BIZMANDU
www.bizmandu.com

सार्क सम्मेलनभरी हावाइ यात्रुलाई सकस, ९ देखि १२ गतेसम्म काठमाडौंको उडान अवतरण प्रभावित

२०७१ मंसिर ५

सार्क सम्मेलनभरी हावाइ यात्रुलाई सकस, ९ देखि १२ गतेसम्म काठमाडौंको उडान अवतरण प्रभावित
सार्क सम्मेलनभरी हावाइ यात्रुलाई सकस, ९ देखि १२ गतेसम्म काठमाडौंको उडान अवतरण प्रभावित

काठमाडौं । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) शिखर सम्मेलन अवधिमा काठमाडौंबाट बाहिर जाने र काठमाडौं भित्रिने हजारौँ यात्रु प्रभावित हुने भएका छन् ।

Tata
GBIME
Nepal Life

नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल (त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल) मा सार्क सम्मेलनभरी वशिष्ठ पाहुनाहरु आउने दिन र जाने दिन अन्तर्राष्ट्रिय तथा आन्तरिक उडान गर्न नपाउने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन प्राधिकरण कार्यालयले व्यवस्था गरेपछि एयरलाइन्स कम्पनी र यात्रुहरु समस्यामा पर्ने भएका छन् ।   

मंसिर ९ गते बिहान नौदेखि बेलुकी पाँच बजेसम्म सार्कका पाहुना बाहेकका उडान- अवतरण गर्न नपाइने
मंसिर ११ गते बिहान आठदेखि १० बजेसम्म र दिउँसो १ देखि १३:४५ सम्म सार्क बाहेक अरु उडान-अवतरण बन्द  
मंसिर १२ गते बिहान ८ बजेदेखि १३:१५ बजेसम्म सार्क बाहेकका जहाज उडान तथा अवतरण बन्द
मंसिर ९ देखि १२ गतेसम्म आन्तरिक तथा अन्तर्राष्ट्रिय जहाज पार्किङ सिमित
मंसिर ९, १० र ११ गते कुनै पनि जहाज राती बस्न नपाउने
मंसिर १० गते सबै उडान यथावत तर पार्किङ सिमित

प्राधिकरणले सार्क सम्मेलनको लागि तयार पारेको नयाँ उडान-अवतरण तालिकाअनुसार अन्तर्राष्ट्रिय र आन्तरिक जहाजले आफ्नो तालिका अनुसार उडान गर्न पाउँदैनन् ।

प्राधिकरणले अन्तर्राष्ट्रिय तथा आन्तरिक जहाजहरुको लागि तयार पारेको नोट्याम्स अनुसार मंसिर नौ,१०, ११ र १२ गते आफ्नो तालिका अनुसार उडान गर्न पाउने छैनन् । विशिष्ठ पाहुनाहरु आउनु भन्दा आधाघण्टा अघि र पछिसम्म कुनै जहाज उडान तथा अवतरण गर्न निषेध गर्ने कामलाई नोट्याम्स भनिन्छ ।

 यसले गर्दा काठमाडौंबाट बाहिरिने र काठमाडौं भित्रिने एयरलाइन्सहरु प्रभावित बनेका अन्तर्राष्ट्रिय वायुसेवा सञ्चालक कमिटीका अध्यक्ष भरत श्रेष्ठका अनुसार अहिले एयरलाइन्सहरुलाई समय तालिका मिलाउन हम्मे हम्मे परेको छ । श्रेष्ठले भने, 'हामी अहिले तनावमा छौँ। कसरी उडान तालिका मिलाउने र कनेक्टिङ फ्लाइट मिलाउने भन्नेमा सबैभन्दा ठूलो चुनौती छ ।'

उनले यसरी नोट्याम्स तोक्दा यात्रुहरुको भिसा सकिने, जहाज छुट्ने, कनेक्टिङ फ्लाइट छुट्ने लगायतका समस्या यात्रुले भोग्नु पर्ने उनले बताए । श्रेष्ठका भने, 'हामीले सबै मलाउने कोशिस त गरेका छौँ । तर कतिले महिनौ अघि टिकट काटेर आएका हुन्छन् । त्यो मिलाउन निकै गाह्रो भएको छ ।

विमानस्थलले आगामी मंसिर नौ गते बिहान नौदेखि साँझ पाँच बजेभित्र सार्क सम्मेलनमा सहभागी हुन आउने विशिष्ठ पाहुनाहरु आउने तालिका रहेकोले सो समयमा आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान–अवतरण नहुने जनाएको छ । यो समय भन्दा अघि र पछिका उडानहरु भने यथावत राखिएको जनाएको छ ।

यस्तै मंसिर १० को उडानहरु यथावत रहेने विमानस्थलले जारी गरेको नोट्यम्समा उल्लेख छ । तर यो समयमा पार्किङ बेहरु भने एयरलाइन्सहरुको लागि सिमित छुट्याइएको छ । श्रेष्ठ भन्छन्, 'हामीलाई १० गते सबै जहाज उडाउन त दिएको छ तर पार्किङ बे हामीलाई यथेष्ट छैन । सबै भन्दा बढी जहजाको उडान र अवतरण यही समयमा हुने भएकोले धेरै जहाज आउन गाह्रो छ ।'

चौविसै घण्टा विमानस्थल खुला नहुने भएकोले त्रिभुवन विमानस्थलमा अधिकांश उडान दिउँसो हुने गरेको छ । श्रेष्ठका अनुसार बिहान १० देखि बेलुकी पाँच बजेसम्म करिव २५ देखि ३० वटा उडान हुने गरेको छ भने यी उडानमा करिव दुई सय  यात्रुहरु उड्ने गरेका छन् । यो हिसाबले एक दिनमा करिव छ हजार यात्रु प्रभावित हुनेछन् ।

अहिले अन्तर्राष्ट्रिय पट्टि नौ वटा जहाज पार्किङ गर्न सकिन्छ भने आन्तरिक तर्फ करिव दुइ दर्जन जहाज पार्किङ गर्न मिल्छ । यसरी पार्किङ कक भएपछि आकाश खुला गरेपनि उडानहरु बन्द जस्तै हुने श्रेष्ठको भनाइ छ ।

उनका अनुसार विमानस्थल व्यवस्थापनलाई काठमाडौंबाट नजिकैको विमानस्थलमा सार्कमा सहभागी हुन आएका विशिष्ठ पाहुनाहरुको जहाज पार्किङ लागि व्यवस्था गर्न आग्रह गरिएको थियो । तर व्यवस्थापन पक्षले यस्तो नहुने भन्दै एयरलाइन्सहरुलाई 'म्यानेज' गर्न आग्रह गरेको थियो।

यसैगरी विमानस्थलको पत्र अनुसार मंसिर ११ गते बिहान आठ बजेदेखि ११ र दिउँसो एक देखि पौने चार बजेसम्म पनि कुनै जहाज उडान–अवतरण गर्न पाइनेछैन। 

'विमानस्थलले तोकेको नोट्याम्स पछि बाँकी रहेको दुई घण्टामा कति जहाज उडाउन र अवतरण गर्न सकिन्छ ?, उनले भने,'यो समयमा आकाश खुला हुन्छ तर जहाज बन्द नै हनुछ । यो समयमा कम्तिमा तीनवटा भन्दा बढी जहाज उडान तथा अवतरण गर्न सकिँदैन ।' चार बजेपछि भने पूरै समय उडान सुचारु हुनेछन्। 

मंसिर १२ गते पनि विमास्थलले नोट्याम्स तोकेको छ । जसअनुसार बिहान आठ बजेदेखि सवा एक बजेसम्म कुनै पनि जहाज उडान तथा अवतरण गर्न नपाइने सूचना जारी गरेको छ । यो समयमा विशिष्ठ पाहुनाहरु फर्किने तालिका बनाइएको छ ।

यसैगरी सार्क सम्मेनल भरी कुनै पनि एयरलाइन्स राति त्रिभुवन विमानस्थलमा बस्न पाउने छैनन् । अहिले नेपाल एयरलाइन्स र जेट एयरवेजको जहाज रात बस्ने गरेका छन् ।

अन्तर्राष्ट्रिय विमानस्थलमा उडान अवतरण प्रभावित हुने भएपछि विमानस्थल व्यवस्थापनले पाँचदा २४ सै घण्टा खुल्ला राख्ने भएको छ ।

विमानस्थलमा रहेका दुइसय २७ वटा सरोकारवाला सबै निकायसँग २४ सै घण्टा खुल्ला गर्ने सहमति भएको विमानस्थलका कार्यकारी महाप्रबन्धक वीरेन्द्र प्रसाद श्रेष्ठले बताए ।

उनले भने, ' चौबीसै घन्टा विमानस्थल सञ्चालन गर्नका लागि त्यहाँस्थित अध्यागमन कार्यालय, ड्युटी फ्रि पसल, विमानस्थल ट्याक्सी, सुरक्षा निकायलगायत सम्बद्ध सबैबाट सहयोग र सहकार्य गर्ने प्रतिबद्धता आइसकेको छ । हामी पाँचदिन २४ सै घण्टा खुल्ला राख्छौँ ।'

यसैगरी उनका अनुसार विराटनगर, भैरहवा र नेपालगन्ज विमानस्थल सार्क शिखर सम्मेलन अवधिभर चौबीसै घन्टा खुला रहनेछन्। यी तीनवटै विमानस्थलमा रात्रि उडान गर्ने सबै सुविधा उपलब्ध छन्। 

त्रिभुवन विमानस्थल सामान्य अवस्थामा बिहान ६ बजे खुलाउने गरिन्छ भने मध्यरात साढे १२ बजे बन्द हुने गर्छ। सामान्य मौसमका बेला बिहान करिब एक दर्जन अन्तर्राष्ट्रिय जहाज अवतरण गर्छन्।

विमानस्थल मध्याह्न १२ बजेदेखि दिउँसो ४ बजेसम्म आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानको चाप सबैभन्दा धेरै हुने गर्छ। ती सबैले 'स्लट' मिलाउँदै उडान सञ्चालन गर्ने जानकारी गराइसकेका छन्। अहिले २९ वटा अन्तर्राष्ट्रिय वायुसेवाले नेपाल उडान गरिरहेका छन्।
 
यसरी प्रभावित हुने एयरलाइन्सहरुमा एयर इण्डिया, नेपाल एयरलाइन्स, थाइ एयरवेज, ओमान एयर,कतार एयरवेज, एयर अरेबिया, इन्डियो एयरलाइन्सलगायतका डेढ दर्जन एयरलाइन्सहरुबाट यात्र गर्ने यात्रु समेत प्रभावित हुनेछन् ।