BIZMANDU
www.bizmandu.com

साताभरमा ३६ अंक गुमाएको नेप्से १८ अंक भने रिकभर गर्न सफल,एक अर्ब १३ करोडको कारोबार

२०७१ मंसिर ५

काठमाडौं। साताभरमा नेप्से परिसूचकले ३६ अंक गुमाएको भएपनि दुई दिनमा भएको वृद्धिले १८ अंक भने रिकभर गरेको छ। गत साताको विहीवार ८८१.०४ मा रहेको नेप्से यससाता मंगलवार ८४४ अंकसम्म आइपुगेको थियो। तर अन्तिम दुई दिनमा भएको वृद्धिले नेप्सेलाई ८६२.५ बिन्दुमा पुर्यायो। 
बीमा कम्पनीहरुको सेयरमा लगानी सीमा बढेपछि र राष्ट्र बैंकले डिम्याट सेयरको धितोमा पनि कर्जाको व्यवस्था गर्ने कुराले बजारमा सुधार देखिएको हो। बजारमा सुचीकृत अधिकांश कम्पनीको सेयर मूल्य एक बर्षकै न्युन बिन्दुमा पुगेपछि पनि लगानीकर्ताले सेयर खरिद बढेका हुन्। 

Tata
GBIME
Nepal Life

बुधवारबाटै सबै समूहको परिसूचकमा सुधार देखिएको थियो। साताभरमा सबैभन्दा धेरै बीमा समूहले ९२ अंक, जलविद्युत् ५३ अंक, बैंकिङ २१ अंक, होटेल १२ अंक, बिकास बैंक नौ अंकले घटेको छ। 
 
यस साता नेपाल स्टक एक्सचेन्जमा एक सय ६७ कम्पनीहरुको कारोबार भएको छ। जस अनुसार १० हजार एक सयभन्दा बढि कारोबारबाट एक अर्ब १३ करोड रुपैयाँको कारेबार भयो। सातामा २५ लाख ४९ हजार कित्ता सेयरहरु खरिद बिक्री भएका छन्। कारोबार रकम गत साताको भन्दा ४.४ प्रतिशत कम हो।  गत साता एक अर्ब १८ करोड ३० रुपैयाँको कारोबार भएको थियो। 
 
यस साता कारोबार रकम (१० करोड ५२ लाख ८० हजार रुपैयाँ) को आधारमा चिलिमे हाइड्रोपावर कम्पनी अग्रस्थानमा रहेको छ। त्यसैगरी कारोबार भएको सेयर संख्या (दुई लाख १६ हजार कित्ता) को आधारमा नेसनल हाइड्रोपावर कम्पनी अग्रस्थानमा छ। त्यसैगरी कारोबार संख्या (४९३ वटा) को आधारमा चिलिमे हाइड्रोपावर कम्पनी अग्रस्थानमा रहेको छ। 
 
यस साता कालिञ्चोक बिकास बैंकको १० लाख कित्ता साधारण सेयर सुचीकृत भएको नेप्सेले उल्लेख गरेको छ।