काठमाडौं । वित्तीय संकटमा परेको सौर्य एयरलाइन्सलाई ‘फेबर’ गरिदिन नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) माथि दुई वर्षअघि राजनीतिक दबाब आयो।
नेपाली कांग्रेसका उच्च तहकै नेताले टेलिफोन गरेर सौर्य एयरलाइन्सलाई तत्काललाई केही छुट दिन दबाब दिएका थिए। एयरलाइन्सका अध्यक्ष दीपक पोखरेल हुन्। पोखरेलको घर झापा हो। पोखरेल र ती कांग्रेस नेताको घर नजिकै पर्छ। चुनावदेखि घर व्यवहार चलाउन सहयोग गर्दै आएका पोखरेलको ‘गुन’ तिर्न ती नेताले उड्डयन सुरक्षालाई ध्यान दिएनन्। सत्ता र शक्तिको आडमा प्राधिकरणलाई दबाब दिए।
उड्डयनजस्तो संवेनदशील विषयमा राजनीतिक दलका नेताहरुले दिने दबाबले ठूलो मानवीय मूल्य चुकाउनुपर्छ भन्ने बुधबारको घट्नाले पुष्टि गर्छ। सौर्य एयरलाइन्स आर्थिक संकटमा परेको संचालनमा आएको २ वर्षमै हो। सुपारी व्यापारबाट चम्किएका पोखरेलको समूहलाई एयरलाइन्स चलाउने सोख पलायो।
भारतमा भन्दा नेपालमा भन्सार सस्तो भएपछि तेस्रो मुलुकबाट सुपारी ल्याएर अवैध रुपमा निकासी गर्ने धन्दा सुरु भयो। त्यो धन्दाबाट पोखरेलको समूहले कुस्त पैसा कमायो। सजिलो कमाईले हवाईजहाजजस्तो ‘क्यास अर्निङ’ व्यवसायमा उनीहरुले हात हाले।
‘बिलेनियरबाट मिलेनियर’ बन्न समय नलाग्ने व्यवसाय यो समूहको वशमा थिएन। संचालनमा आएको तीन वर्षमै यो एयरलाइन्स बिक्री भएको घोषणा भयो। ऋण बढेर ६५ करोड पुगेपछि खोजेको साझेदार पनि आएन। त्यसको दुई वर्षमा भारतको कुबेर समूहको लगानी भित्र्याएको घोषणा गरियो।
कर्मचारीको तलबदेखि विमानस्थल शुल्क बुझाउन नसकेर संकटमा परेको कम्पनीलाई कुबेर समूहको लगानीले केही राहत भयो। कुबेर समूहले ७५ प्रतिशत स्वामित्व लिए पनि फाइदा हुने खालको जहाज किनिएन।
व्यापार बढाउन नसकेपछि सहज हुने कुरा भएन, कम्पनी फेरि पनि आर्थिक संकटमा पर्यो। उसले विराटनगर र भद्रपुर बाहेकका गन्तव्यमा जहाज उडाउनै छोड्यो। भैरहवा, नेपालगञ्ज र धनगढीका उडान कटौतीमा परे।
मासिक ६ करोड नोक्सानीको अवस्थामा पुगेपछि कम्पनी कर्मचारीलाई समयमै तलब दिन नसक्ने अवस्थामा पुग्यो। कम्पनीले १३ महिनाअघि ४० कर्मचारीलाई बिदा दियो।
नियामक क्यानले गरेको वित्तीय अडिटमा कम्पनीको अवस्था राम्रो देखिएन। वित्तीय अडिटमा कमजोर देखिने कम्पनीलाई क्यानले उडानमा रोक लगाउन सक्छ।
क्यानभित्र वित्तीय स्थिति संकटग्रस्त हुँदा उडान सुरक्षामा जोखिम निम्तिन सक्ने भन्दै सौर्यलाई उडानमा रोक लगाउने विषयमा छलफल भयो। तर, पोखरेलले राजनीतिक शक्ति प्रयोग गरे। सौर्यको उडान रोकिएन। वित्तीय अडिटमा फेल भएबापत गुण एयरलाइन्सको उडानमा भने रोक लगाइएको थियो।
कुबेर समूहका अध्यक्ष विकास मालुले एक वर्षदेखि नै नोक्सानी थेग्न नसक्ने बताउँदै आएका थिए। उनले पोखरेललाई खर्च कटौती गर्न भने। तर त खर्च कटौती गरियो, न त एटीआर जहाज ल्याएर व्यापार बढाउने काम भयो। कम्पनी संकटकै अवस्थाबाट गुज्रिरह्यो।
उडान सुरक्षामा वित्तीय संकट र जहाजको नियमित मर्मत सम्भारको ठूलो अर्थ हुन्छ। आर्थिक संकटमा पर्ने कम्पनीले तालिका अनुसार जहाज मर्मत सम्भार गराउन र कर्मचारीलाई समयमा तलब दिन नसक्ने तथा त्यसको असर उडान सुरक्षामा पर्ने भएकैले यी दुवै पाटोलाई गम्भीर रुपमा लिइन्छ। हवाई सुरक्षाजस्तो अत्यन्तै संवेदनशील विषयमा समेत राजनीतिक नेतृत्वले दिने दबाब चर्को छ।