BIZMANDU
www.bizmandu.com

ब्यालेन्स सिटमा वित्तीय अवस्था लुकाएको बाहिरिएपछि विकास बैंक र फाइनान्सको सेयरमा पहिरो

२०८१ पुष १६

ब्यालेन्स सिटमा वित्तीय अवस्था लुकाएको बाहिरिएपछि विकास बैंक र फाइनान्सको सेयरमा पहिरो
ब्यालेन्स सिटमा वित्तीय अवस्था लुकाएको बाहिरिएपछि विकास बैंक र फाइनान्सको सेयरमा पहिरो


काठमाडौं। विकास बैंक र फाइनान्स कम्पनीहरुले पहिलो त्रैमासमा सार्वजनिक गरेको ब्यालेन्स सिटमा वास्तविक वित्तीय अवस्था लुकाएको बाहिरिएपछि त्यसको असर सेयर मूल्यमा परेको छ।

Tata
GBIME
NLIC

कर्णाली डेभलपमेन्ट बैंक कारबाहीमा परेपछि बाहिरिन थालेको खराब वित्तीय अवस्थाको असर विकास बैंक र फाइनान्स कम्पनीको सेयरमा परेको हो।

कम्पनीहरुको खराब कर्जा लुकाइएको विषयमा विकास बैंक र फाइनान्सका सीइओहरु बैठकमा व्यस्त हुन थालेपछि यसको जानकारी लगानीकर्तासम्मै पुगेको छ।

संस्थाहरुमा खराब कर्जा चुलिएको विषयमा सीइओहरुले आन्तरिक छलफललाई तीव्रता दिएपछि यसले खराब सूचक भएका कम्पनीका लगानीकर्तालाई त्रसित बनाएको छ। त्यहीकारण सबैजसो विकास बैंक र फाइनान्सको सेयर मूल्य घटेको हो।

मंगलबार १५ वटै फाइनान्स कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ। यस्तै १३ वटा विकास बैंकका लगानीकर्ताले गुमाएका छन्।

मंगलबार नेप्से ३३.०८ अंकले ओरालो लाग्दा फाइनान्सको सूचक ५.१९ प्रतिशतले ओरालो लागेको छ भने विकास बैंकको सूचकमा २.७७ प्रतिशत गिरावट आएको छ। जानकी र पोखरा फाइनान्सको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ।

गुहेश्वरी फाइनान्सको सेयर मूल्य ९.३४ प्रतिशतले घटेको छ। १३ वटा विकास बैंकको मूल्य घट्दा नारायणीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ।

कर्णाली डेभलपमेन्टमाथि कारबाहीपछि विकास बैंक र फाइनान्सको सेयर मूल्य गत आइतबार र बिहिबार पनि घटेको थियो।

राष्ट्र बैंकले संकटग्रस्त घोषणा गरेर व्यवस्थापन नियन्त्रणमा लिनुअघि कर्णाली डेभलपमेन्ट बैंकले पहिलो त्रैमासमा ७.२७ प्रतिशत मात्रै निष्कृय कर्जा देखाएको थियो।

कर्णालीले पहिलो त्रैमासमा सार्वजनिक गरेको वित्तीय विवरण र राष्ट्र बैंकले नियमनमा भेट्टाएको वित्तीय अवस्थाबीच आकाश जमिनको अन्तर छ।

राष्ट्र बैंकले कर्णालीको खराब कर्जा ४०.८५ प्रतिशत पुगेको पाएको थियो। जसका कारण राष्ट्र बैंकले कर्णालीलाई गत साता संकटग्रस्त घोषणा गरेर व्यवस्थापन नियन्त्रणमा लिएको थियो।

ब्यालेन्स सिटमै वित्तीय अवस्था कमजोर रहेका कम्पनीहरुको वास्तविकतालाई लिएर लगानीकर्तामा त्रास देखिएको छ। नरायणी डेभलपमेन्टको निष्कृय कर्जा ३४.८१ प्रतिशत छ।

सप्तकोशी डेभलपमेन्ट बैंकको निष्कृय कर्जा १४.७७ प्रतिशत छ। एक्सल डेभलपमेन्ट, सिन्धु विकास र ग्रिन डेभपलमेन्टको वित्तीय अवस्था पनि कमजोर छ। फाइनान्सतर्फ जानकीको खराब कर्जा ३४.६४ प्रतिशत छ। समृद्धि, गुहेश्वरी, पोखरा र गोर्खाज फाइनान्सको पनि वित्तीय अवस्था निक्कै कमजोर छ।