BIZMANDU
www.bizmandu.com

ग्लोबल, आइएमई र लर्डबुद्ध एक भए, २५ गतेबाट एकीकृत कारोवार

२०६९ असार २१

ग्लोबल, आइएमई र लर्डबुद्ध एक भए, २५ गतेबाट एकीकृत कारोवार
ग्लोबल, आइएमई र लर्डबुद्ध एक भए, २५ गतेबाट एकीकृत कारोवार

काठमाडौं । ग्लोबल बैंक, आइएमइ फाइनान्स र लर्डबुद्ध फाइनान्स गाभिएर आगामी मंगलबारबाट एउटै कारोबार गर्ने भएको । राष्ट्र बैंकले गाभिनका लागि अन्तिम स्वीकृति दिइसकेको छ । २५ गते मंगलवारबाटै माछापुच्छ्रे बैंक र स्टेण्डर्ड फाइनान्सले पनि एकीकृत कारोवार गर्दैछन् ।
नयाँ कम्पनीले ग्लोबल आइएमइ बैंक लिमिटेडका रुपमा कारोबार गर्ने छ । वाणिज्य बैंकसँग दुई फाइनान्स कम्पनी मिसिएको यो पहिलो मर्जर हो । ग्लोबल बैंक र आइएमइ फाइनान्स पहिले नै मर्जर गर्ने सम्झौता गरिसकेका थिए । एउटै संस्थापक समुह भएकाले लर्डवुद्ध पछि मर्जर प्रक्रियामा आएको हो । ग्लोबल र आइएमइले लर्डवुद्धलाई मर्जरका रुपमा सकारेका हुन् ।
बैंक र फाइनान्स मर्जरपछि बैंकको चुक्ता पुँजी २ अर्ब १४ करोड रुपैयाँ पुग्ने छ । अहिले ग्लोबल बैंकको चुक्ता पुँजी १ अर्ब ६० करोड रुपैयाँ छ । आइएमइको ३६ करोड र लर्ड वुद्धको १८ करोड रुपैयाँ छ ।
आईएमईसँग गाभिनका लागि ग्लोबलको सेयर मूल्यांकन १०५, आइएमईको एक सय रुपैयाँ लर्डवुद्धको प्रति सेयर ७० रुपैयाँ मूल्यांकन गरिएकोे छ । मर्जरपछि नयाँ सञ्चालक समितिमा ग्लोबल बैंकमा सञ्चालक रहेका लर्ड वुद्धका दुई जना संस्थापक सेयरधनीले निरन्तरता पाउने छन् । लर्ड वुद्धका संस्थापक सेयरधनी सुरज श्रेष्ठ र पुष्पमान श्रेष्ठ ग्लोबलमा सञ्चालक छन् ।
लर्ड वुद्धले पशुपति डेभलपमेन्ट बैंकसँग मर्जर गर्न सम्झौता गरिसकेको थियो । तर बीचमा दुई कम्पनीबीच कुरा नमिलेपछि लर्ड वुद्ध ग्लोबलसँग आएको हो । लर्ड वुद्ध र पशुपतिले पहिले नै आफ्नो सम्पति तथा दायित्वको मूल्यांकन गराइसकेकाले ग्लोबलसँग गाभिने प्रक्रिया चाँढो टुङ्गिएको हो ।
ग्लोबल बैंकको अध्यक्ष चन्द्र ढकाल हुन् । उनले नयाँ मर्जरमा पनि निरन्तरता पाउने छन् । आइएमईमा हेमराज ढकाल र लर्डवुद्धमा भरतकुमार श्रेष्ठ अध्यक्ष छन् । संस्था गाभिएपछि कर्मचारी संख्या ६ सयको हाराहारीमा पुग्ने छ ।
एउटै समुहमा रहेको एकभन्दा वढी संस्थालाई गाभिन राष्ट्र बैंकले दवाव दिएपछि तीन वटै संस्था मर्ज भएका हुन् । राष्ट्र बैंककै दवावमा एनआइसी बैंक र बैंक अफ एसिया नेपाल मर्ज हुन लागेका छन् ।

Tata
GBIME
Nepal Life