काठमाडौं । काठमाडौंको टोखामा युरो र अमेरिकी डलरसहित फेला परेको ट्रक र नियन्त्रणमा लिइएका व्यक्तिलाई प्रहरीले राजस्व अनुसन्धान विभागमा बुझाउने तयारी गरेको छ।
प्रहरीले टोखाबाट हिजो राति नियन्त्रणमा लिएको ट्रकको ड्राइभर सिट मुनि ‘फल्स बटन’ बनाएर ६० बण्डल नोट बरामद थियो।
प्रहरीका अनुसार ५०, १००, २०० र ५०० दरका युरो नोटहरु फेला परेका छन्। कूल १३ लाख ७५ हजार १५० युरो बरामद भएको छ।
यस्तै, ५० र १०० दरका अमेरिकी डलर फेला परेका छन्। जसको कूल रकम ३ लाख २० हजार ८५० अमेरिकी डलर हुन आउँछ।
पढ्नुस : ट्रकमा करोडौं रुपैयाँ बरामद, केरुङमा डलर बुझाएर काठमाडौंमा सुन ल्याउने थियो योजना
नेपाली मुद्राको सतही दर अनुसार बरामद विदेशी मुद्रा कूल २५ करोड १ लाख ६० हजार ३३८ रुपैयाँ हुन आउँछ।
प्रहरीले रकम सहित सिन्धुपाल्चोकका कुसाङ लामालाई पनि नियन्त्रणमा लिएको छ। लामा २०७३ सालमा पनि सुन तस्करी आरोपमा पक्राउ परेका थिए। ५ वर्ष जेल बसेर छुटेका उनी फेरि सुन तस्करीमा सक्रिय रहेको देखिएको हो।
बरामद अमेरिकी डलर र युरो चीनको केरुङमा बुझाएर त्यहाँबाट सुन ल्याउने योजना रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।
लामाले आफूलाई सो रकम चिनियाँ नागरिकले दिएको प्रहरीलाई बयान दिएका छन्। केरुङसम्म लगिदिन भनेर चिनियाँ नागरिकले सो रकम सहितको बाकस दिएको उनले बताएका हुन्।
प्रहरीले यो घटनामा हाल एकजनालाई मात्र सार्वजनिक गरेको छ। यसमा अरु पनि संलग्न हुन सक्ने भन्दै प्रहरीले अनुसन्धान गरिरहेको छ।
कुसाङलाई राजस्व अनुसन्धान कार्यालयमा बुझाउने तयारी प्रहरीको छ। प्रहरीले ठूलो संख्यामा डलर र युरो कहाँबाट आयो भन्नेबारे नखुलेको र यसबारेमा अनुसन्धान भइरहेको जनाएको छ।