सरकारी जागिर छाडेर सेयर बजारमा छिरेका अम्बिकाप्रसाद पौडेल अहिले हाथ्वे इन्भेष्टमेन्ट नेपाललाई लिड गरिरहेका छन् । सेयर बजारमा गरेको लगानीबाट मुनाफा कमाएपछि हाथ्वेले यसै वर्ष मात्रै झण्डै ४६ प्रतिशत बोनस सेयर र छ प्रतिशत नगद लाभांस वितरण गर्यो । यही कम्पनीले अब सर्वसाधरणका लागि १५ करोडको सेयर जारी गर्ने तयारी गरिरहेको छ । पौडेललाई बिजमाण्डूका सुदर्शन सापकोटा र विजयराज खनालले सोधे, के नेपालको सेयर बजारमा अब पनि फेरी बुल होला ?
११७५ लाई एक्सिड नगरिकन बुल हुदैन भन्नुभयो । त्यो एउटा कुरा हो, तर अरु आधार के हुन त यो नै बुल होइन भन्न ?
अघिल्लो ११७५ लाई आधार मान्दाको अवस्थामा पनि अहिले बुल हुन बजार कम्तिमा पनि १८ सय अंक माथि हुनुपर्दछ । १८ सय माथिको अंक भए ११७५ को अवस्थालाई छोएको मान्न सकिन्छ । किन भन्दा तपाईले त्यतिवेला स्ट्याण्डर्ड चार्टर्ड, नबिल बैंकको मूल्य हेर्नुस न । त्यतिवेलाका बिकास बैंकहरुको मूल्य हेर्नुस न ।
स्ट्याण्डर्ड चार्टर्ड बैंकको त्यतिवेला ९२ सय रुपैयाँ सेयर मूल्य थियो, एक सय ३३ रुपैयाँ प्रतिसेयर आम्दानी थियो । अहिले उसको प्रतिसेयर आम्दानी एक सय ३३ को आधा त छ तर सेयर मूल्य आधा छ ? अहिले पनि चार्टर्डको मूल्य तीन हजार रुपैयाँ पुग्न सकेको छैन ।
नेप्से यसअघि १०८४ मा पुग्दा त्यही हिसाबले पनि उसको सेयर मूल्य ४५ सय त हुनु पर्दथ्यो नि । हामी अरु कुरा छोड्दिउँ, प्रतिसेयर आम्दानी नै हेर्ने हो भने उसको ग्रोथ त प्रत्येक बर्ष भएकै देखिन्छ । लगानीकर्ताले पाउने प्रतिफलमा वृद्धि नै भएको देखिन्छ । त्यसैगरी, चिलिमे हाइड्रोपावरदेखि टेलिकमसम्म हेरौं ।
टेलिकम कै प्रतिसेयर आम्दानी नेप्से ११७५ मा पुगेको समयभन्दा अहिले बढि छ । त्यतिखेर टेलिकम करिब १५ सय थियो तर अहिले सेयर मूल्य छ सय रुपैयाँ छ । नेटवर्थ पनि अहिले बढि छ । यो कुराले १०८४ त त्यो समयको आधा पनि होइन रहेछ भन्ने देखाउँछ ।
बजार हेर्यो, बजारको परिमाण हेर्यो भने पनि बढेको छ । मेरो बिचारमा लगानीकर्ता पनि बढेका छन् । हाम्रो जीडिपी पनि बढेको छ । त्यो समयभन्दा अहिले त हाम्रो राजस्व पनि बढ्यो होला, हाम्रो क्रय शक्ति, हाम्रो अर्थतन्त्र पनि बिस्तार भयो होला नि ।
अघिल्लो चोटी पाँच सय रुपैयाँ सेयर मूल्य रहेका कम्पनीको सेयर मूल्य छ बर्ष पछि पनि आएर पाँच सय भन्यो भने त त्यसको भ्यालुले पनि डिटरमाइन त गर्नुपर्छ होला नि ? यो कुरा बजारले रिफ्लेक्ट नगरेको हो ?
म चाँही प्राइस भ्यालुले डिटरमाइन गर्नुपर्छ, पाँच सयको व्याज नै जोड्नु पर्छ भन्ने मान्दिन । किनभने प्रतिफल हेर्नुपर्छ । त्यो बेला पाँच सय लगानी गर्दा कति प्रतिफल पाएको थियो र आज दुई सय ५० लगानी गर्दा त्यति नै रिर्टन पाएको छ । अरु कुरा छोडौं, तपाईले भनेको कुरा तथ्य हो, पाउनु पर्दथ्यो पाँच सय रुपैयाँको एक हजार तर त्यो हाम्रो मुद्रास्फिती दर, व्याजदर हेरेर पनि हुनुपर्ने हो । तर बजारमा त्यो कुरा हेरिंदैन ।
हामीले हेर्नुपर्ने प्रतिफल हो । त्यसैले गर्दा आजको मितिमा बजार कमजोर छ, अण्डर प्राइसिङ छ भन्ने मलाई लाग्छ । अनि यो नै बुल होइन भन्ने किन पनि हो भने त्यति बेला बजारमा कम्पनीहरुको मूल्य आम्दानी अनुपात र अहिलेको मूल्य आम्दानी अनुपात हेर्दा पनि छुट्याउन सकिन्छ । आजको मार्केट प्राइसमा तपाईले एक सय रुपैयाँ लगानी गरेर पाउने प्रतिफल पहिलेभन्दा घेरै गुणा बढि छ ।
तपाई हामी सेयर बजारका बिषयमा थोर बहुत जानकारी राख्छौं । धेरै पटक हामीले बजार घट्छ भनेको बेला बढेर सर्किट ब्रेक नै लागेको अवस्था पनि देखेका छौं । त्यसैले बजारको सुन्दर पक्ष भनेकै असाध्यै छोटो समयको प्रक्षेपण गर्न नसक्नु हो । मेरो बिचारमा यो भनेको सेयर बजार परिपक्व भइरहेको अवस्था हो । हामीले छ महिनाको, तीन महिनाको, दुई महिनाको प्रक्षेपण गर्न सक्छौं, आजको आजै सक्दैनौं । त्यो नहुन सक्छ ।
लाभांश घोषणाको जुन कुरा भयो, त्यसमा पनि यस्तै भएको हो । आजैको आजै प्रक्षेपण गर्न नसक्नु । बजार सधै बढेको बढ्यै गर्छ भन्ने अपेक्षा गर्नु कतिको ठीक हो । बजारले पनि आराम गर्नु पर्दैन । बजार म्याराथनको दौंड जस्तो होइन, जुन एउटा बिन्दुबाट शुरु भएर अर्काे बिन्दुमा अन्त्य हुन्छ । यो सेयर बजार हो, यो भोगाई हो, यो सगरमाथा चढाई हो ।
यर्थाथमा भन्दा कुनैपनि व्यक्ति सगरमाथाको नाम्चे बेस क्याम्पबाट एकैचोटी चुचुरामा पुग्दैन । पाँच हजारबाट माथि लागि सकेपछि पुग्छ ५२ सयको उचाईमा, बास बस्छ ५१ सयमा । लगातार गइरह्यो भने त उसलाई पनि रिंगाटा लाग्छ । अर्थात् यस्तै प्रक्रियामा छ हाम्रो बजार । अहिले वातावरण राम्रो हुदैछ, एक दिन हामी एउटा उचाईमा पुग्छौं ।
त्यसो भए यतिखेरको बजारलाई यसरी बुझौं, बजार बढ्दो प्रवृत्तीमा छ तर निश्चित अवधिको लागि तल बसेको मात्रै हो, लगानीकर्ताले पाउने प्रतिफलको कारणले बजार घटेको होइन?
बिलकुलै होइन । यो बजारको सामान्य सिद्धान्त देखिएको अवस्था हो । यो बजार घट्दो अवस्था उन्मुख होइन । किन होइन भने धेरै सुचकहरु हामीसंग छन । पहिलो, व्याजदर अहिले पनि घट्दो अवस्थामा छ । दोस्रो, बैंक तथा वित्तीय संस्थामा पर्याप्त मात्रामा तरलता छ । तेस्रो यो बर्ष भर्खरै हामीले दशैं सकेका छौं, नेपालमा सबैभन्दा बढि बैकिङ प्रणालीमा रकम भित्रिने समय यही हो । चौथो, केही बैंक तथा वित्तीय संस्थाले लाभांश घोषणा गरे पनि धेरै कम्पनीको बाँकी नै छ । अहिले लगानी गर्नु भनेको दुई बर्षको प्रतिफल एक बर्षमा लगानी गरेर पाउनु हो ।
पाँचौं पक्ष, हाम्रो राजनीति सकारात्मक दिशा उन्मुख छ, संविधान निर्माणको विकल्प छैन । छैठौं पक्ष, अन्य क्षेत्रहरु पनि बिस्तारै संगैसंगै आउँछन र त्यसको प्रभाव बजारमा फेरी पनि पर्छ । त्यसकारण, मैले बजार घट्ने छ, १०८४ को उचाई अन्तिम हो भनेर मान्दिन । यो बिन्दुमा बजारले आफ्नो मौलिक, स्वभाविक प्रक्रियामा देखाएको हो । यसभन्दा अघिको बजारलाई हेर्यो भने पनि थाहा हुन्छ ।
१०६३ बाट सात सयभन्दा तल आएर अर्काे छ महिनामा ११७५ पुगेको अवस्था, त्यसलाई पनि बिर्सन हुन्न । विश्वको सबै बजारमा हेर्ने हो भने लगतार बढिरहने वा घटिरहने हुदैन । कुनै बिन्दुमा पुग्नका लागि त्यही बिन्दुमा रहन चलखेल पनि बजारले गर्छ । त्यही प्रक्रियामा हाम्रो बजार छ ।
त्यसो भए अब बजारको उचाई कति हुने अनुमान गर्नु हुन्छ ?
मेरो विचारमा कम्तिमा पनि १८ सय । अबको बुल १८ सय हुनुपर्छ । सिद्धान्ततः १८ सय माथी नै हुनुपर्छ । २४, २५ सय हुनुपर्छ । अहिलेको हाम्रो नेप्सेको मिजरिङ पनि केही ग्यापिङ छ, पहिले मनमा हुन्थ्यो, अहिले केजीमा जस्तो भा’छ । बुल भनेको अन्य क्षेत्रमा गरेको लगानीभन्दा सबैभन्दा धेरै प्रतिफल पाउने अवस्था हो । त्यसरी पनि हेर्नुपर्छ । तपाईले त्यही रकम बैंकमा राख्दा पाँच प्रतिशत व्याज पाउनु हुन्छ र सेयरमा लगानी गर्नुभयो भने लगानीको मात्र हिसाब गर्दा दुई प्रतिशत पनि आउँदैन, भने मात्र वियरिश हो । तर अहिले त बैंकमा लगानी गर्नु भयो भने दुई प्रतिशत र सेयरमा लगानी गर्नु भयो भने छ प्रतिशत कमाउन सकिन्छ ।
नेपालको सेयर बजार अण्डर प्राइसिङ छ । ल मलाई भन्नुस्, आजको दिनमा कुनै प्राजेक्टमा मैले लगानी गरे भने चार बर्ष पाँच बर्ष भित्र बल्ल लाभांश पाइन्छ । अर्काे चार÷पाँच बर्षमा बल्ल पे ब्याक दिन सक्छ । यहा हेर्नुस्, यहा आज एकसय रुपैयाँ लगानी गर्नुस्, अर्काे कात्तिकमा १० रुपैयाँ आम्दानी हुने पर्याप्त सेयरहरु म भन्न सक्छु । त्यसपछिको बर्ष अर्काे १५ प्रतिशत प्रतिफल पाउन सकिन्छ । अहिले पनि मेरो बिचारमा केही सेयरमा ओभर प्राइसिङ होला तर अधिकांश सेयर अण्डर प्राइसिङ छ ।
अहिले पनि बजारमा पर्याप्त तरलता छ, पूँजी बजार पूँजी सृजना गर्ने स्थान हो । अन्त अवसर भएन भने पनि यो क्षेत्र छ भन्ने हो । तर हामीले के बुझाउँन सकेनौं भने यो बजारबाट अरुलाई पुँजी दिन सकिन्छ भनेर बुझाउन सकेनौं ?
हामीले बुझाउन नसकेकै हो । मैले अघि पनि भने यो लगानीको सबैभन्दा उपयुक्त क्षेत्र हो । किनभने समसामयिक अन्य क्षेत्रले दिने प्रतिफलभन्दा बढि दिने क्षेत्र हो । हजार हुनेदेखि हजार करोड हुनेले पनि लगनी गर्न सक्छ । यो क्षेत्रमा आज गरेको लगानीले आजै प्रतिफल आउने अवस्था बन्छ, भनेर बुझउन नसकिएको हो ।
यस अघिको बुलमा एक सयदेखि दुई सयको सेयर किन्छु भन्दा पाइने अवस्था थिएन, तर अहिले धेरै कम्पनीको पाइन्छ । के अब लगानीकर्ता पनि सचेत भए भनेर बुझ्न मिल्छ?
हो, बुल भयो भन्दैमा सबै कम्पनीको सेयर मूल्य बढ्छ भन्न मिल्दैन । त्यस्तै समूहगत सूचकमा मात्र बुल आउन पनि सक्छ । तर अहिले १०८४ पुगेको अवस्थामा बुल नै नआएको मेरो तर्क छ । त्यसैले कुन क्षेत्रमा बुल भयो भनेर म भन्न सक्दिन । कुनै बेला बुल ल्याउन टेलिकमले पनि साथ दिएको थियो । ११७५ हुँदा बैंक क्षेत्रको एक हजारभन्दा केही माथि थियो, ‘अन्य’ को १४/१५ सय थियो । बीमाको आठ सय-साढे आठ सय थियो । तर त्यसलाई मात्र हेर्नु हुदैन । कुनै कम्पनीको त्यतिखेर पाँच हजार रुपैयाँ थियो भने त पाँच बर्षपछि त्यो कम्पनी मजबुद भयो होला नि । हिजो जन्मेको मात्र थियो भने आज दुई चार मुक्का हान्न सक्ने पनि भएको छ नि ।
त्यसो त पहिले हजार बढि मूल्य पर्ने वाणिज्य बैंकको सेयर अहिले पाँच सयमा पाइएको छ, बैंकले पनि १५ देखि २० प्रतिशत प्रतिफल दिइरहेका छन् । तर पनि लगानीकर्ता किन्न चाहिरहेका छैनन्, के लगानीकर्तालाई तपाईले भने जस्तै यो सस्तो सेयर हो भनेर बुझाउन नसकिएको हो ?
पब्लिकले त्यही बुझ्न बाँकी छ र त बुल आउन बाँकी छ । किन भने आज पब्लिकले पाँच सय रुपैयाँमा सेयर किनेर २० प्रतिशत प्रतिफल पाउँछ, आज पब्लिकले पाच सय रुपैयाँ बैंकमा राख्दा बार्षिक पाँच/छ प्रतिशत व्याज पाउँछ भने यो सबैले नबुझेको अवस्था हो । विस्तारै यो कुरा बझ्दै जान्छन । हिजो के भयो भने आम लगानीकर्तपनि सेयर बजार प्रति नकारात्मक भए । यसलाई पेशा बनाएर हिड्ने मान्छेले त सबै उतारचढाव देख्दै आएको छ । तर मास लगानीकर्ताले सेयर बजारमा लगानी गर्ने वातावरण बन्दै जानुपर्छ । त्यो त नभएको देखियो नि ।
तपाई कै प्रश्नबाट बुल आएको छैन भनेर म प्रमाणित गर्न सक्छु किनभने मास पिपल आएनन । बैंकमा पैसा राख्दा १५ रुपैयाँ प्रतिफल पाइने, सेयरमा लगानी गरे २० रुपैयाँ पाइने । सेयरमा लगानी गर्न उपयुक्त होइन त । लगानी गर्दा क्यापिटल गेन हुने चान्सेस बढि छ । अहिले पनि बचत गर्ने, अन्य क्षेत्रमा लगानी गर्नेको यता अझै आँखा पुगेको देखदैन । त्यैसले ती लगानीकर्ता यता आउन बाँकी छ । उनीहरु आएपछि मात्रै बजार बढछ ।
१०८४ पुग्दा सबै किसिमका लगानीकर्ता थिए, तर बजार घटेपछि घटेका छन् । के यो त्रासले अब बुल आउने समयलाई पछि धकेल्दैन ?
त्यस्तो पनि हुदैन । किनेभने सबै परिसुचक हेरेर, सबै प्यारामिटर हेरेर सबैले लगानी गरेका हुदैनन, त्यो पनि हो । एउटा टाइम पनि हो, एउटा ह्विम पनि हो । किनभने हामीले पहिलाको सबै तथ्यांक हेर्यौं भने देख्छौ सेयर बजारको एउटा नियमित टाइम हुन्छ । एउटा टाइम फ्रेममा यो अघि बढ्ने र स्टप हुने अनि घट्ने गर्छ । ती अघि भनेका सूचकले यसलाई सर्पाेट गर्ने हो । हाम्रो टाइम फ्रेम अहिलेको लागि अझै छ, बुल बन्न आठ महिना लाग्छ ।
तपाईले अघि भन्नु भएको छ, बजार बुल हुन ठुलै मास आउनु पर्छ । तर हामीले देख्दा यसमा बाधा छ । किनभने नियामक निकायले लगानीकर्ता आउने वातावरण बनाउन सकेको छैन, अर्काे हाम्रो बजारमा ठुला लगानीकर्ताको चलखेल छ भन्ने डर छ ।
त्यस्तो होइन । म त्यसमा त्यति सहमत छैन, किनभने आम जनता अहिले पनि संविधान बन्ला नबन्ला, शान्ति भङ्ग होला कि भन्ने बिषयमा बढि चासो राख्छन । तर अब संविधान बन्ने कुरा छ, अर्काे सबैभन्दा राम्रो सीडीएससी सञ्चालनमा आउँदैछ । अहिलेसम्म सेयर बजारमा आम जनता आउन नसक्नुको कारण, तपाईले सुन किन्नु भयो भने आजै पाउनु हुन्छ, जग्गा किन्नु भयो भने पनि आजको आजै आउँछ ।
तर सेयर किन्नु भयो भने प्रमाणपत्र आजको आजै आउदैन । अस्ति बोलकबोलबाट नेपाल बैंकले सेयर बेच्यो, एकै दिन बिक्री भयो । त्यती सेयर एकै दिन बजारमा ल्याउनुस त । ग्लोबल आइएमइ बैंकले अस्ति तीन लाख ५० हजार कित्ता सेयर एकै दिन मार्केटमा चलेको मूल्यमा सेयर बिक्री गर्यो । तीन लाख ५० हजार कित्ता सेयर आज मैले १० प्रतिशत घटाएर बेच्न खोजे भने पनि बजारमा बिक्री गर्न सक्दिन ।
हो, नियमक र सिस्टम प्रति लगानीकर्ताको विश्वास छैन । सेयर किन्यो पैसा कहिले आउने हो, प्रमाण पत्र कहिले आउने हो, त्यो पनि थाहा हँुदैन । अब भोलीका दिनमा सीडीएससी कार्यान्वयनमा आएपछि यो समस्या हुँदैन । लगानीकर्ता प्रमाणपत्र बोकेर हिड्नु पर्दैन, नामसारीको प्रक्रिया सहज हुन्छ, ब्रोकरको कार्यक्षमता बढ्छ । लगानीकर्ताको पनि बजार प्रति विश्वास बढ्छ । सिस्टम आजभन्दा परिस्कृत हुन्छ, तरलता बढ्दै छ, त्यसले गर्दा बजारमा लगानीकर्ताको ओइरो लाग्छ ।
एकखाले विश्लेषक/लगानीकर्ता सेयर बजारको पाँच बर्षको साइकल छ र यो पटक त्यो साइकल पुरा भयो बजार जसरी पनि घट्छ भन्छन, के हो ?
उहाँहरुले बुझ्नुपर्छ कि, एकमा एक जोड्दा दुई हुने अंक गणित कुरा बजारमा कहिले पनि लागू हुँदैन । त्यही साइकललाई रटान दिएर, त्यही प्रवृत्तिमा हिड्छौं भन्ने हो भने हामीले पहिले गरेका सबै प्रक्षेपण मिल्थे होला । लाभांश घोषणा गर्दा वियरिश ट्रेन्डमा बजार पनि घट्दैन्थ्यो होला । अहिले केही बढेको हुन्थ्यो होला । तर अहिले घटिरहेको छ । त्यसो भएको हुनाले उहाँहरुको आफ्नो खालको विश्लेषण हो । उहाँहरुले कल्पाना गर्नु भएको सिद्धान्त भनेको आर्दश समाज, आदर्श राजनीति र आर्दश बजारमा गरेको विश्लेषण हो । हाम्रो अवस्थामा पूर्ण थ्योरीले काम नगरेको अवस्था हो ।
त्यो हुनाले म यहाँ पनि पाँच बर्षको साइकल हुन्छ भन्ने कुरामा सहमत छैन् । त्यो साइकल, दुई वर्ष, तीन बर्ष, १० बर्ष पनि हुन सक्छ । बिकसित बजारमै पनि कति स्थानमा पहिलेको साइकलभन्दा दोस्रो लम्बिएको वा छोट्टिएको देख्न सकिन्छ । राजनीतिक अवस्था, आर्थिक अवस्था, जनताको सोच, बजारमा नयाँ प्रणाली र पुरानो प्रणालीको समायोजन लगायतले निर्धारण गर्छ । त्यसैले मलाई लाग्दैन पाँच÷छ बर्षमा नै बुल र वियरिशको टे«ेण्ड सकिन्छ ।
नियामक निकायले कस्न थाले र ठुला लगानीकर्ताले अहिले सेयर बेच्न थाले, यही कारण बजार १०८४ बाट तत्काल घट्यो भन्ने पनि बुझाइ छ ?
त्यतिवेलाको अवस्था पनि अलि बेग्लै थियो । बजरमा किन्ने र बेच्ने दुवै थिए । यो गतिले आराम गर्नुको कारण अलिकति राजनीतिक अस्थिरताको कारण पनि थियो । कहिलेकाँही स्थिर गतिमा गइरहेकोमा एकै चोटी फाल हाले जस्तो पनि हुन्छ ।
त्यो बेला साना मात्र होइन ठुला लगानीकर्ता पनि बजारबाट भागेका हुन । नियामक निकायले राफसाफमा कडाइ गरेपछि साथमा पैसा नै नलिइ लगानी गरिरहेका र तीनका आसेपासे भागेपछि बजार सुस्ताउनु पर्ने अवस्थामा पुगेको हो । अर्काे तर्फ अधिकांश लगानीकर्ताको विश्वास के थियो भने असार र साउनमा सेयर बजारले नयाँ उचाई बनाउँछ । त्यही समय बजारबाट निष्कनु पर्छ । बुलिश अझै छिटो आउँछ भन्ने सोच उनीहरुमा थियो । भदौंमा निष्कने भन्ने थियो ।
कताकता सेयर बजारमा झुण्डको रुपमा आउने लगानीकर्ताको चरित्र कस्तो थियो भन्दाबजारलाई पेशाको रुपमा होइन की, क्षणिक ग्याम्ब्लिङको रुपमा लिएका थिए । त्यसमा नयाँ पुराना सबै खालका लगानीकर्ताको त्यत्तिकै भुमिका थियो । ठूला लगानीकर्ताले यसलाई पेशा बनाएको हुन्छ । उ कहिले पनि बजार बिग्रियोस भन्ने चाहँदैन । त्यो त सिजनेबल रुपमा आउने लगानीकर्ता नै बढि जिम्मेवार हुन्छन ।
तपाई आफै पनि लगानीकर्ता, तपाई पब्लिकलाई भन्न सक्नु हुन्छ लगानी गर्नुस् नोक्सान हुदैन भनेर ?
मसंग पर्याप्त आधार छन । सेयर बजारमा आज पनि बिचार गरेर लगानी गर्ने, राम्रो कम्पनी छान्नुस, तपाईलाई कही कतैबाट पनि घाटा हुदैन । तपाईले भविष्यको लागि कुनै पनि बैंक तथा वित्तीय संस्थामा रकम राख्नु भएको छ भने प्रतिफल हेर्नुभयो भने निकै कम छ । आज पनि सेयर बजारमा यति धेरै स्क्रिप्ट छन, रिर्टन १० प्रतिशत छ । त्यता तीन प्रतिशत छ यता १० प्रतिशत छ । बैंकमा राखेको पैसा आज तीन प्रतिशतको सट्टा धेरै राम्रो हुँदा पाँच प्रतिशतसम्म पुग्ला । तर क्यापिटल गेन हुदैन । सेयर बजारमा तपाईले अरु क्षेत्रमा भन्दा राम्रो प्रतिफल पाउनु भएको छ भने त्यति नै मात्रामा पूँजीगत लाभ पनि पाउनु हुनेछ ।
आज पाँच सयको सेयर किन्दा भोली पाँच हजारको हुन्छ तर बैंकमा राखेको निक्षेपबाट त्यतिको प्रतिफल पुस्तौंसम्म आउँदैन । अरु क्षेत्र सेयर बजार जति फ्लोरिश भइसकेको छैन, जति सेयर बजार छ । अरु क्षेत्रमा जस्तो यस क्षेत्रमा कुनै पनि समस्या छैन । राम्रोसंग ठुला लगानीकर्ताले अर्बाैको फण्ड बनाएर लगानी गर्न सक्छ भने सानाले पनि आफ्नो पूँजी बैंकमा राख्नको सट्टा राम्रा विज्ञसँग, बुझेको व्यक्तिसँग वा आफूले राम्रोसंग अध्ययन गरेर लगानी गर्नु भयो भने त्यो लगानी भोलीको लागि सबैभन्दा उपयुक्त हुन्छ । सुन्दर भविष्यको लागि सेयर बजारभन्दा राम्रो क्षेत्र अरु हुन सक्दैन । किनभने यो क्षेत्रमा सबै तह र तप्काका मानिसहरु सहभागी हुन सक्छन । यति इन्जोय गर्न सक्ने, लगानी गर्न सक्ने ठाउँ भनेको नेपालको पूँजी बजार मात्रै हो ।
अब फरक प्रसङ्गमा जाउँ, तपाईं हाथवे इन्भेष्टमेन्ट कम्पनीलाई लिड गरिरहनु भएको छ । यो वर्ष सबैभन्दा पहिले साधरणसभा गर्नुभयो, लगानीकर्तालाई राम्रै लाभांस दिनुभयो । तपाईंले लिड गरेको कम्पनीबाट सर्वसाधरणले कहिले लाभांस पाउँछन् ?
हामीले भर्खरै बार्षिक साधारण सभा सक्यौं । कम्पनी रजिष्ट्रारको कार्यालयमा हाम्रो सेवा लगत तयार भएको छ । हामी प्रक्रियात रुपमा अन्य नियमन निकायसँग पुग्दैछौं । मर्चेन्ट बैंकसंग सम्झौता गरेका छौं । अब मर्चेन्ट बैंकले कुन-कुन प्रक्रिया पुराउन भन्छ सोही अनुसार गर्ने छौं । यही आर्थिक बर्ष भित्र हामी सेयर जारी गर्ने लक्ष्यमा छौं ।
तर तपाईहरुको इन्भेष्टमेन्ट कम्पनी हो । सहज होला त निष्कासन अनुमती प्रक्रिया?
कुनै पनि कुरा आफैमा सहज हुदैन, त्यो हामी स्वीकार्छाैं । तर हामी यो क्षेत्रबाट सेयर जारी गर्ने पहिलो कम्पनी हुन चाहान्छौं । हामी प्रक्रियागत रुपमा जान्छौ, नियामक निकायले तोकेको मापदण्ड हामी पुरा गरेर जानसक्छौ भन्ने हाम्रो विश्वास छ । अब इन्भेष्टमेन्ट कम्पनीलाई बजारमा सुचीकृत हुनै दिदैनौं भन्ने मान्यता सम्बन्धित निकायहरुमा रह्यो भने हामी असफल होलाउँ । होइन, भने हामी उसले दिएका सबै मापदण्ड पुरा गर्न सक्छौ र गरेर नै जान्छौं ।