BIZMANDU
www.bizmandu.com

संविधान नबन्ने मात्रै होइन प्रक्रिया नै उल्टिन सक्छ: बाबुराम भट्टराई

२०७१ मंसिर १४

संविधान नबन्ने मात्रै होइन प्रक्रिया नै उल्टिन सक्छ: बाबुराम भट्टराई
संविधान नबन्ने मात्रै होइन प्रक्रिया नै उल्टिन सक्छ: बाबुराम भट्टराई


Tata
GBIME
NLIC
  • बाबुराम भट्टराई

हालसम्मको स्थिति मूल्यांकन गर्दा दुईवटा कोर्समा राजनीति जाने देखिन्छ। एउटा, उहाँ (कांग्रेस-एमाले) हरुले संख्यालाई प्रजातन्त्र भन्न सक्नुहुन्छ। औपचारिकताका हिसाबले त हो पनि। तर, संविधान बनाउने कुरा आन्दोलनबाट आउने कुरा हो। म्यान्डेटका आधारमा बनाइने विषय हो यो। यही प्रिन्सिपलमा टेकेर संविधान बनाइन्छ।

दक्षिण अफ्रिकामा पनि संविधान बनाउनुअघि किन यस्तै आधारभूत प्रिन्सिपल बनाइयो त? अफ्रिकन नेसनल कांग्रेस (एएनसी) को बहुमत थियो त्यहाँ। उसले जे चाह्यो त्यही गर्न सक्थ्यो। सहमति र सम्झौताको बाटो लिएकाले त्यहाँका अल्पसंख्यक गोराहरुको हितलाई ध्यानमा दिनुपर्छ भनेर सैद्धान्तिक आधार बनाइयो। त्यो पालन भयो भएन भनेर जाँच गर्न संवैधानिक अदालत बनाए। सच्याउनुपर्ने विषयहरु सच्याए। संविधान सभाको नियम नै यही हो। अमेरिकामा पनि यसैगरी बनाइएको हो अरुतिर पनि यही नियम लागू गरिएको हो।

  • अहिले एकापट्टी आन्दोलनको म्यान्डेट र अर्कोपट्टी चुनावको म्यान्डेट अर्कोतिर छ।
  • २०४६ सालको आन्दोलनबाट स्थापित शक्ति र २०६२/६३ को आन्दोलनले स्थापित शक्तिहरुको बिचमा क्ल्यास भयो।
  • दुइटाको क्ल्यासले मुलुकलाई कता पर्‍याउने हो भन्न सकिन्न।
  • समग्र प्रकृया नै फेरि उल्टने स्थिति पैदा हुनसक्छ।
  • यहाँसम्म आउँदा कस्तो देखियो भने यही तरिकाले तोकिएको समयमा संविधान बन्दैन।
  • गिरिजाप्रसादले जति गर्नुभयो व्यक्तित्वले जितेर गर्नुभएको थियो।
  • शान्ति प्रकृयाको सुरुमै सुशील कोइराला हामीप्रति नकारात्मक हुनुहुन्थ्यो।
  • कांग्रेस एमालेका नेतामा शान्ति प्रक्रियाको मर्म अनुभूति नै भएन।

तर हामीकहाँ साथीहरु संसदको कुनै एउटा अध्यादेशजस्तै गरेर दुई तिहाइले नमान्ने भन्न थाल्नुभयो। सामान्य विषयमा दुई तिहाइको कुरा गर्नु ठिकै पनि होला तर आधारभूत विषयमा यस्तो तर्क ठिक होइन। अहिले विषय यही आएर टुंगिएको छ।

आन्दोलन र चुनावको म्यान्डेटको क्ल्यास

अहिले एकापट्टी आन्दोलनको म्यान्डेट र अर्कोपट्टी चुनावको म्यान्ड्ट अर्कोतिर छ। एक किसिमले भन्दा दुई म्यान्ड्टको क्ल्यास भएको अवस्था हो यो। २०४६ सालको आन्दोलनबाट स्थापित शक्ति र २०६२/६३ को आन्दोलनले स्थापित शक्तिहरुको बिचमा क्ल्यास भयो। जब कि यी दुबै मिलेर जानुपर्ने म्यान्डेट हो। तर यी दुइटाको क्ल्यासले मुलुकलाई कता पर्‍याउने हो भन्न सकिन्न। यसरी संविधान बन्ने त कुरै भएन। यसले फेरि पनि संविधान सभा असफल हुनसक्छ। समग्र प्रकृया नै फेरि उल्टने स्थिति पैदा हुनसक्छ।

होइन हामीजस्ता मानिसले यस्तो स्थिति राखिराख्नु हुन्न। नत्र हामीजस्ता मानिसले नसक्ने हो भने कसले सक्छ उसलाई जिम्मा दिने हो कि त्यसमा पनि समझदारीकै बाटोबाट गएर संविधान जारी गर्नुपर्छ। यी दुईवटा बाटो नै हो हामीसामु।

यति चाहिँ पक्का हो अब माघ ८ मा संविधान त नबन्ने नै भयो। दुई चार दिन सार्कले खाइहाल्यो। अब अन्डरस्ट्यान्डिङ बनाएर जाने हो भने माघ ८ सम्म सेटलमेन्टको आधारसम्म बन्न सक्छ। संविधान नै चाहिँ बन्दैन। यसपछि दुई चार महिनामाभित्र संविधान जारी गर्न सकिन्छ। होइन पेलेरै जान्छु भन्ने हो भने अर्कोले प्रतिवाद गरिहाल्छ र सबै प्रकृया नै भंग हुने खतरा देखिन्छ। मेरो चाहना दोश्रो होस् भन्ने हो।

पहिला पुगेन बुद्धि

पहिलो संविधान सभाको निर्वाचनमा हाम्रो कन्भिक्सनकलाई जनताले विश्वास पनि गरे। तर आफ्नै पार्टीभित्र पनि यो कुरा केहीलाई बुझाउनै सकिएन। अर्कोतिर अरु दलमा पनि माओवादी शक्तिशाली भएको कुरा पच्नै सकेन। यी दुई यथार्थ थिए। अन्तर्राष्ट्रिय शक्तिलाई पनि यो पचेन। यी सबैमा जाबो माओवादीको नेतृत्वमा संविधान नबने नबनोस् भन्ने देखियो। हामी माओवादीले जिम्मेवारी वोध गरेर जसरी पनि संविधान बनाउनुपर्छ भन्ने लाग्नुपर्थ्यो। त्यसमा हाम्रो पनि वुद्धि पुगेन।
 
अहिलेसम्मको यात्रा भनेको सहमतिकै यात्रा हो। यसलाई छाडेर अन्यत्र लाग्ने कुरै ठीक होइन। आखिर सहमति नभइ हुन्न। हामीले तय गरेको यात्रा प्रमुख राजनीतिक दलबीच सहमति अर्थात् सम्झौताकै बाटो हो।

पछिल्लो समय म कुनै पार्टी वा सार्वजनिक समारोहहरुमा गएकै छैन। कहीँ गएर बोलेको छैन। सधै गोरखा जाने गरे पनि अहिले गएको छैन। यहाँ पनि आफै पहल गरेर घर घरमा गएर कुरा गरेको छु। उहाँ (मूख्य दलका नेता) हरु चासो नै देखाउनुहुन्न। तैपनि गरौँ भनेर लागेको हो। यहाँसम्म आउँदा कस्तो देखियो भने यही तरिकाले अगाडि बढ्यो भने तोकिएको समयमा संविधान बन्दैन।

प्रचण्ड कमजोरी


अध्यक्षको कमजोरी भनेको बोलिहाल्ने हो। संविधान बनाउनुपर्छ भन्नेमा उहाँ लाग्नुभएको हो। २५ वर्षदेखि संगै छु। मजति नजिक उहाँसँग कमै छन्। मैलेजति नजिकबाट उहाँलाई कमैले चिनेका छन्। प्राप्त उपलव्धिको रक्षा गर्दै समाज रुपान्तरणको अभियान अघि बढ्नुपर्छ भन्ने हाम्रो कन्भिक्सन हो। अध्यक्ष कमरेडको पनि त्यही कन्भिक्सन हो।

यहाँ के भइदिन्छ भने भावनात्मकरुपमा केही बोलिहाल्नुहुन्छ। बंकरमा जान्छु पनि भनिहाल्नुभयो। उहाँको यस्ता अभिव्यक्ति दिक्क लागेको समयका हुन्। उहाँले बोल्दाखेरी ख्याल गर्नुभएन। कोठाभित्र बोलेजस्तो गरी बोल्नुभयो। उहाँको अभिव्यक्ति संविधान बनाउनै पर्छ भन्ने आधारको हो।

गिरिजाबाबुको अभाव

शान्ति प्रकृयामा त्यतिखेर प्रत्यक्ष संलग्न भनेको गिरिजाप्रसाद कोइराला, प्रचण्ड, म, माधवकुमार नेपाल र कृष्ण सिटौला हो। अरु त सहयोगी पत्र थिए। अहिलेको संयोग कस्तो हुन पुग्यो भने त्यतिखेरका गिरिरजाप्रसाद बित्नुभयो। अहिले सुशीलजी नेतृत्वमा हुनुहुन्छ। त्यतिखेर पनि सुशीलजी हामीप्रति नकारात्मक हुनुहुन्थ्यो। जतिखेर पनि माओवादीलाई घाँटी काटेर बुझाउनमात्र बाँकी छ भनेर असन्तुष्टि व्यक्त गर्नुहुन्थ्यो। गिरिजाले सबै कुरा माओवादीलाई छोड्यो भन्ने सुशील कोइरालाको बुझाइ थियो।

गिरिजाप्रसादले जति गर्नुभयो व्यक्तित्वले जितेर गर्नुभएको थियो। हामीमा पनि गिरिजाले बोलेपछि हुन्छ भन्ने थियो। गिरिजाप्रसादको अन्त्यपछि नेतृत्वमा जो आउनुभयो उहाँहरु कोही पनि शान्ति प्रकृयामा जोडिनुभएन। सुशील, शेरबहादुर र रामचन्द्रमा यसबारे केही नै जानकारी भएन। बच्चा जन्माउने आमालाई पीडाबोध हुन्छ भनिन्छ। तर उहाँहरुलाई त्यसको मर्म नै भएन। त्यत्रा नेताहरुलाई बुझ्दै बुझ्नुभएको छैन भन्न खोजेको होइन तर अनुभूति नै भएन यसबारे उहाँहरुमा।

अर्कोतिर माधव नेपाल पाखा लाग्नुभयो, एमालेमा। केपी ओलीजी आउनुभयो। यो प्रकृयामा उहाँ कतै जोडिनुभएन । १२ बुँदैसम्ममात्र उहाँ सक्रिय हुनुहुन्थ्यो। १२ बुँदे यताको पूरा शान्ति प्रकृयामा उहाँ रहनुभएन। यसको मर्म बुझ्ने मानि त्यहाँ पनि भएन। यस्तै कारणले समस्याहरु उत्पन्न भएका छन्। यसले गाँठो फुकाउन जटिल भएको छ। 

तासको दाउ

सभापतिको नाताले अझै धैर्यता प्रदर्शन गरिरहेको छु। कांग्रेस एमालेले तासमा दाउ पहिले नै खोल्ने काम गर्नुभयो। त्यो पछिल्लो दाउ हुनसक्थ्यो। उहाँहरुको अंकको खेलले आशंका पैदा गर्‍यो। सहमित स्वेच्छिक हिसाबले आउने हो कर गरेर होइन। सहमति बनाउन मैले प्रयत्न गरिरहेको छु। नेताहरुलाई बसाउन प्रयास गरेको छु।

संविधान सभामा छलफल गरेर निर्णय गर्ने भन्नुभयो। सहमति नै हुँदैन भन्ने सोच उहाँहरुमा भएकाले आशंका बढ्यो। सभामुखले पनि समितिबाटै सहमति जुट्नुपर्ने बताउनुभएको छ मलाई।

'सिरियसली' बस्ने हो भने एक दिनमै सबै विषयलाई सुल्ट्याउन सकिन्छ। तर केले काम गरिरहेको छ कि उहाँहरु एक घन्टा पनि सँगै बस्न सकिरहनु भएको छैन। बसिहाले पनि एकैछिनमा छेडखानी सुरु गरिहाल्ने र अपशब्द बोल्ने र विवादमा गइहाल्ने प्रवृत्ति छ।

अघिल्लो संविधानमा बहुमत हुँदा पेलेर जान हुँदैन थियो। आज पनि त्यसरी जान हुँदैन। त्यसको मतलब सबैलाई समेट्न सकिन्छ भन्ने होइन। प्रमुख दलहरुबीच न्युनतम सहमति हुनैपर्छ। न्युनतम सहमति भएन भने संविधान जारी नै हुँदैन। जारी भइहाल्यो भने लागू नै हुँदैन।
थलो संविधानसभा नै हो। सहमति यहीँबाट हुने हो। हिजो गिरिजाप्रसादले बोल्दा सबै हुन्थ्यो। अब त्यस्तो स्थिति छैन। दलभित्रै समस्याहरु छन्।

संविधान पछि के हुन्छ भन्ने शंका हो भने त्यो पनि मिलाउनुस् भनेको हो। संविधान बनाउनुपर्‍यो। त्यसपछिका प्रकृया मिलाउनुपर्‍यो। दुई वर्ष समय गइहाल्छ। चुनावको कुरा ४ वर्षपछि हुन्छ। सरकारमा माओवादीको अहिले कुनै दाबेदारी छैन। एमालेको छ भने मिलाउनुस्, हामी साथमा छौं भनेका छौं। सरकारमा बरु केपीजीको दाबेदारी छ। सरकार बनाउने हो भने उहाँले कांग्रेससँग मिलाउनुस्। नभए हामी साथ दिन्छौँ। कांग्रेस एक्लैले बहुमत पुर्‍याउन सक्दैन।