BIZMANDU
www.bizmandu.com

गाडी भाडा नबढाउन संसदीय समितिको निर्देशन, समितिले सोध्यो: इन्धनको भाउ घट्दा भाडा वृद्धि किन ?

२०७१ कात्तिक १२

सविन मिश्र/बिजमाण्डू
काठमाडौं । सरकार र यातायात व्यवसायीले दुई महिना अघिको सहमित भन्दै शनिबारदेखि सार्वजनिक सवारीको भाडा बढाउने तयारी गरे पनि तत्काल नबढ्ने भएको छ। व्यवस्थापिका संसदको आपूर्ति व्यवस्था तथा उपभोक्ता हित उपसमितिले सार्वजनिक सवारी साधनको भाडा नबढाउन निर्देशन दिएसँगै भाडा वृद्धिको सरकारी योजना तत्काल कार्यान्वयन नहुने भएको हो।

Tata
GBIME
Nepal Life


भाडा बढाउन गरिएको प्रस्ताव

पेट्रोलियम पदार्थको मूल्य पछिल्लो एक महिनामा दुई पटक घटेपनि सरकारले भने गाडी भाडा वृद्धिको तयारी गरिरहेको थियो। इन्धनको मूल्य घट्दै जाँदा गाडी भाडा बढाउने सरकारी तयारीको कडा आलोचना हुँदै आएको छ।

पेट्रोलियम पदार्थको मूल्य अटोमेशनमा लैजाने सरकारो निर्णयसँगै पेट्रोलियम पदार्थको भाउ घटिरहेको बेला भाडा बढाउनु जायज नहुने भन्दै तत्काल नबढाउन निर्देशन दिइएको उपसमिति संयोजक सुभाषचन्द्र ठकुरीले जानकारी दिए।


स‍‌सदीय समितिको निर्देशन

'अन्तर्राष्ट्रिय बजारमा पनि पेट्रोलियम पदार्थको मूल्य घटिरहेको छ र नेपालमा पनि अटोमेशनमा गएपछि मूल्य घट्दैछ,' ठकुरीले भने, 'यस्तो अवस्थामा भाडा समायोजन हुनुपर्नेमा बढाउने निर्णय गर्नु जायज भएन।' सभापति ठकुरीले वैज्ञानिक भाडादर कायम गर्ने विषयमा अध्ययन गरी निश्कर्षमा पुग्न पनि निर्देशन दिएको बताए।

यातायात व्यवस्था विभागले संसदीय समितिको बैठकमा बसमा ५.६३ प्रतिशतले, मालबाहक सवारी साधनमा तराईमा ५.२७ तथा पहाडमा ५.२१ प्रतिशतले र ट्याक्सीमा ६.६८ प्रतिशतले भाडा वृद्धिको प्रस्ताव गरेको थियो।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव तुलसीप्रसाद सिटौलाले आफूलाई औपचारिक रुपमा निर्देशन प्राप्त नभइसकेको भन्दै यस बारेमा बिहीबार मात्रै निर्णय हुने जानकारी दिए।

यस्तै यातायात व्यवस्था विभागका महानिर्देशक काशिराज दाहालले समितिको निर्देशन मध्यनजर गर्दै अघि बढ्ने बताए। दाहालले भदौमा भएको निर्णय अहिले कार्यान्वयन गर्न लागिएको भन्दै यसबारेमा थप अध्ययन गर्ने बताए।