काठमाडौं । काठमाडौंमा सुकेधारामा निर्माण भएको मर्क्योर होटल संचालनमा आएको छ। आज प्रधानमन्त्री केपी शर्मा ओलीले होटलको शुभारम्भ गरेका हुन्।
होटेलको आज उद्घाटन गर्दै ओलीले पर्यटन उद्योगको विकासका लागि सरकारका तर्फबाट हरसम्भव सहयोग हुने प्रतिबद्धता व्यक्त गरेका थिए।
हस्पिटालिटी क्षेत्रमा विश्वकै चर्चित ब्राण्ड मर्क्योरको फूटप्रिन्ट नेपालमा पनि आएको छ। त्यो ब्राण्ड ल्याउने उद्यमी हुन्, देशबन्धु बस्नेत। विदेशमा अध्ययन गरी केही वर्षअघि नेपाल आएर व्यवसाय थालेका बस्नेत जाम्बियाका अवैतानिक महावाणिज्यदूत हुन्।
मर्क्योरका ४५ वटा होटल ब्राण्ड छन्। सन् १९६७ मा फ्रान्सबाट सुरु भएको मर्क्योरको वैश्विक यात्रा ११० मुलुक छिचोल्दै नेपालको सुकेधारा हाइटमा आइपुगेको छ।
पढ्नुस : दुबई, सिंगापुर, अष्ट्रेलिया, अमेरिका हुँदै सुकेधारा हाइटमा आइपुगेको मर्क्योर
५ तारे स्तरको होटलमा एक वर्षभित्र क्यासिनो सेवा सञ्चालनमा ल्याउने योजना छ। ६ रोपनी क्षेत्रफलमा ३ अर्ब रुपैयाँभन्दा बढी लगानीमा तयार भएको होटलमा ६० वटा गाडी पार्किङ गर्न मिल्छ।
होटलको लबीमा बार र इटालियन रेष्टुरेन्ट छन्। अथेन्टिक स्वाद पस्किनका लागि इटालियन सेफ राखिएको छ। बेसमेन्ट सहित १४ तला रहेको होटलको ११ औं तलामा हिटेड स्वीमिङ पुल र इण्डियन रेष्टुरेन्ट छन्।
होटलमा एबी वन र एबी टु गरी क्रमश: ३० र २० जना क्षमताका दुईवटा मिटिङ रुम छन्। ११ र १२ तलाको बारबाट काठमाडौंसँगै ३६० डिग्रीमा हिमश्रृंखला दृश्यावलोकन गर्न सकिन्छ।
४०० जना क्षमताको बैंक्विट हल रहेको होटलसँग १०४ कोठा क्षमता छ। होटलले न्यूनतम १२० देखि ५०० अमेरिकी डलर रुम रेट निर्धारण गरेको छ। होटल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ मिनेटको दूरीमा पर्छ।