काठमाडौं। आखिर बिजमाण्डूले दीपेन्द्र गुरुङको हिमालय जेटका विषयमा जे आशंका गरेको थियो, भयो त्यही।
हिमालय जेटका लागि काठमाडौंको जीएसए नियुक्त गरिएको भनिएको जेनिथ ट्राभलले एउटा सार्वजनिक सूचना जारी गरेर हिमालय जेटसँग जीएसएसम्बन्धी अनुबन्ध भंग गरेको घोषणा गरेको छ। हिमालय जेटले नेपालको उडान सम्बन्धमा विश्वसनीय तथ्य राख्न नसकेपछि अनुबन्ध भंग गर्ने निर्णयमा पुगेको जेनिथ ट्राभलले सार्वजनिक गरेको सूचनामा छ।
‘हामीले अनुबन्ध भंग गर्ने सम्बन्धी पत्राचार हिमालय जेटलाई गरिसकेका छौं,’ कम्पनीले जारी सार्वजनिक सूचनामा छ। हिमालय जेटका लागि जेनिथले प्रशस्त मेहनत तथा लगानी गरेको दाबी पनि सूचनामा छ।
जेनिथ ट्राभलका सञ्चालक जोय देवानले हिमालयनको उडान हुने टुंगै नभएपछि सम्झौता खारेज गरेको बिजमाण्डूलाई बताए।
उनले भने, ‘हिमालय जेटको नियमित उडान नै निश्चित भएन। यही अन्योलका कारण हामी जीएसएबाट हट्ने निष्कर्षमा पुगेका हौं। हामीबीच डिस्प्युट केही छैन। तर उडान हुने टुंगो नै नभएपछि जीएसए राख्नु अर्थ रहेन नि।’
स्रोतका अनुसार हिमालय जेटको काठमाडौंस्थित जीएसए सञ्चालनका लागि जेनिथले झण्डै एक करोड रुपैयाँ लगानी गरिसकेको छ। जेनिथले जीएसए अफिस निर्माणका लागि ३० लाख रुपैयाँ लगानी गरेको थियो भने कार्यालय सञ्चालनमा पनि त्यति हाराहारीमा थप लगानी गरिसकेको छ।
त्यसबाहेक जेनिथले हिमालय जेटका लागि इन्फ्लुएन्सर पार्टीलगायतको खर्चहरू पनि व्यहोरेको थियो। सन् २०२३ को अन्तिममा गुरुङ फ्यामिलीका तर्फबाट भनेर दुई दर्जन इन्फ्लुएन्सरहरूलाई एउटा भव्य पार्टी दिइएको थियो।
बैंकर अनिलकेशरी शाह, मनीषा कोइराला, पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा पूर्वमन्त्री सुनिल थापा, हिमालय जेटका लागि काठमाडौंका कर्मचारी भनेर चिनाइएका राजु केसी लगायत उक्त पार्टीमा सहभागी भएका थिए।
त्यो पार्टीको तस्वीरहरू हिमालय जेटको फेसबुक पेजमा पनि सार्वजनिक गरिएको थियो। तर, यो पार्टीको खर्च कसले व्यहोरेको हो त्यसको जानकारी भने सार्वजनिक भएको छैन।
विमानसँगै उडानका लागि विमानस्थलहरूमा स्लटहरु व्यवस्थापन नभएको अवस्थामा पनि अहिले हिमालय जेटले जेनिथ ट्राभलसँग रकम माग्न थालेको थियो। भविष्य (त्यो पनि निश्चित नभएका) उडानका लागि टिकट काट्नुपर्ने र त्यो पैसा पठाउन भनेपछि जेनिथ ट्राभल हिमालय जेटबाट अलग हुने घोषणा गरेको हो।
हिमालय जेट र यसका मालिक भनिएका व्यक्ति दीपेन्द्र गुरुङका विषयमा बिजमाण्डूले सात महिनाअघि नै विस्तृत समाचार सार्वजनिक गरेको थियो। उक्त रिपोर्टमा गुरुङ ‘नटवरलाल’ भएको र उनको हिमालय जेटले उडान गर्न नै नसक्ने जानकारी दिएको थियो।
पढ्नुहोस् विस्तृत स्टोरी यहाँ :