इलन मस्कले ट्वीटरको लोगो परिवर्तन गरेका छन्। प्रख्यात चराको तस्विर हटाएर मस्कले लोगोमा ‘एक्स’ राखेका हुन्।
सेतो ब्याकग्राउन्डमा ‘एक्स’ लेखिएको लोगो मंगलबारबाट ट्वीटरको डेस्कटप भर्सनमा देखिन सुरु भएको हो। मोबाइल एपमा भने एक्स लोगो छिट्टै आउने जनाइएको छ।
मस्कले अब ‘ट्वीट’लाई ‘एक्स एस्’ ले प्रतिस्थापन गर्नेसमेत जनाएका छन्। ट्वीटरका मालिक मस्कले आफ्नो बायोमा एक्स डट कम र प्रोफाइल पिक्चरमा नयाँ लोगोसमेत राखेका छन्।
गत अप्रिल महिनामै मस्कले ट्वीटरको लोगो परिवर्तन गरिदिएका थिए। निलो ब्याकग्राउन्डमा चराको तस्विरको सट्टा मस्कले डजक्वाइन सिबा इनु कुकुरको तस्विर राख्न लगाए। पछि फेरि चरा लोगोमा फर्कियो। यसपटक भने उनले कम्पनी रिब्रान्डिङ गर्दै लोगो फेरेका हुन्।
सन् २०२२ को अक्टोबरमा ट्वीटर खरिद गरेपछि मस्कले कम्पनीको नाम ‘एक्स कर्प’ राखेका थिए। अन्तर्राष्ट्रिय मिडियाहरुको रिपोर्टलाई आधार मान्ने हो भने मस्क ‘एक्स’ नाम गरेको ‘सुपर एप’ बनाउन चाहन्छन्। सो एप चीनको वीच्याट जस्तै हुने जनाइएको छ।
मस्कले ट्वीटर खरिद गरेपछि प्लेटफर्ममा गरेका परिवर्तनहरुबाट लगानीकर्ता र सामाजिक संजाल प्रयोगकर्ताहरु खुसी छैनन्। यस्तो अवस्थामा ट्वीटरलाई टक्कर दिन मेटाले ‘थेड्रस्’ सार्वजनिक गरिसकेको छ।
ट्वीटरको पछिल्लो रिब्रान्डिङले उसको व्यापारमा थप असर पर्ने सरोकारवाला बताउँछन्। केही महिनाअघि मस्क आफैँले ट्वीटरको व्यापार ५० प्रतिशतले घटेको सार्वजनिक गरेका थिए। ट्वीटर नेगेटिभ क्यास फ्लोमा रहेको उनले बताएका थिए।
बिजनेस कमेन्टेटर जस्टिन स्टेवार्टले ट्वीटरको ‘एक्स’ अवतारलाई धेरैले मन नपराउने बताउँछन्।
‘युवा पुस्ता अहिले अन्य एपहरुमा केन्द्रित छन्। ट्वीटर अलि ”ओल्ड फेसन्ड” भइसकेको छ,’ उनले भने।
मस्कले ‘ओरिजिनल ब्रान्ड’ परिवर्तन गरे पछि सुरक्षा चुनौतीका विषयहरु पनि आउने बताइएको छ। इसेटमा ग्लोबल साइबर एड्भाइजर रहेका जेक मुरेले रिब्रान्डिङले ‘फिसिङ’ गर्न अपराधीहरुलाई प्रोत्साहित गर्ने बताएका छन्। अरुको नाममा अकाउन्ट बनाएर व्यक्ति र संस्थाको डेटा चोरी हुन सक्ने तर्फ उनले सचेत रहनुपर्ने बताएका हुन्।
‘एक्स’सँगको लगाव
मस्कले सन् १९९९ मा आफ्नो पहिलो व्यापार सुरु गर्दा एक्स डट कम भनेर सुरु गरेका थिए। त्यो बेला उनले अनलाइन बैंकिङ प्लेटफर्म खोलेका थिए। त्यसको तीन वर्षपछि एक्स डट कम पेपालसँग ‘मर्ज’ भएको थियो। त्यसलाई इबेले खरिद गरेको थियो। मस्कले त्यसबेला १ करोड ६५ लाख डलर कमाएका थिए। यद्यपि, एक्स डट कम डोमेन भने उनकै नाममा रहेको छ। अहिले एक्स डट कम खोल्दा ट्वीटर खुल्छ।
मस्क सन् २००२ मा खोलेको अमेरिकी एरोस्पेस कम्पनी स्पेस एक्सको सीईओ पनि हुन्। उनले आफ्नो छोरोको नामा पनि एक्स राखेका छन्। उनले पछिल्लो समय च्याट जीपीटीलाई टक्कर दिने उद्देश्यले आर्टिफिसियल इन्टेलिजेन्स स्टार्ट अप ‘एक्स एआइ’ निर्माण गर्ने घोषणा पनि गरेका थिए।