BIZMANDU
www.bizmandu.com

स्टील उद्योगी सरकारी मौनताले कार्टेलिङ गर्न हौसिए, डण्डीको भाउ एक सातामा दोस्रोपटक वृद्धि

२०८१ चैत्र ३

स्टील उद्योगी सरकारी मौनताले कार्टेलिङ गर्न हौसिए, डण्डीको भाउ एक सातामा दोस्रोपटक वृद्धि
स्टील उद्योगी सरकारी मौनताले कार्टेलिङ गर्न हौसिए, डण्डीको भाउ एक सातामा दोस्रोपटक वृद्धि

विराटनगर। फलामे छडको मूल्य कार्टेलिङ गर्दै स्टील उद्योगीले एक साताको अन्तरमा दुई पटक बढाएका छन्। स्टील उद्योगीले मिलेमतोमा बिक्री नै बन्द गरेर फागुन २५ यता दुई पटकमा टीएमटीको भाउ प्रति किलो ८ रुपैयाँ बढाएका हुन्।

Tata
GBIME
Nepal Life

फागुन २५ मा किलोमा ४ रुपैयाँ मूल्य बढाएर २६ गते बिक्री बन्द गरेका उद्योगीले आइतबार फेरि प्रति किलो ४ रुपैयाँ बढाएर बिक्री खोलेका छन्। किलोको २५ पैसा, ५० पैसामा समेत ठूलो बार्गेनिङ हुने स्टील उत्पादनमा ८ रुपैयाँ मूल्यवृद्धिलाई अस्वाभाविक मानिएको छ।

सिमेन्ट उद्योगीले कार्टेलिङ गरेर बोरामै २५० रुपैयाँ बढाउँदा समेत सरकारले कुनै हस्तक्षेप नगरेपछि स्टील उद्योगीले प्रोत्साहित हुँदै मिलेमतोमा एकपछि अर्को गरी भाउ बढएका हुन्।

सुनसरीको पशुपति आइरनले टीएमटी फागुन २५ र २६ गते भ्याटबाहेक किलोको ८२ रुपैयाँका दरले बिक्री गरेकामा आइतबार त्यो मूल्य ८६ रुपैयाँ पुर्‍याइएको छ। त्यस्तै भ्याटबाहेक किलोको ८३ रुपैयाँका दरले बेचेका स्वस्तिक रोलिङ र हुलास वायरले ८७ रुपैयाँ पुर्‍याएका छन्।

प्रिमियर स्टीलले टीएमटीको भाउ किलोको ८४ बाट ८८ रुपैयाँ बनाएको छ। यो भाउ नगद तिरेर लिनेका लागि हो। उधारोमा लिनेका हकमा एक महिनाको हो भने किलोको १ रुपैयाँ र २ महिनाको उधारो हो भने किलोको २ रुपैयाँ बढीले हिसाब हुन्छ।

एक उद्योगका बिक्री अधिकृतले भाउ फेरि बढाउने तयारी रहेको र त्यसका लागि सोमबार दिउँसो ४ बजेदेखि बिक्री बन्द हुन सक्ने बताए।

‘सेल्स क्लोज भयो भने पुनः किलोमा ४ रुपैयाँ मूल्यवृद्धि हुनेछ। अर्को आइतबार अर्थात् चैत १० गते दुई दिनका लागि बिक्री खुल्नेछ,’ उनले भने।

स्टील उद्योगी वैशाखको अन्त्यसम्म टीएमटीको भाउ भ्याटबाहेक किलोको १०० रुपैयाँ पुर्‍याउने तयारीमा रहेको ती अधिकृतले जानकारी दिए।

स्टील उद्योगीले मिलेमतोमा भाउ बढाउन फागुन २० गते बिक्री बन्द गरेका थिए। देशभरिका मुख्य उद्योगीले फागुन २२ र २३ गते काठमाडौंमा जम्मा भइ उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, उद्योगसचिव कृष्णबहादुर राउत, वाणिज्यसचिव गोविन्दबहादुर कार्की लगायतलाई भेटे। उनीहरुले प्रति किलो ४ रुपैयाँ भाउ बढाएर फागुन २५ बिहान बिक्री खुला गरी २६ गते अपराह्न ४ बजे बन्द गरे।

विराटनगर हार्डवेयर संघका सचिव देवीप्रसाद पोखरेलले सिमेन्ट उद्योगको सिको गर्दै स्टील उद्योगले पनि आपूर्ति नियन्त्रण गरेर लगातार भाउ बढाइरहँदा सरकारी निकायले मौनता साँध्नु रहस्यमय भएको बताए।

‘टीएमटीको मूल्य किलोमा ८ रुपैयाँ वृद्धि भनेको सानो होइन,’ पोखरेलले बिजमाण्डूसँग भने, ‘सिमेन्ट उद्योगी ५० किलोको बोरामा २५० रुपैयाँ वृद्धि गरेर बसेका छन्। स्टीलमा सुरुमै ५० किलोमा ४ सय रुपैयाँले वृद्धि गरिएकामा फेरि दोस्रोपटक कार्टेलिङ गरेर बढाइएको छ। यसको मार सर्वसाधारण मात्र होइन सरकारले समेत खेप्नुपरेको छ। तर नियमनकारी निकाय मौन छन्। अब सबैले सरकार खोई भन्ने बेला भएको छ।’

पोखरेलले सिमेन्ट, स्टीलजस्ता मुख्य निर्माण सामग्रीमा गरिएको कार्टेलिङ खुलाबजार, उदार अर्थतन्त्र र कानुनलाई खुला चुनौती भएको भन्दै नियमनकारी निकायको मौनताले मृल्य वृद्धिमा सरकारकै साथ रहेको सन्देश गएको बताए।

निरौला हार्डवेयरका सञ्चालक अनन्त निरौलाले किलोमा ४ रुपैयाँ बढाएर फागुन २५ बिहान बिक्री खोलेर २६ गते दिउँसो ४ बजे बन्द गरेका स्टील उद्योगले आइतबार फेरि प्रति किलो ४ रुपैयाँ भाउ बढाउँदा पनि सरकार रमिते बनेको आरोप लगाए।

‘टीएमटी, सिमेन्ट लगायत निर्माण सामग्रीको बिक्री वृद्धि हुने बेला यही हो। तर, यही बेला स्टील उद्योगले सिमेन्ट उद्योगको सिको गर्दै बिक्री र आपूर्ति नियन्त्रण गरेर निरन्तर भाउ बढाइरहेका छन्। उद्योगीको मनपरिमा सरकार केही नबोली बस्नुले आशंका जन्माएको छ,’ उनले भने।