डोनाल्ड ट्रम्पले जनवरी २० मा राष्ट्रपति पदको सपथ लिएपछि अमेरिकाका विभिन्न सहरमा प्रहरीले छापा हानिरहेको छ। सिकागो, न्यूयोर्क, लसएन्जलस लगायतका ठूला सहरमा आप्रवासीहरुसँग सोधपुछ भइरहेको छ। गैर कानुनी रुपमा अमेरिका बसिरहेका आप्रवासीलाई प्रहरीले पक्राउ गरिरहेको छ।
ट्रम्पले ह्वाइट हाउस सम्हालेसँगै हालसम्म करिब ५ हजार भन्दा बढी आप्रवासीलाई अमेरिकाबाट डिपोर्ट गरिएको छ। ट्रम्प प्रशासनले लाखौं आप्रवासीलाई डिपोर्ट गर्ने घोषणा गरिसकेको छ। त्यही सिलसिलामा हजारौं आप्रवासी पक्राउ परिरहेका छन्।
प्रहरी नियन्त्रणमा परेकाहरुको तस्विर र सूचना ह्वाइट हाउससँगै होमल्यान्ड सेक्युरिटीले सार्वजनिक गरिरहेको छ। सैन्य विमानमा उनीहरुलाई ‘अपराधी जस्तै‘ व्यवहार गरेर ‘डिपोर्ट’ गरिन सुरु भइसकेको छ।
ट्रम्पले अवैध रुपमा बसिरहेका आप्रवासी पक्राउ परेसँगै उनीहरुलाई पक्राउ गरेर डिपोर्ट गरिने घोषणा गरिसकेका छन्। आफ्नो पहिलो कार्यकालमा पनि ट्रम्प आप्रवासी प्रति कठोर देखिएका थिए। यो पटक उनी थप शक्तिशाली बनेर ह्वाइट हाउस फर्किएकै दिनबाट अवैध आप्रवासी प्रमुख निशानामा परेका छन्।
ट्रम्पको मास डिपोर्टेसन नीति पछाडि कसको छ अहम भूमिका?
‘जब राष्ट्रपतिका रुपमा ट्रम्पले सपथ लिनेछन् उनले तत्काल सीमाहरु बन्द गर्न र अमेरिकी इतिहासकै सबैभन्दा ठूलो डिपोर्टेसन सुरु गर्न कार्यकारी अधिकारमा हस्ताक्षर गर्नेछन्,’ निर्वाचन ताका फक्स न्यूजलाई अन्तर्वार्ता दिँदै भनेका थिए स्टेफेन मिल्लरले।
मिल्लर उनै व्यक्ति हुन् जसमाथि राष्ट्रपति ट्रम्प अत्याधिक विश्वास गर्छन्। सन् २०१६ देखि नै ट्रम्पको साथमा रहेका मिल्लरलाई नै ‘मास डिपोर्टेसन’ योजनाको ‘मास्टरमाइन्ड’ मानिन्छ। तर, यो अहिले मात्रै भएको भने होइन।
सन् २०१७/१८ मा अन्तर्राष्ट्रिय संचार माध्यममा उनै स्टेफन मिल्लरको नाम चर्चामा रह्यो। उनको नाम चर्चामा आउनुको कारण थियो उनको मुख्य एजेन्डा अर्थात अमेरिकाबाट गैरकानुनी आप्रवासी लखेट्ने।
यो पटक उनै मिल्लर ट्रम्प जस्तै थप शक्तिशाली भएर ह्वाइट हाउस फर्किएका छन्। मिल्लर ह्वाइट हाउसका डेप्युटी चिफ अफ स्टाफ हुन्। सँगै उनलाई अमेरिकाको आन्तरिक सुरक्षा हेर्ने होमल्यान्ड सेक्युरिटीको सल्लाहकारमा समेत ट्रम्पले नियुक्ति दिएका छन्। यी दुवै पदले प्रष्ट पार्छ ट्रम्प प्रशासनमा उनको दबदबा।
सन् २०१६ देखि नै मिल्लर ट्रम्पको साथमा छन्। ट्रम्पको भाषण ‘क्राफ्ट’ गर्नेदेखि उनको हरेक क्याम्पेनमा मिल्लरको ठूलो भूमिका रहने गरेको छ, विशेष गरि आप्रवासनको मुद्दामा।
‘म स्टेफन मिल्लरलाई ट्रम्पको दिमाग भनेर भन्छु,’ अमेरिकी संसदका पूर्व सभामुख केभिन म्याकार्थीले भनेका छन्।
दी न्यूयोर्क टाइम्समा प्रकाशित स्टोरी अुनसार चार वर्ष ह्वाइट हाउसबाट टाढा रहँदा मिल्लर नै त्यस्ता सल्लाहकार हुन् जो ट्रम्पसँग सबैभन्दा नजिक रहे। ट्रम्पको दोस्रोपटक ह्वाइटहाउस फिर्तीको योजना बनाउन उनी लागिरहे। यो समयमा उनले आफ्नो नेटवर्किङ बढाए। सांसददेखि मिडियाका प्रसिद्ध व्यक्तित्व र उद्योगीहरुसँग सम्बन्ध विस्तार गरे। संसारकै धनाढ्य इलन मस्कसँग पनि चुपचाप सम्बन्ध बढाउने श्रेय पनि यिनै मिल्लर नै जान्छ।
भनिन्छ ट्रम्पप्रति कुनै बेला नकारात्मक रहेका टेक जायन्टहरुलाई लगाम लगाउने काम पनि उनै मिल्लरले गरेका हुन्।
एक दशकअघिसम्म मिल्लर युवा सिनेट कर्मचारी थिए। उनी अल्बामाबाट सिनेटर रहेका जेफ सेस्सन्सको तर्फबाट पत्रकारहरुलाई इमेल पठाउथे। उनको चासो त्यसबेला देखिनै आप्रवासीहरुले गर्ने अपराधमा थियो। अहिले ह्वाइट हाउससम्म उनले बनाएको पकड र शक्ति अविश्वास्निय जस्तै छ।
ट्रम्पले कार्यकालको पहिलो दिन नै हस्ताक्षर गरेका अधिकांश निर्णय मिल्लरबाट पहिला स्वीकृत भएको बताइन्छ। जन्मको आधारमा नागरिकता नदिने सवाल होस् या ड्रग माफियालाई अन्तर्राष्ट्रिय आतंकवादी घोषणा गर्ने होस्, सीमा बन्द गर्ने होस् या आप्रवासीलाई सामूहिक रुपमा देश निकाला गर्ने होस्, यी सबैको पछाडि थिए मिल्लर नै।
कुन कार्यकारी निर्णयमा हस्ताक्षर गर्ने भन्ने विषय राष्ट्रपति ट्रम्पमा नै अन्तिम निर्भर हुने हो। तर, मिल्लरलाई भने मुख्य चासो आप्रवासी सम्बन्धी मुद्दामा नै छ।
मिल्लर प्रष्ट छन् आफ्नो योजनामा। त्यसैले निर्णयहरुलाई कार्यान्वयन गर्न सहज होस् भनेर उनले काम कारबाहीहरुलाई गुपचुप गर्ने तर्फ ध्यान दिइरहेका छन्। ट्रम्पको ‘मास डिपोर्टेसन’ नीतिलाई कुनै अवरोध बिना सफल बनाउन मिल्लर लागिरहेका छन्। यसका लागि डिपोर्टेसन हुने देशसँग संवाद मुख्य आवश्यकता हो। यसका लागि उनले आफ्नो टिम पनि बनाएका छन्।
डिपोर्टेसन जति सजिलो सुनिएको छ त्यो त्यति नै खर्चिलो र कानुनी रुपमा झन्झटिलो पनि छ। त्यसैले पछिल्लो ४ वर्षमा ‘फन्ड’ जम्मा गर्नेदेखि सांसदहरुसँग सम्बन्ध विस्तारमा बिताएका थिए मिल्लरले। उनको यो प्रयास अहिले अमेरिकी राजनीतिमा काम पनि लागिरहेको छ ट्रम्पको लागि माहोल बनाउन।
ट्रम्पको टिममा जति व्यक्तिहरु छन् अधिकांश उनीहरु आफ्नो ‘करियर’ प्रति पनि संवेदनशील छन्। तर, मिल्लर त्यस्ता छैनन्। कन्जर्भेटिभ अभियन्ता चार्ली क्रिक भन्छन्,’ट्रम्पसँग केही व्यक्ति आफ्नो करियर बढाउन आएका छन्। तर मिल्लर ट्रम्पको एजेन्डामा पूर्णतय विश्वास गर्छन्।’
अहिलेसम्म मिल्लरले ट्रम्पसँग कुनै विष्यमा बहस गरेको कसैले देखेका छैनन्। ट्रम्पले पनि खासै मिल्लरको बारे गुनासो गर्दैनन्। तर, यदाकदा ट्रम्पले मिल्लरको आप्रवासीप्रतिको लगावलाई लिएर भने ‘पोक’ गर्ने गरेका छन्। मिल्लर आफै पनि आप्रवासी यहुदीका वंशज हुन्।
मिल्लरलाई ‘ह्वाइट नेश्नलिस्ट’ भन्नेको कमी छैन अमेरिकामा। सन् २०२४ मा एक कार्यक्रममा ट्रम्पले मिल्लरको हातमा भए अमेरिकामा १०० मिलियन मानिसमात्रै हुने र ती मिल्लर जस्तै देखिने बताएका थिए।
अक्टोबरमा ट्रम्पको चुनावी सभालाई सम्बोधन गर्दै मिल्लरले भनेका थिए : अमेरिका अमेरिकीहरुको लागि हो, मात्र अमेरिकीहरुका लागि।
करिब ५ मिनेट सम्बोधनका क्रममा उनको रोष आप्रवासीहरुमा नै थियो। उनी अवैध आप्रवासीलाई जसरी पनि अमेरिकाबाट फिर्ता पठाउन चाहने मुडमा देखिन्थे त्यसबेला। त्यही बेला धेरै विश्लेषकले मिल्लरको कुरालाई कम आँक्न नहुने बताएका थिए।
मिल्लर सरकारी संयन्त्रबाट काम फत्ते गराउन पनि सिपालु छन्। त्यसैले त इलन मस्क मिल्लरलाई ‘डियोर’ भन्छन्, अर्थात काम सम्पन्न गराउन सक्ने खप्पिस व्यक्ति।
ट्रम्पको पहिलो कार्यकालमा मुस्लिम समुदायमाथिको प्रतिबन्ध र ‘फेमिली सेपरेसन’ को मुख्य आर्टिटेक्ट उनै मिल्लर रहेको अमेरिकी विश्लेषकहरु बताउँछन्। अब उनको नजर मात्र आप्रवासीको डिपोर्टेसनमा छ।
हाउस अफ रिप्रिजेन्टेटिभका पूर्व रिपब्लिकन स्पिकर न्यूट गिन्गरिच मिल्लरबारे भन्छन, ‘राष्ट्रपति ट्रम्पसँग काम गर्ने उनी सबैभन्दा बुद्धिमानहरुमा एक हुन्।’ मिल्लरका ‘क्रिटिक’हरु उनलाई ‘बिग थिंकर’ र ‘मास्टरमाइन्ड’ पनि भन्छन् तर आप्रवासीप्रति उनको सोच धेरैलाई अमानवीय नै लाग्छन्। पत्रकार जिन गुरेरोले मिल्लरको बायोग्रीफीको शीर्षकनै ‘हेडमंगर’ राखेकी थिइन्।
‘उनी ट्रम्प पनि निकै वफादार छन्। उनी राष्ट्रपति (ट्रम्प) माथि विश्वास गर्छन्। उनको वफादारिता निकै लोभलाग्दो छ,’ मिल्लरलाई लामो समयदेखि चिन्ने आप्रवासीमाथि अध्ययन गर्दै आएका स्टेभेन कामारोटा भन्छन्।
सन् २०२४ को यस्तो कुनै चुनावी सभा थिएन जहाँ मिल्लरले ट्रम्प फेरि ह्वाइट हाउस फर्किन्छ भनेर नभनेको होस्। ती सबै सभामा उनले वाचा गरेको मुख्य विषय नै ट्रम्पको मास डिपोर्टेसन योजना लागू गर्नु थियो। मिल्लरको उदयको कारण अहिले अमेरिकीहरुमा आप्रवासीहरुमाथिको नकारात्मक दृष्टिकोणमा आएको परिवर्तन रहेको विशेषज्ञहरु बताउँछन्। उनी त्यही दृष्टिकोणलाई आफ्नो प्रमुख हतियार बनाएर ट्रम्पसँग हिँडिरहेका छन्।