट संघले ६ महिनामै बर्खास्त गर्‍यो। र, नेपाल विरुद्धको खेलमा अमेरिकी टोलीमा भिन्सेन्ट विनय कुमार अन्तरिम मुख्य प्रशिक्षक रहे।

सम्बन्धित समाचार: खेलाडीसँगको टसलले अमेरिकाका प्रशिक्षक ल नेपालसँगको खेलअघि ‘आउट’