BIZMANDU
www.bizmandu.com

दुबई, सिंगापुर, अष्ट्रेलिया, अमेरिका हुँदै सुकेधारा हाइटमा आइपुगेको मर्क्योर, माघदेखि आउँदैछ संचालनमा


दुबई, सिंगापुर, अष्ट्रेलिया, अमेरिका हुँदै सुकेधारा हाइटमा आइपुगेको मर्क्योर, माघदेखि आउँदैछ संचालनमा
दुबई, सिंगापुर, अष्ट्रेलिया, अमेरिका हुँदै सुकेधारा हाइटमा आइपुगेको मर्क्योर, माघदेखि आउँदैछ संचालनमा


काडमाडौं। दुबईको वार्षा हाइटमा मर्क्योर होटल संचालनमा आएको केही वर्ष भयो। त्यो होटलको डिलक्स सुइटबाट दुबई मरिना र पाम जुमेरा देख्न सकिन्छ। दुबईमा रहेको होटल पर्यटकको रोजाईमा पर्छ।

Tata
GBIME
NLIC

सिंगापुरमा मर्क्योर स्टेभन, बगिस र रोक्सी तीन होटल संचालनमा छन्। छिमेकी मुलुक भारतका विभिन्न सहरमा मर्क्योर ब्राण्डका ४०० भन्दा बढी होटल छन्। भारतका पर्यटकीय र बिजनेस सेन्टर भएका स्थानमा मर्क्योर ब्राण्डका होटलले राम्रो व्यापार गरिरहेका छन्।

एसियामा मात्रै होइन युरोप, अमेरिका, अष्ट्रेलिया, चीन लगायतमा यो ब्राण्ड चर्चित छ। हस्पिटालिटी क्षेत्रमा विश्वकै चर्चित ब्राण्ड मर्क्योरको फूटप्रिन्ट नेपालमा पनि आएको छ। त्यो ब्राण्ड ल्याउने उद्यमी हुन्, देशबन्धु बस्नेत। विदेशमा अध्ययन गरी केही वर्षअघि नेपाल आएर व्यवसाय थालेका बस्नेत जाम्बियाका अवैतानिक महावाणिज्यदूत हुन्।

नेपाल उद्योग वाणिज्य महासंघको राजनीतिमा बलियो उपस्थिति जनाइसकेका उनी हस्पिटालिटी क्षेत्रमा युरोपेली ब्राण्ड भित्र्याएर नेपालको पर्यटन क्षेत्रलाई भाइब्रेन्ट बनाउने प्रयासमा लागेका छन्।

मर्क्योरका ४५ वटा होटल ब्राण्ड छन्। सन् १९६७ मा फ्रान्सबाट सुरु भएको मर्क्योरको वैश्विक यात्रा ११० मुलुक छिचोल्दै नेपालको सुकेधारा हाइटमा आइपुगेको छ।

भारतीय वास्तुकारको कल्पनामा नेपाली मौलिकता मिसिएको होटलमा पाँचवटा विशिष्ट आउटलेट छन्। होटल नेपाली कला र संस्कृतिको जीवन्त प्रतिबिम्ब हो।

विश्वकै ५ उत्कृष्ट अन्तर्राष्ट्रिय चेनभित्र पर्न सफल एकोरले संसारभर ५५८४ वटा होटलको व्यवस्थापन गर्दै आएको छ।

झण्डै ३ लाख जनशक्ति आवद्ध यो अन्तर्राष्ट्रिय ब्राण्डलाई एबी होल्डिङले भित्र्याएको हो। ‘हामीले खोज अध्ययन गरेको आधारमा एकोरको विश्वव्यापी पहुँचकै कारण मर्क्योर ब्राण्ड भित्र्याएका हौं,’ बस्नेतले बिजमाण्डूसँग भने, ‘युवा भएको हिसाबले यो युथ ब्राण्डलाई व्यवस्थापनका लागि ल्याएका हौं।’

होटलले मर्क्योरसँगको सहकार्यमा स्थानीय संस्कृति र परिकारलाई समावेश गरेको छ।

विश्वभर १ हजारभन्दा बढी होटल व्यवस्थापन गर्दै आएको मर्क्योर अन्तर्गत ‘मर्क्योर काठमाडौं’ विश्वकै उत्कृष्ट बनाउने उद्देश्य रहेको बस्नेतले बताए।

‘मर्क्योर आउँदा सुकेधारा हाइट नै विश्वको मानचित्रमा पर्न सफल भएको छ,’ उनले भने, ‘हामीले होटल निर्माणका साथै वरपर सुन्दर बनाएका छौं। पुरातात्विक सम्पदाको संरक्षणलाई पनि जोड दिएका छौं।’

भारतीय आर्किटेक्टको परामर्शमा देशको संस्कृति, परम्परा झल्कने गरी इन्टेरियर डिजाइन गरिएको उनले जानकारी दिए।

‘मुलुकमा दुईवटा व्यवसायले आर्थिक सुधार हुन्छ। त्यो पर्यटन र सूचना प्रविधि हो। यी दुई क्षेत्रमा हामीलाई कसैले रोक्न सक्दैन,’ उनले भने, ‘प्रतिस्पर्धा भए पनि सेवा दिने दिगो बन्न सक्छ।’

माघ २ गते ओपनिङ

होटलको ग्राण्ड ओपनिङ माघ २ गते गर्ने योजना छ। ५ तारे स्तरको होटलमा एक वर्षभित्र क्यासिनो सेवा सञ्चालनमा ल्याउने योजना रहेको बस्नेतले बताए।

‘क्यासिनो सञ्चालनका लागि विभिन्न क्षेत्रबाट प्रस्ताव आइरहेको छ। हामी अध्ययनमा छौं। क्यासिनो लगायत अतिरिक्त सेवाका लागि हामीले थप जग्गा किनिसकेका छौं,’ उनले भने, ‘एक वर्षभित्र क्यासिनो पनि सञ्चालनमा ल्याउँछौं।’

६ रोपनी क्षेत्रफलमा ३ अर्ब रुपैयाँभन्दा बढी लगानीमा तयार भएको होटलमा ६० वटा गाडी पार्किङ गर्न मिल्छ।            

होटलको लबीमा बार र इटालियन रेष्टुरेन्ट छन्। अथेन्टिक स्वाद पस्किनका लागि इटालियन सेफ राखिएको छ। बेसमेन्ट सहित १४ तला रहेको होटलको ११ औं तलामा हिटेड स्वीमिङ पुल र इण्डियन रेष्टुरेन्ट छन्।

होटलमा एबी वन र एबी टु गरी क्रमश: ३० र २० जना क्षमताका दुईवटा मिटिङ रुम छन्। ११ र १२ तलाको बारबाट काठमाडौंसँगै ३६० डिग्रीमा हिमश्रृंखला दृश्यावलोकन गर्न सकिन्छ।

४०० जना क्षमताको बैंक्विट हल रहेको होटलसँग १०४ कोठा क्षमता छ। होटलले न्यूनतम १२० देखि ५०० अमेरिकी डलर रुम रेट निर्धारण गरेको छ। होटल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ मिनेटको दूरीमा पर्छ।

बस्नेत इन्जिनियर पनि भएका कारण होटल आकर्षक रुपमा निर्माण गर्न सघाउ पुगेको देखिन्छ। उनले एबी इन्फ्रा डेभलपरमार्फत ठूला परियोजना पनि निर्माण गरिरहेका छन्।