BIZMANDU
www.bizmandu.com

कति राम्रा हातबुना सामाग्री, राजधानीमा सार्क हस्तकला प्रदर्शनी, मंसिर ८ गतेसम्म चल्ने

२०७१ मंसिर ५

कति राम्रा हातबुना सामाग्री, राजधानीमा सार्क हस्तकला प्रदर्शनी, मंसिर ८ गतेसम्म चल्ने
कति राम्रा हातबुना सामाग्री, राजधानीमा सार्क हस्तकला प्रदर्शनी, मंसिर ८ गतेसम्म चल्ने

काठमाडौं । तपाईँलाई हातबुना सामाग्री कस्तो लाग्छ ? मेसिनले बनाएका सामाग्रीहरु उपयोग गर्ने बानी परेका उपभोक्तालाई हातबुना त्यति राम्रो नलाग्न सक्छ । तर हातले नै तयार पारेका सामाग्री पनि मेसिनले तयार पारेका भन्दा कम चाहिँ हुँदैनन् ।

नेपाल हस्तकला महासंघ नेपालले राजधानीको भृकुटीमण्डपमा गत बिहीबारदेखि आयोजना गरेको दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन(सार्क) हस्तकला प्रदर्शनी तथा १२ औँ हस्तकला व्यापार मेलामा हातले बनाइएका यस्तै राम्रा सामाग्रीहरुको अवलोकन तथा खरिद गर्न सकिन्छ ।

मंसिर चारदेखि आठगतेसम्म चल्ने मेलामा नेपाल लगायत सार्कका सातवटा देशले सहभागिता जनाएका छन् । मेलामा हातैले तयार पारिएका पश्मिना, छाला, कागत, धातु, फेल्ट, रेसाबाट बनाएका विभिन्न सामाग्रीहरु राखिएका छन् ।

मेला अवलोकन मात्रै होइन यहाँ गएर आफूलाई मन पर्ने सामाग्री समते किन्न सकिन्छ । मेला स्टल व्यवस्थापनकी सचिव रेखा रेग्मीका अनुसार यहाँ एकसय ९५ वटा स्टल छन् । जसमा सार्कका ४० वटा स्टल छन् भने बाँकी स्टलहरु विभिन्न जिल्लाबाट आएका व्यवसायीले राखेका छन् ।

यसैगरी महासंघले चिनियाँ व्यापारीलाई समेत यहाँ आएर अवलोकन गर्न बोलाइएको जनाएको छ । रेग्मीले भनिन्, 'अरु देशका व्यापारी तथा उपभोक्ताहरु आउँदा यहाँका उत्पादनहरु देख्छन् । जसले उनीहरुले नेपालबाट आवश्यक सामाग्रीहरु अर्डर गर्न सक्छन् वा यो भन्दा बढी गुणस्तरको सामाग्री अर्डर गर्न सक्छन् भनेर अरु देशका व्यपारी समेत बोलाएका छौँ ।'

आसन्न सार्क सम्मेलनको बेला भएको यो हस्तकलाले सार्क क्षेत्रको हस्तकलाकै विकासका लागि टेवा पुग्ने रेग्मीले बताइन् । उनले भनिन्, 'नेपालको मात्रै होइन सार्क क्षेत्रको पनि हस्तकला मेला भएकोले यसले उपभोक्ता र उत्पादकलाई पुलको काम गर्छ ।'

वार्षिक रु पाँच अर्बको निर्यात र रु आठ अर्बबराबरको आन्तरिक कारोबार रहेको हस्तकला व्यवसायले देशको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ ।

काष्ठकला र चाँदीका परम्परागत सजावटका वस्तुको हस्तकला प्रतियोगितामा नेपालका २१ जना कलाकारले भाग लिएका छन् । उनीहरूमध्ये उत्कृष्ट कलाकारलाई पुरस्कृत गरिने महासंघले जनाएको छ ।

मेलामा करिव १५ करोड रुपैयाँ बराबरको कारोबार हुने आयोजकले विश्वास लिएको छ भने करिव पाँच लाख दर्शकले अवलोकन गर्ने आशा लिएको छ ।
मेला अवलोकन गर्न सर्वसाधारणले पचास रुपैयाँ तिर्नुपर्छ भने विद्यार्थीले २५ रुपैयाँ तिरे पुग्छ ।

Tata
GBIME
Nepal Life