काठमाडौं। चार वटा ठूला जलविद्युत् आयोजनामा लगानी गर्न लगानीकर्ताले आवेदन दिन अस्वीकार गरेका छन्। लगानी बोर्डले अघि सारेका चार वटा आयोजनामा एउटै आवेदन नपरेको हो।
२८१.०४ मेगावाट क्षमताको नौमुरे मल्टिपर्पोज, ६५० मेगावाट क्षमताको कालिगण्डकी–२ जलाशययुक्त आयोजना, १२१६ क्षमताको खिम्ती ठोस शिवालय जलाशययुक्त र ३३६.१ मेगावाट क्षमताको भारभुङ जलाशययुक्त जलविद्युत् आयोजनामा लगानीका लागि आशयपत्र मागिएकामा कुनैमा पनि आवेदन नपरेको हो।
लगानी बोर्डले गत वैशाख तेस्रो साता ३५ दिनको सूचना निकालेर आशयपत्र माग गरेको थियो। उक्त अवधिमा आशयपत्र नपरेपछि बोर्डले १ महिनाको म्याद थपेकामा कसैले पनि आशयपत्र पेस नगरेको बोर्डका अधिकारीहरुले बताएका छन्। बोर्डले आशयपत्र मागेका चार वटै आयोजना गत वैशाख १६ र १७ गते भएको लगानी सम्मेलनमा सोकेसमा राखिएका थिए।
नौमुरे मल्टिपर्पोज आयोजना बनाउन १ खर्ब २५ अर्ब, कालिगण्डकी-२ जलाशययुक्त जलविद्युत् आयोजना बनाउन १ खर्ब ३३ अर्ब, भारभुङ जलाशययुक्त जलविद्युत् आयोजनामा ७१ अर्ब र खिम्ती ठोस शिवालय जलाशययुक्त आयोजना बनाउन २ खर्ब ८९ अर्ब रुपैयाँ खर्च हुने अनुमान छ।
त्यतिखेर १२ वटा आयोजनाका लागि आशयपत्र मागिएकामा लगानीकर्ताले जानकी हेरिटेज होटेल एण्ड कल्चरल भिलेज र बबरमल प्रशासनिक प्लाजामा मात्र चासो देखाएका छन्।
बोर्डले आयशपत्र मागेका पोखरा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, चन्द्रागिरी-चित्लाङ-पालुङ-चितवन एक्सप्रेस वे, धुलिखेल मेडिसिटी, सुदूरपश्चिम पब्लिक यातायात, दैजी औद्योगिक पार्क र गौतम बुद्ध म्याटरनिटी अस्पताल निर्माणमा पनि लगानीकर्ताले चासो देखाएका थिएनन्।