BIZMANDU
www.bizmandu.com

ओलीलाई प्रधानमन्त्री बनाउन देउवासहितको हस्ताक्षर संकलन, राष्ट्रपतिले आह्वान गर्नासाथ पेस गर्ने

२०८१ असार २८

ओलीलाई प्रधानमन्त्री बनाउन देउवासहितको हस्ताक्षर संकलन, राष्ट्रपतिले आह्वान गर्नासाथ पेस गर्ने
ओलीलाई प्रधानमन्त्री बनाउन देउवासहितको हस्ताक्षर संकलन, राष्ट्रपतिले आह्वान गर्नासाथ पेस गर्ने

काठमाडौं। नयाँ सरकार गठनको बाटो खुलेसँगै संसद्का सबैभन्दा ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेले राष्ट्रपतिसमक्ष दाबी पेस गर्ने तयारी गरेका छन्।

Tata
GBIME
Zonsen

उनीहरुले संविधानको धारा ७६ को उपधारा २ अनुसार एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री नियुक्त गर्नका लागि दाबी पेस गर्ने तयारी गरेका हुन्।

यसका लागि उनीहरुले सांसदहरुको हस्ताक्षर संकलन गरेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्न नसकेर पदमुक्त भएसँगै शुक्रबार संसद् भवनमा कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीले पनि राष्ट्रपति कार्यालयमा बुझाउने दाबी पत्रमा हस्ताक्षर गरेका छन्।

हस्ताक्षर गर्दै शेरबहादुर देउवा

राष्ट्रपति रामचन्द्र पौडेलले सरकार गठनका लागि आह्वान गरे लगत्तै दाबी पेस गर्ने तयारी रहेको कांग्रेस र एमालेका नेताहरुले बताएका छन्।

प्रचण्डले विश्वासको मत प्राप्त गर्न नसकेको पत्र सभामुख देवराज घिमिरेले पठाएपछि राष्ट्रपति पौडेलले सरकार काम चलाउ भएको पत्र जारी गर्न लगाइसकेका छन्।

राष्ट्रपतिले सभामुखको पत्रपछि सरकार गठनका लागि संविधानको कुन व्यवस्था अन्तर्गत आह्वान गर्ने भन्ने विषयमा संविधानविदसँग परामर्श गरेका छन्। उनले पूर्णमान शाक्य, शेरबहादुर केसी, सीताराम केसी, गोपालकृष्ण घिमिरे, डा. विपिन अधिकारी, डा. चन्द्रकान्त ज्ञवाली र टीकाराम भट्टराईलाई बोलाएर परामर्श गरेका हुन्।

सात जनामध्ये ६ जनाले संविधानको धारा ७६ उपधारा २ अनुसार नै सरकार गठन गर्नका लागि आह्वान गर्न सुझाव दिएका छन्। यो उपधारामा २ वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्ने नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छ।

डा. ज्ञवाली बाहेकका कानुन व्यवसायीले दलहरुले बहुमत सांसदको समर्थन प्राप्त उम्मेदवार अगाडि सारेको अवस्थामा उपधारा ३ मा नजान सुझाव दिए। यस्तै संविधानविद् डा. अधिकारीले एक कदम अघि बढेर धारा र उपधारा नै उल्लेख नगरी सरकार गठनका लागि आह्वान गर्न सुझाव दिए।

तर, ज्ञवालीले भने राष्ट्रपतिसामु उपधारा २ अनुसार नियुक्त प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेको अवस्थामा उपधारा ३ मा जानुपर्ने बताए।

‘राष्ट्रपतिले संसद्‍मा कसले बहुमत प्राप्त गर्न सक्छ भनेर टेस्ट गर्न खोज्ने होइन। उपधारा २ अनुसारको प्रधानमन्त्री पदमुक्त भएको अवस्थामा उपधारा ३ अनुसार सरकार गठनको आह्वान हुनुपर्छ भन्ने संविधानको स्पिरिट हो। अन्यथा भए राष्ट्रपतिले राजनीति गरेको ठहर्छ। मैले संविधानको संरक्षकबाट त्यस्तो हुन्छ भन्ने कल्पना गरेको छैन,’ ज्ञवालीले राष्ट्रपतिलाई आफूले भनेको कुरा बिजमाण्डूलाई सुनाए, ‘तर ६ जना साथीहरु एकातिर र म अर्कातिर भयौं।’

यसअघि माओवादी केन्द्रका अध्यक्ष दाहाल पनि यही उपधारा अन्तर्गत प्रधानमन्त्री नियुक्त भएका थिए। उनी आफ्नो पक्षमा बहुमत देखाउन नसकेपछि पदमुक्त भएका हुन्।

उपधारा ३ मा भने सबैभन्दा ठूलो दलको संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छ। राष्ट्रपतिले यो उपधारा अनुसार सरकार गठनका लागि आह्वान गरे कांग्रेस सभापति देउवा प्रधानमन्त्री हुनेछन्। तर, कांग्रेसले असार १७ गते मध्यराति भएको सहमति अनुसार अहिले ओलीलाई नै प्रधानमन्त्री बनाउन चाहेको छ। त्यसैले कांग्रेस राष्ट्रपतिले उपधारा २ अनुसार नै सरकार गठनको आह्वान गरुन् भन्ने पक्षमा छ।

राष्ट्रपतिले सरकार गठनका लागि आह्वान गरिसकेका छैनन्। नयाँ सरकार बनाउने तयारीमा रहेका कांग्रेस र एमाले शुक्रबार रातिसम्म राष्ट्रपतिले निर्णय लिने विश्वासमा छन्।