काठमाडौं। गत मंगलवार यता लगातार घटेर ४५ अंक गुमाएको नेप्से परिसूचकले यस मंगलवार पनि चार अंक गुमायो। यस सोमवार अन्तरदिनको कारोबारमा २४ अंकले घटेको नेप्सेमा पौने एक बजेपछि सुधार देखिएको थियो। बजार अन्तर दिनको कारोबारमा सात महिनाकै न्युन बिन्दु (८२४) मा पुगेको थियो।
बजार बन्द हुँदा भने नेप्से चार अंकले घटेर ८४४ मा आइपुगेको छ। नेप्सेले यसअघिको बुलमा आठ सय देखि आठ सय ५० को तहमा पटक पटक टेवा पाएर बढ्न थालेको देखाउँछ।
मंगलवार नेप्से परिसुचक डेड क्याट बाउन्स (माथीबाट पछारिएको मरेको बिरालोको शरिर केही उफ्रिए पनि पुन भुइमै झरेजस्तो) भएको छ। सुधारिएको बजारमा लगानीकर्ता सेयर बिक्री गर्न हत्तारिएपछि यस्तो भएको हो। स्टक ब्रोकर्स एशोसिएसनका अध्यक्ष नरेन्द्रराज सिजापतिले भने, सबैलाई बजार बढोस् भन्ने छ, तर थोरै बढ्दैमा उनीहरुले धैर्य गुमाएर सेयर बेच्न थालेकोले बजार पुनः घटेको हो।
बजार घटेको समयमा सेयर उठाउने क्रम पनि बढेको थियो। यसले खरिद गर्ने दाउमा लगानीकर्ताहरु बसेको पनि संकेत गर्छ। तर मूल्य बढ्दै जाँदा बेच्न आत्तिएका लगनीकर्ता कम मूल्यमा पनि सेयर दिन तयार हुन थालेपछि बजार घटेको हो।
नियमक निकायबाट बजार घट्नुपर्ने खासै कारण नरहेको वक्त्तव्य आएपछि र डिम्याटमा रहेको सेयरको आधारमा पनि कर्जा दिने व्यवस्था यसैसाता भित्र लागु गर्ने संकेत दिएपछि बजार रिभाइभ भएको थियो।
यही सातामा डिम्याट सेयरको धितोमा कर्जा प्रवाह सम्बन्धि निर्देशन आउने राष्ट्र बैंकका प्रवक्ताले मनमोहन श्रेष्ठले बताए। बैंकको आन्तरिक समितिमा छलफल भइरहेको र निर्देशनले अन्तिम रुप पाएको उनले जानकारी दिए।
हाल डिम्याट भइसकेका सेयर धितोमा राखेर कर्जा लिने व्यवस्था नभएकोले पनि बजारमा पूँजी भित्रन सकेको छैन्। त्यस्तै, लगानीकर्ताहरुले लाभांश प्राप्त गर्न अधिकांश कम्पनीका सेयरहरु नामसारीमा पठाएकाले नयाँ बिटी लोन समेत जारी भएको छैन्। नामसारीमा पठाएका सेयरको प्रमाण पत्र जारी नहुने भएको छ। साथै, यसरी नामसारीमा पठाएको सेयरको अभिलेख राख्न लगानीकर्ताले डिम्याट खाता अनिवार्य रुपमा खोल्नुपर्ने व्यवस्था गरिएकोले पनि उनीहरुले सेयर धितोमा राख्न पाएका छैनन्।
मंगलवार एक सय २४ कम्पनीको छ लाख बढि सेयर किनबेच भयो। २७ करोड लाख रुपैयाँको कारोबार भयो।