– नरेन्द्र सिजापती
धितोपत्र दलाल व्यवसायिहरुको छाता संगठनले आफ्नो स्थापनाको २० औं वर्ष पार गरेको छ । नेपालमा धितोपत्रको दोस्रो वजारमा कारोवार भएको करिव ३० वर्ष र धितोपत्र वजार स्थापना भएको २१ वर्ष भइसकेको छ । यति लामो कालखण्डमा देशको अर्थतन्त्रमा भएको वृद्धिको अनुपातमा धितोपत्र वजार वल्ल वल्ल वामे सर्ने अवस्थामा पुगेको छ ।
स्थापना भएको यतिका वर्ष भइसक्दा पनि नेपाल पूँजीवजारले अर्थतन्त्रमा अपेक्षा गरिए अनुसारको योगदान गर्न र वजार स्वयं आफैको पनि विकास हुन सकेको देखिदैन ।
देशका समग्र आर्थिक सूचकहरुमा सुधार हुदै गइरहेको अवस्थामा पनि धितोपत्र वजारको विकासमा र यस वजारमार्फत देशको अर्थतन्त्रमा हुनुपर्ने योगदानमा खासै प्रगति नहुनुमा मुख्यत पूँजीवजारमा विविधीकरणको अभावलाई कारकको रुपमा लिन सकिन्छ ।
पूँजीवजार विकासको लागि तीन किसिमको विविधीकरणमा विशेष जोड दिनुपर्ने आवस्यकता देखिएको छ ।
पहिलो क्षेत्रगत विविधिकरण : हाल वजारमा कारोवार भइरहेका अधिकांश कम्पनीहरु वित्तिय क्षेत्र अन्तर्गत रहेका हुनाले हालको वजार परिसूचकले देशको समग्र अर्थतन्त्रको चित्रण नगरी कुल ग्रहस्थ उत्पादनमा १५ देखि २० प्रतिशतमात्र योगदान गर्ने क्षेत्रको मात्र चित्रण गरेको देखिन्छ । क्षेत्रगत विविधिकरणको अभावमा अर्थतन्त्रमा योगदान गर्ने अन्य महत्वपूर्ण क्षेत्रहरुमा पूँजीवजारमार्फत पूँजी परिचालन हुन सकेको छैन ।
साथै सोको विविधिकरणको अभावमा लगानीकर्ताहरुले आफ्नो जोखिम लिने क्षमता अनुसारको लगानी क्षेत्रको अभावमा वित्तिय कम्पनीहरुमा मात्र लगानी खुम्चाउन वाध्य छन् । जसका कारण वजारमा अस्वभाविक उतारचढाव आई लगानीकर्ताको मनोवल कमजोर हुने गरेको महशुस गरिएको छ । तसर्थ क्षेत्रगत विविधिकरणका लागि नेपाल सरकार र सो मातहतका मन्त्रालयहरु, नेपाल धितोपत्र वोर्ड, नेपाल राष्ट वैंक, नेपाल स्टक एक्सचेन्ज, लगानी वोर्ड र अन्य सरोकारवाला पक्षहरुले अर्थतन्तका विविन्न क्षेत्रहरु जस्तै पर्यटन, जलविद्युत, खानी उद्योग, शिक्षा तथा स्वास्थ्य, उत्पादनमूलक, व्यापार, पूर्वाधार आदिमा संलग्न कम्पनीहरुलाई सूचिकृत गर्न प्रोत्साहन गर्नुपर्ने देखिन्छ ।
यसवाट सम्वन्धित कम्पनीहरुलाई व्यवसाय विस्तारका लागि आवस्यक पूँजी न्यूनतम लागतमा उपलब्ध हुने, कम्पनीको यर्थात मुल्याङकन वजारले गर्ने, कम्पनीको आम लगानीकर्तामा साख वढ्ने, कम्पनीका संस्थापक लगानीकर्ताहरुलाई आफ्नो लगानीको तरलता प्राप्त हुने हुनाले उपयुक्त समयमा लगानी झिकी अन्य क्षेत्रमा लगानी विस्तार गर्ने अवसर प्राप्त हुनेछ । साथै दोस्रो वजारमा सूचिकृत भएपछि कम्पनीहरुको दोस्रो वजारमा कारोवार अझ पारदर्शी भई त्यहाँवाट सरकारलाई प्राप्त हुने राजश्वमा वृद्धि हुनेछ । यसवाट अर्थव्यवस्थामा गुणात्मक प्रभाव परी रोगजारी सृजना हुने तथा सामाजिक अपराध एवं अस्थिरताहरु कम हुर्दै जानेछन् ।
दोस्रो भौगोलिक विविधीकरण : काठमाडौं उपत्यका भित्रका केही सीमित व्यक्तिहरुको मात्र पहुँचमा रहेको नेपालको पूँजीवजारले देशको विभिन्न भौगोलिक क्षेत्रमा छरिएर रहेको वचतलाई परिचालन गरी अर्थतन्त्रमा खासै योगदान गर्न सकेको छैन ।
साथै सीमित व्यक्तिहरुको मात्र सहभागीता रहेकोले वजार स्वयं आफैको पनि जोखिम वहन गर्ने क्षमता कम हुन गई वजारमा अस्वभाविक उतारचढाव हुने गरेको छ । तसर्थ हरेक भौगोलिक क्षेत्रका लगानीकर्ताहरुलाई वजारमा समावेश गराई पूँजी परिचालन वृद्धि गर्न नेपाल स्टक एक्सचेन्जले देशको हरेक भौगोलिक क्षेत्रवाट लगानीको वाटो खुल्ला गर्न पूर्ण स्वचालित कारोवार प्रणाली अविलम्ब अनुसरण गर्नुपर्ने आवश्यकता देखिएको छ ।
उक्त प्रणालीलाई प्रभावकारी रुपमा संचालन गर्न सिडिएस एण्ड क्लियरिङले देशको हरेक भौगोलिक क्षेत्रवाट अभौतिकरुपमा हुने शेयर कारोवारको राफसाफको लागि आवश्यक पर्ने सेवा प्रदान गर्नुपर्ने हुन्छ । तसर्थ सिडिएस एण्ड क्लियरिङ पूर्णरुपमा संचालन गर्नका लागि देखिएका समस्याहरुलाई सम्वन्धित सरोकारवाला पक्षहरु मिलि यथाशिघ्र समाधान गर्नुको विकल्प देखिदैन । साथै अर्थ मन्त्रालयले हाल प्रचलनमा रहेको पूँजीगत लाभकर हटाई कारोवार कर लागू गरेमा सिडिएस एण्ड क्लियरिङको पूर्णसंचालनमा सहयोग पुग्ने आशा गरिएको छ ।
देशका हरेक क्षेत्रका जनताको वचतलाई राष्ट निर्माणमा पूँजीवजार मार्फत परिचालन गर्नेका लागि सम्वन्धित निकायहरुले जनचेतना अभिवृद्धि कार्यक्रमहरु गर्नुपर्ने हुन्छ । सोकार्यका लागि स्टक व्रोकर एशोसियन अफ नेपालले आफ्नो तर्फवाट योगदान गर्दैै आएको र भविश्यमा पनि उक्त कार्य गर्न तत्पर रहनेछ । पूँजी वजारमा सर्वसाधारणको सहज प्रवेशका लागि कारोवार तथा राफसाफ प्रणालीमा देखिएका विविन्न खाले जोखिमको व्यवस्थापन गर्नु पर्ने, शेयर खरिद विक्रीको क्रममा हुने भुक्तानी प्रणालीलाई विश्वासिलो वनाउनु पर्ने र वजारमा हुने असामान्य गतिविधिलाई नियामकहरुवाट नियन्त्रण गर्नु पर्ने देखिन्छ ।
तेस्रो उपकरणगत विविधीकरण : विद्यमान दोस्रो वजारमा कारोवारका लागि धेरै मात्रामा साधारण शेयर, केही म्यूचुअल फन्डका इकाइहरु र नगन्य मात्रामा अग्राधिकार शेयरहरु मात्र उपलब्ध छन् । जसकारण लगानीकर्ताहरुलाई आफ्नो लगानीमा जोखिम व्यवस्थापन गर्न असहज भई वजारमा अस्वभाविक उतारचढाव हुने गरेको छ । तसर्थ दोस्रो वजारमा कारोवारको लागि थप उपकरणहरु भित्र्याउनु पर्ने आवश्यकता देखिन्छ ।
दोस्रो वजारमा ऋणपत्रहरु सूचिकृत भइरहे पनि कारोवारहरु खासै हुननसकेको अवस्थामा सोको कारण पत्ता लगाई कारोवार वढाउन क्रियाशिल हुनृ पर्नेछ । नेप्से परिसूचिक र सूचिकृत कम्पनीहरुलाई आधार वनाई अन्य उपकरणहरु जस्तै Options, Futures, Warrants, आदिको कारोवार गराउन सकेमा वजारको आकार वृद्धि भई लगानीकर्ताहरुलाई पनि जोखिम व्यवस्थापनमा सहयोगि हुने देखिन्छ । हाल ठूलो संख्यामा जारी भैरहेका टेजरी विलहरु लगायतका अन्य मौद्रिक उपकरणलाई समेत दोस्रो वजारमा सहज कारोवार गराउन विशेष पहल गर्नुपर्ने अवश्यकता देखिन्छ ।
आन्तरिक श्रोत साधानवाट मात्र देशको आर्थिक विकास तिव्र गतिमा अघि वढ्न नसक्ने उदाहरण छिमेकी मूलुकहरुबाट स्पष्ट भैसकेको छ । तसर्थ आर्थिक विकासमा सहयोग पुर्याउन आवश्यक पहल स्वरुप NRN र विदेशी व्यक्तिगत तथा संस्थागत लगानीकर्ताहरुलाई पूँजीवजारमा भित्र्याउन नेपाल सरकारका मन्त्रालयहरु, राष्ट वैंक, धितोपत्र वोर्ड, नेपाल स्टक एक्सचेन्ज लि. र अन्य सरोकारवाला पक्षहरुले आवश्यक नीति नियम तर्जुमा गर्नुपर्ने हुन्छ ।
पूँजीवजारको विकासमा लगानीकर्ताहरुको प्रत्यक्ष सम्पर्कमा रही महत्वपूर्ण भूमिका निर्वाह गर्ने धितोपत्र दलाल व्यवसायीको कार्यक्षेत्र विस्तार गरी Fulfledge broker को रुपमा रुपान्तरण भएमा पूँजीवजारको विकासले अझ गति लिने विश्वास एशोशियसनको रहेको छ ।
तसर्थ आवश्यक प्रक्रिया अवलम्बन गरी व्रोकर कम्पनीहरु मार्फत नै Margin Lending को व्यवस्था गरी, Margin Trading सेवा सुरु गर्नुपर्ने, व्रोकर कम्पनीहरुमार्फत परामर्श सेवा शुरु गर्नुपर्ने, Portfolio व्यवस्थापन सेवा व्रोकरहरुले प्रदान गर्न पाउनु पर्ने, वजार निर्माताको रुपमा व्रोकर कम्पनीहरुले कार्य गर्न पाउनु पर्ने, व्यवस्था मिलाउनु पर्ने आवश्यकता देखिएको छ ।
लगानीकर्ताहरुको मनोवल उच्च राख्न नसकेसम्म जतिसुकै प्रचारात्मक तथा नीतिगत सवलीकरणका कुरा गरे पनि पूँजीवजारको दीगो विकास हुन सक्दैन । त्यही भएर निम्नलिखित मुद्दाहरुलाई संवोधन गर्नु पर्ने हुन्छ ।
१. प्रकाशित वित्तिय विवरणहरुको सत्य तथ्य, कार्यकारी अधिकृतले प्रमाणित गरेता पनि सोको आधारमा लगानी गर्ने लगानीकर्ताहरुले प्रमाणित तथ्य सत्य नभएको कारणले व्यहोर्नु पर्ने नोक्सानीको क्षतिपूर्ति कतैवाट पनि हुने व्यवस्था नभएकोले सोको व्यवस्था गरिनु पर्ने ।
२. नियामक निकायहरुको दीर्घकालीन नीतिहरुमा सामन्जस्य हुने गरी अल्पकालीन निर्देशनहरु लागानीकर्ताहरुको मनोवल उच्च रहने गरी जारी गर्नु पर्ने ।
३. हालसम्म करिव १० अरव भन्दा वढि मुल्यको लगभग एक करोड भन्दा वढी कित्ता शेयरहरु अभौतिकिकरण भैरहेको अवस्थामा उक्त सम्पती अभौतिकरुपमा धितोमा राखि कर्जा लिन सक्ने सहज व्यवस्था नभएकोले लगानीकर्ताहरुमा अन्योल सृजना भएको छ । तसर्थ अव कुनै पनि मुख्य प्राविधिक परिवर्तन गर्दा सम्वन्धित सवै सरोकारवालाहरुको समन्वयमा प्रस्तावित परिवर्तनले पार्न सक्ने प्रभावको पूर्व मुल्याङकन तथा व्यवस्थापन तयारी गर्नु पर्ने खाँचो देखिन्छ ।
४. यथाशिध्र सिडिएस प्रणालीको पूर्णरुपमा कार्यन्वयन हुनुपर्ने ।
५. नेप्सेको कारोवार प्रणालीले सम्पूर्ण लगानीकर्ताहरुलाई व्रोकर कम्पनीमार्फत घरमा वसी कारोवार गर्ने व्यवस्था मिलाउनु पर्ने ।
६. नेपाली पूँजीवजारको अन्तराष्टियकरण गर्ने आवश्यक कदम चाल्नु पर्ने ।
(सिजापतीले शुक्रबार स्टक ब्रोकर संघको साधारणसभामा अध्यक्षका रुपमा व्यक्त गरेका धारणाको सम्पादित अंश । अहिले नयाँ नेतृत्व चयन भइसकेको छ ।)