काठमाडाैं । तिहार विदा सकिएपछि प्रमुख तीन दल विद्यमान विवाद समाधानका लागि आजदेखि फेरि वार्तामा जुट्दैछन्। कुकुर तिहारको दिन गोकर्ण रिसोर्टमा भएको बैठकपछि तीन दल आज पहिलो पटक वार्तामा जुट्न लागेका हुन्।
आइतबार बिहान बाबुराम भट्टराई नेतृत्वको संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिको संयोजनमा तीन दलका शीर्ष नेताको उपस्थितिमा दलका बीचमा रहेको विवादका विषय ‘न्यायप्रणाली’माथि छलफल हुँदैछ।
छलफलमा प्रधानन्यायाधीश तथा सर्वोच्च अदालतका न्यायाधीशहरू आउने छन्।
त्यसैगरी, निर्वाचन प्रणालीबारे प्रमुख निर्वाचन आयुक्त तथा निर्वाचन आयुक्तहरूसँग पनि आइतबार बिहान छलफल हुने भएको छ।
सिंहदरबारमा हुने यी छलफलपछि आइतबार अपराह्न प्रमुख तीन दलका शीर्ष नेताहरूबीच पहिले छुट्टाछुट्टै र सोमबार सामूहिक रूपमा बैठक बस्नेछ।
संवाद समितिकै संयोजनमा प्रमुख दलबीच बैठक हुन लागेको हो।
संवाद समितिलाई सहमति कायम गर्ने समयावधि कात्तिक १५ गतेसम्मका लागि तोकिएको छ।