काठमाडौं । भीषण वर्षाले बाढीपहिरो जाँदा नागरिकहरु घरबारविहीन बन्दै थिए। २०० भन्दा बढीले ज्यान गुमाए। पानी रहेर वातावरण अनुकूल बन्दा पनि अलपत्र परेका यात्रुको अझैसम्म पनि उद्धार हुन सकिरहेको छैन। थातथलो छाडेर हिँडेकाहरु अझैपनि अलपत्र अवस्थामा छन्।
यो आमनागरिकले पाएको दु:खको कथा हो।
अर्कातिर विदेश भ्रमणबाट फर्किएका प्रधानमन्त्री केपी ओलीको स्वागतमा उच्च पदस्थ अधिकारीहरूको भीड उर्लियो। कार्यवाहक प्रधानमन्त्री, सभामुख, मन्त्रीहरुको लामो लाइन विमानस्थलको रेडकार्पेट नाघेर गेटसम्म पुग्यो।
यो विरोधाभासले राज्यको चरित्र र प्रकृतिलाई नै उजागर गरेको छ।
संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका गएका प्रधानमन्त्री १० दिनसम्म अल्मलिनु पर्ने कारण थिएन। उनी झन्डोत्तलनतिर लाग्दा देशमा बाढीले ध्वंस गरिसकेको थियो। जसै फर्किएर अभिभावकको भूमिका निर्वाह गर्छन् कि भन्ने थियो तर चिरपरिचित स्वभावमा चुक छर्किए- म अमेरिका भैँसी दुहुन गएको होइन। पानी पर्छ भन्ने पो थाहा थियो त, बाढीपहिरो जान्छ भन्ने थाहा थियो र?
यसपाला विपत्ति ढोल बजाएर नै आएको थियो। सम्भावित दुर्घटनाका लागि चाहिने पर्याप्त संकेत र सतर्क रहनुपर्ने संदेशसहित भित्रिएको थियो। बाध्यात्मक अवस्था थियो र त नागरिकहरु रातिराति कष्टपूर्ण यात्रामा लागे। घरभित्रै सुरक्षित हुन बसेकाहरु पनि पहिरोमा पुरिए।
काभ्रेका गाउँ सिंगै सोत्तर हुँदासम्म राज्यले चालै पाएन। राज्यलाई झक्झक्याउनेहरुले अवरुद्ध भएको सडक पार गर्न सकेनन्। बिजुलीका पोल पहिरो र बाढीसँगै बगेकाले अन्धकार भयो। टेलिफोनले आफ्नै नेटवर्क भेट्टाएन।
सडकदेखि संचारसम्म अवरुद्ध हुनेगरी बाढीपहिरोले पीडितहरु विलखबन्दको सिकार भए। उनीहरुको नजर थियो – देशमा अहिलेसम्मकै बलियो र शक्तिशाली सरकार छ। उद्धार हुनेछ।
धुलिखेल अस्पतालमा हेलिबाट उतारिएका महिला र नाबालकका दृश्य फेसबुकमा पोस्ट गरेपछि टिप्पणीकारसँग काभ्रेका पत्रकार ईश्वरी ओझाले भनेका थिए, ‘कुन गाउँमा कति मानिस मरे, कति घर बगे भन्नेसम्म केही पत्तो छैन। कतै फोन लाग्दैन, सडक छैन, सम्पर्कै गर्न सकिएन।’
प्रधानमन्त्री केपी शर्मा ओली अमेरिका यात्रामै थिए। तर कार्यवाहक प्रधानमन्त्री क्लबको उद्घाटनमा व्यस्त भइदिए। गृहमन्त्री व्यवस्थापनमा होइन पत्रकार सम्मेलन गर्न हतारिए। विपद् व्यवस्थापनका हाकिमदेखि, प्रहरी प्रमुखसम्म विदेश। कर्मचारी प्रशासनका प्रमुख बढुवा भएको खुसियाली मनाउन गृहजिल्लामा अबिर जात्रा गरिरहेका थिए। राजधानीबाट १ घन्टाकै दूरीमा पुग्न सकिने काभ्रेका गाउँहरु सरकारविहीन बने।
पढ्नुस : जहाँका भत्किएका घरले गराउँछ राज्यविहीनताको महसुस, ‘ज्यान जोगियो, अरू आस छैन’
काठमाडौं उपत्यका र केही हदसम्म राजमार्गतिरमात्रै अल्मलियो राज्य। जतिखेर पनौतीको भूमिडाँडाका मानिस बगेको घरमुनि जीवित छन् कि भनेर माटो, ढुंगा खोस्रिँदै राज्यबाट उद्धार हुने आशा गरिरहेका थिए, ठीक त्यतिखेर मुख्य सचिव एकनारायण अर्याल स्याङ्जामा सम्मान थाप्दै पञ्चेबाजाको धुनमा मस्त थिए।
कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंह माला पहिरिएर राजधानीमा औपचारिक कार्यक्रमतिर हल्लिँदै थिए – मन्द मुस्कान सहित।
ठीक त्यतिखेर उद्धारमा खटिएका सुरक्षाकर्मी खुकुरीले नागढुंगामुन्तिर राजमार्गमा ढलेको विशाल रुख छ्याक्क छ्याक्क पारिरहेका थिए- टुक्र्याउने प्रयासमा। नजिकै टेकुमा इलेक्ट्रिक र इन्धनबाट चल्ने अत्याधुनिक आराहरु बिक्रीका लागि झुन्डिरहँदा १२ किलोमिटरको दुरीमा खुकुरी चलिरहेको दृश्य आफैँमा टीठलाग्दो थियो।
तीन तीनवटा बस एकै घानमा छोपिए – झ्याप्ले खोलाको पहिरोमा। भोलिपल्ट बसका टुक्रा र शवहरु निकाल्दै गर्दा सरकार अल्मलिएको थियो – पहिरोमा अरु पनि बस छन् कि? अरु पनि शव भेटिन्छन् कि? कति ठाउँमा पहिरो छ, कति जना बीचमा फसेका छन्, घर कति बगे, कति डुबे? अहिलेसम्म पनि यकिन तथ्यांकबाट राज्य दूर छ।
राजधानीका घरमा छिरेको पानी, नदी किनाराका बस्ती त छाडौं – घन्टौं गुहार्दा पनि उद्धार नपाएको नख्खु क्षेत्रका मजदुर बगाएको दृश्यले सरकारलाई अलिकति पनि दुखाएन। मृदुभाषी गृहमन्त्री रमेश लेखकले सुरुमै भन्दिए – भिजिबलिटी नहुँदा तिनको उद्धार हुन सकेन। दुई दिनपछि उनैले दोष चाहिँ सेनातिर पन्छाए – ‘सेनाले भिजिबलिटी छैन, सकिन्न भन्यो’। गृहले रक्षा, रक्षाले गृह देखाउँदै – ‘राजनीतिक घेराबन्दी नगर्न’ भन्दै प्रतिरक्षामा उत्रिए सरकारका मन्त्रीहरु।
प्रधानमन्त्री देशमा नहुँदा तत्कालको परिस्थिति मूल्यांकन गर्नुपर्छ र उद्धारमा निर्णय लिनुपर्छ भन्ने चेत सरकारमा बसेकाहरुको हुन्थ्यो भने – झरी नथामिँदै उपप्रधानमन्त्री माला लगाएर मुस्काउँदै हिड्थेनन्। मुख्य सचिव पञ्चेबाजामा रम्थेनन्। काभ्रेमा सेनाले ठाउँ ठाउँबाट हेलिकप्टरबाट मानिस ओसार्यो। प्रहरी जवानहरु जे औजार छ त्यसैका बलमा भिडिरहे।
तिनीहरुसँग यतिसम्म अभाव रहेछ कि बाढीमा फसेकालाई तान्न डोरी समेत उपलब्ध भएन। आपतका बीच यिनै दृश्य देखिरहेका जनता सरकारको कार्यक्षमता र कार्यदक्षता हेरेर ‘रोम र निरो’को कथा सम्झिँदै थिए। झरीबाट प्रभावित नहुने कोही थिएन। केन्द्रीय सत्ताको नाकैमुनि ध्वंस बेहोरिरहेका जनता निमुखा देखिए।
रिङरोडबाट सिंहदरबारतिर खुम्चिँदै गरेको प्रतीत भयो राज्य संयन्त्र। तालमेलमा ‘रिदम’ मिलाउन नसक्ने सुरक्षा संयन्त्र, समन्वयविहीन प्रदेश र स्थानीय तह सबैको मूल्यांकन एकै पटक भयो। बाढीको यस्तै बबण्डर कर्णाली वा सुदूरपश्चिमतिर भएको भए के हुन्थ्यो? सुविधासम्पन र केन्द्रीय सरकारको सामुन्नेका दृश्यले जवाफ दिइरहेको थियो।
बाढी र पहिरोको विद्रुप दृश्यकै बीचमा टुप्लुक्क आयो – प्रधानमन्त्री केपी शर्मा ओलीको तस्बिर। मन्द मुस्कानसहित कन्सुलर कार्यालयमा झन्डोत्तलन। नेपाल फर्केपछि झन्डा झुकाउने निर्णय गर्ने प्रधानमन्त्रीको कुन मनले झन्डोत्तलन गर्न प्रेरित गरेको होला? सुन्दा भावनात्मक लाग्छ तर यथार्थ यही हो।
जनता पीडामा रन्थनिँदा कुनै पनि प्रधानमन्त्री होलिडे मुडमा रमाइरहेको दृश्य बाढीले पारेको तहसनहसभन्दा बढी असह्य महसुस गराउने हुन्छ। प्रधानमन्त्री नहतारिइ देशमा ओर्लिए, पूर्ववत् भ्रमण सूचीअनुसार।
उनी ओर्लिँदा अरु सबैको हवाई यात्रामाथि लगाम लाग्यो। बाढीपहिरोको बबण्डरले राजधानीमा नाकाबन्दी छ – चर्को मूल्यमा हवाई यात्राको विकल्प छैन। त्यसमा पनि राजकीय सम्मान दिन सबैका हवाई यात्रा ठप्प! यो ठप्प पार्ने काममा ओलीको चाह थियो भने पनि राज्यका संयन्त्रले उनलाई कन्भिन्स गराउन सक्नुपर्थ्यो परिस्थितिबारे। रातभर आन्तरिक उडानको जोखिम मोल्नुपर्ने अवस्था नआउन सक्थ्यो। तर, शासकको रवाफ चाहने नेतृत्व र तिनको चाकरीमा आफूलाई समर्पित गर्न तयार सिंगो राज्य संयन्त्र भएपछि के चाहियो? सबै मिलेकै त छ।
समग्र समाज यतिखेर देशको राजनीतिजस्तै छ। राष्ट्रसंघको बैठकमा गएका प्रधानमन्त्री फर्किँदा सोध्ने प्रश्न के हुन्छ? नेताजस्तै छन् संचारकर्मी। ठाउँ न ठहरका प्रश्न उत्रिन्छन्। तिनमा संवेदना कम, ‘क्लिकबेट’को लक्ष्य ज्यादा रहन्छ। अनि उत्तर दिने प्रधानमन्त्री पनि काइते प्रश्न सोध्ने संचारकर्मीकै हैसियतका छन्।
निर्लज्ज भन्दिन्छन् – ‘भैसी दुहन गएको हो र?’ नेपालमा गएको बाढी र पहिरोले मलिन अनुहारका दृश्य विदेशी संचार माध्यममा छापिएका छन्। तिनै संचारकर्मीले प्रधानमन्त्रीको यस्तै जवाफ सुनेर के ठान्लान्? पत्रकारका प्रश्नको मर्यादाबारे के सोच्लान्? ‘पहिरो कुन कुन ठाउँमा जान्छ भनेर भनेको थियो त?’ भन्दै प्रतिप्रश्न गर्ने प्रधानमन्त्रीलाई विदेशीमात्र होइन, अभिभावक फर्किँदा केही राहत पाइएला कि भन्दै अपेक्षा गरिरहेका उनकै दलका कार्यकर्ताले के भन्लान्?
अमेरिकामा रहँदा देशको कार्यकारी प्रमुखको कार्यक्रम नेपालीकै कारण अवरुद्ध भयो। जुनसुकै दलका भए पनि केपी शर्मा ओली देशका प्रधानमन्त्री हुन् र उनले देशको प्रतिनिधित्व गरिरहेका थिए। उनीमाथि अमेरिकामा रहेका केही नेपालीले जे गरे त्यो आलोचनाको विषय थियो। तर, जसरी ओली देशमा उत्रिएपछि प्रस्तुत भए – उनको विरोध गर्नेहरुको अभिष्ट पूरा भयो। उनको पक्षमा आशा गरिरहेका बाढीपहिरो पीडित आफैं लज्जित हुनपुगे।
पढ्नुस : रोशीको बहावले तहसनहस भएको पनौतीको यो भेग, जहाँ पुगेको छैन राज्यको नजर
सत्ता नै सर्वोपरि ठान्ने नेता, नेतृत्वहीन समाज, प्रतिपक्षमा पुगेपछिमात्र जनताको मुद्दा सम्झने दलहरु रहेसम्म नियमित आकस्मिकता बनिरहने छ- बाढीपहिरो। पीडामा परिरहने छन् जनता। तिनै पीडाका अनेकन दृश्यमा ‘स्टन्ट’ गर्दै उदाइरहने छन् नयाँ शक्तिहरु।
प्रधानमन्त्री फर्किँदा आकाशदेखि सडकसम्म ठप्प पारेर बुके लिँदै विमानस्थल अगाडि नतमस्तक भइरहने छन् उपप्रधान मन्त्रीहरु। मन्त्रीहरु। मुख्य सचिव र सचिवहरु। सिंगो राज्य विमानस्थलमा त्यसरी नै लामबद्ध हुन्छ जसरी बाटो खुल्ने आशमा भोक र प्यास सहँदै भत्किएको पहिरो कोतर्दै गरेको डोजर निरीह भएर हेरिरहेका हुन्छन्, यात्रुहरु। र, चलिरहन्छ – आफ्नो अभिष्ट पूरा गर्ने होडबाजी।
इटालियन राजनीतिक दार्शनिक निकोलो माकियाभेलीले भनेका छन् ‘एक शासक जसले आफ्नो राज्यको सुरक्षा र कल्याणलाई बेवास्ता गर्छ, उसले आफ्नो पदको सम्मान गुमाउँछ।’
यसैपनि सम्मान त खासै थिएन। बचेखुचेको पनि बाढीले बगाइदिएको छ। पहिरोले पुरिदिएको छ।