BIZMANDU
www.bizmandu.com

स्टील उद्योगीको कार्टेलिङ राज, डण्डीको मूल्य फेरि बढाउन बन्द गरे बिक्री

२०८१ फागुन २७

स्टील उद्योगीको कार्टेलिङ राज, डण्डीको मूल्य फेरि बढाउन बन्द गरे बिक्री
स्टील उद्योगीको कार्टेलिङ राज, डण्डीको मूल्य फेरि बढाउन बन्द गरे बिक्री

विराटनगर। कार्टेलिङ गरी डण्डीको मूल्य एकैपटक किलोमा ४ रुपैयाँ बढाएका स्टील उद्योगीले फेरि बिक्री गर्न र अर्डर लिन रोकेका छन्। आफूहरुको मनपरीमा सरकारले मौनता साँधेपछि हौसिएका उद्योगीले मूल्य बढाउन बिक्री ठप्प पारेका हुन्।

Tata
GBIME

टीएमटीको मूल्य फेरि बढाउने उद्देश्यका साथ उद्योगीले सोमबार साँझदेखि बिक्री र अर्डर रोकेका छन्। पूर्वका एक उद्योगका बिक्री अधिकृतले सोमबार साँझदेखि बिक्री बन्द गरी अर्डर लिन छोडेको बताए।

‘हामीले उद्योग सञ्चालकको आदेशमा काम गर्ने हो। उहाँहरूले क्लोज भनेपछि क्लोज गर्ने हो, यति मूल्यमा बेच भनेपछि त्यसरी नै बिक्री गर्ने हो। अहिले सेल्स क्लोज भन्नुभएको छ’, ती बिक्री अधिकृतले भने।

उनका अनुसार अब होली अगाडि बिक्री खुल्ने सम्भावना छैन। उनले उद्योगीले मूल्य बढेपछि मात्र बिक्री खुलाउने कुरा गरेको जानकारी दिए।

विराटनगरको निरौला हार्डवेयरका सञ्चालक अनन्त निरौलाले सोमबार साँझदेखि उद्योगले टीएमटीको अर्डर लिन बन्द गरेको बताए। उनका अनुसार उद्योगले सोमबार साँझदेखि पहिलेका अर्डर र भुक्तानीको सामान मात्र पठाइरहेका छन्। नयाँ अर्डर लिएका छैनन्।

निरौलाका अनुसार उद्योगले डण्डीको मूल्य पूर्वमा भ्याटबाहेक किलोको ८७ रुपैयाँ पुर्‍याउन लागेका छन्।

सिमेन्ट उद्योगको सिको गर्दै स्टील उद्योगले बिक्री बन्द गरेर फागुन २५ देखि किलोमा ४ रुपैयाँ मूल्यवृद्धि गरेका थिए। मूल्य बढाउने निर्णय गर्नुअघि उनीहरुले फागुन २० देखि बिक्री गर्न र अर्डर लिन बन्द गरेका थिए।

कार्टेलिङपछि मूल्य बढाउनका लागि उद्योगीहरु काठमाडौंमा भेला भएका थिए। भेलाले पहिलो चरणमा प्रति किलो ४ रुपैयाँ वृद्धि गर्ने तथा हप्तैपिच्छे बढाउने निर्णय गरेको थियो।

उद्योगीहरू आफ्नो नाम खुलाएर मूल्य वृद्धिका लागि फेरि कार्टेलिङ गरेको स्वीकार गर्न तयार छैनन्। उद्योग संगठन मोरङका कार्यकारी सदस्य एवम् प्रिमियर स्टिलका सञ्चालक सौरभ शारडाले आफूहरुले लागतका आधारमा मूल्य तय गरेको भन्दै कार्टेलिङको विषयमा छलफल नै नभएको दाबी गरे।

‘कार्टेलिङको कुरा केवल आरोप हो। कुनै उद्योगपतिले यस्तो गरेका छैनन्। गरेको भए त हामी पनि सहभागी हुन्थ्यौँ होला। हामी त सबै विराटनगरमै छौं,’ उनले बिजमाण्डूसँग भने, ‘सबै स्टील उद्योगले आ–आफ्नो लागत र आपसी प्रतिस्पर्धाका आधारमा मूल्य तय गरिरहेका छन्।’

नेपाल निर्माण व्यवसायी महासंघले सिमेन्टमा जस्तै डण्डीमा पनि उद्योगीले लगातार कार्टेलिङ गरेको भन्दै आक्रोश व्यक्त गरेको छ।

महासंघका अध्यक्ष रवि सिंहले काठमाडौंका निर्माण व्यवसायीले अहिले भ्याटबाहेक किलोको ८७ रुपैयाँ तिर्नु परिरहेकामा उद्योगीले फेरि अर्डर लिन बन्द गर्नुलाई सरकारी निरीहताको उपज भने।

‘हामीले भ्याटबाहेक किलोको ८२ देखि ८३ रुपैयाँमा पाइरहेको टीएमटीको मूल्य आइतबार अचानक ८७ रुपैयाँ पुर्‍याइयो,’ उनले भने, ‘अहिले फेरि मूल्य बढाउन बिक्री बन्द गरिएको छ। यो भनेको सरकारको निरीहताको उपज हो। उद्योगीको कार्टेलिङमा सरकार रमिते बनेको छ।’

डण्डीमा कार्टेलिङलाई लिएर महासंघले छिटै आफ्नो धारणा सार्वजनिक गरेर आवश्यक कदम अघि बढाउने सिंहले बताए। महासंघले यसअघि सिमेन्ट उद्योगीले मूल्य बढाउँदा पनि विरोध गरेको थियो।