माइक्रो ब्लगिङ साइट ट्विटरले ट्विटर प्रयोगकर्ताका लागि एक सर्च इन्जिनको सुरुवात गरेको छ। कम्पनीका सर्च इन्फ्रास्ट्रक्चर इन्जिनियर यी जुआंगका अनुसार सर्च इन्जिनले झण्डै आधा खर्ब सम्बन्धित सूचनाहरु प्रवाह गर्छ र यसले खोजेको कुरा सय मिलिसकेण्ड भित्र पत्ता लगाइसक्छ।
नयाँ सर्च इन्जिनले ट्विटर प्रयोगकर्तालाई सन् २००६ देखिका हरेक ट्विट खोज्ने सुविधा दिएको छ। ट्विटर सन् २००६ देखि सुरु भएको थियो।
'आठ वर्ष अगाडि एउटा साधारण ट्विटबाट सुरुवात भएको माइक्रो ब्लग ट्विटरमा अहिले अर्बौं मानवीय अनुभव र ऐेतिहासिक घटनाक्रमहरु जम्मा भएका छन्,' जुआंगले भने।
'हाम्रो सर्च इन्जिनले सतही रुपमा ब्रेकिङ न्यूज र ताजा घटनालाई मुखरित गर्छ। तर हाम्रो दीर्घकालिन योजना भने ट्विटरमा प्रकाशित भएका हरेक समयका ट्विट मान्छेहरुले खोज्न सकुन् भन्ने हो,' उनले थपे।
ट्विटरको नयाँ सुविधा अनुसार यसले टेलिभिजन शो, कन्फरेन्स, खेल, मौसम, ह्यासट्याग प्रयोग गरिएका टपिक लगायतका कुराहरुको जानकारी सजिलोसँग उपलब्ध गराउने छ।
कम्पनीका अनुसार यो सुविधा केही दिनभित्र डेस्कटप र मोबाइल भर्सनको ट्विटर एप्लिकेसनमा उपलब्ध हुनेछ।