BIZMANDU
www.bizmandu.com

एउटा जहाज आउन ढिलाइले अरु आउने पनि अनिश्चित, वाई१२ ई आउने मिति अझै टुंगो लागेन

२०७१ भदौ ३०

एउटा जहाज आउन ढिलाइले अरु आउने पनि अनिश्चित, वाई१२ ई आउने मिति अझै टुंगो लागेन
एउटा जहाज आउन ढिलाइले अरु आउने पनि अनिश्चित, वाई१२ ई आउने मिति अझै टुंगो लागेन

काठमाडौं । नेपाल वायुसेवा निगमलाई चीनले अनुदानमा दिएको वाई १२ ई जहाज नेपाल आउने मिति सरेकोसर्‍यै गरेपछि यो भन्दा पछि ल्याउन लागिएको जहाजहरु कहिले नेपाल भित्रने अन्योल भएको छ ।

वाई१२ ई गत असार २२ गते चीनले नेपाललाई हस्तान्तरण गरिसकेको छ । हस्तान्तरणपछि गत साउन ९ गते काठमाडौं अवतरण गर्ने कार्यक्रम थियो ।
१९ सिट क्षमताको वाई१२ ई जहाज भित्रन ढिलो भएपछि अरु जहाज भित्रने तालिका पनि प्रभावित भएको निगमका महाप्रबन्धक मदन खरेलले बताए । उनका अनुसार नेपाल ल्याउनको लागि इन्स्ट्रक्टर पाइलट (आइपी) नपाएपछि तोकिएको मितिमा जहाज नेपाल ल्याउन सकिएको छैन ।
चीनमा रहेका इन्स्ट्रक्टर पाइलटले अंग्रजी बोल्न नजान्ने रअरु देशमा वाई१२ ई उडाउन सक्ने पाइलट नपाएपछि यो जहाजको अवतरण मिति अन्योल भएको हो । खरेल भन्छन्, 'हामीले कहाँकहाँ मात्रै आइपी खोजिसक्यौ तर उडाउन सक्ने कोही पाइएन ।' उनका अनुसार चीनबाट एक हप्ता अघि आइपी आएपनि नेपाल नागरिक उड्डयन प्राधिकरणले लिने जाँचमा फेल भएका थिए ।
खरेलले यसअघि पनि चीनकै कारण एमए६० दुई महिनासम्म विमानस्थलमै थन्किएका कारण यसपटक सबै प्रक्रिया पुर्‍याएर मात्रै दोस्रो चिनियाँ जहाज ल्याउने लागिएको बताए। उनले भने, 'यहाँ ल्याएर जहाज थन्काएर राख्नु भन्दा नल्याउनु नै राम्रो भनेर ढिलो गरेको हौँ ।'
खरेलका अनुसार अब चीन र नेपाल सरकारबीच नै छलफल गरेर आइपी ल्याउने प्रक्रिया सुरु गरिने बताए । उनले भने, 'कतिपय अवस्थामा हाम्रो पहुँच नपुगेको हुन सक्छ । अब सरकारी पहलमा नै चीनलाई आइपी पठाउन अनुरोध गर्छौँ '
चीनले वाई १२ ई अनुदानमा दिन लागेको हो। यसपछि निगमले खरिद गर्ने एउटा एमए ६० र तीन वाई १२ई को तालिका पनि प्रभावित भएको खरेलले जानकारी दिए। उनले भने, 'निगमले किन्ने भनेको एमए ६० सेप्टेम्बरमा ल्याउने सेड्युल थियो । तर वाई १२ई नै आएको छैन एमए ६० कता हो कता ।'
चीनले बेलैमा जहाज उपलव्ध गराउन सकेको भए आगामी कात्तिकभित्रमा चीनबाट ६ वटा जहाज आइसक्ने थियो। अहिलेसम्म दोस्रो जहाजको टुङ्गो नलागेकोले कात्तिकसम्मको समय तालिका प्रभावित भएको पनि खरेलले बताए।
चीनले नेपाल सरकारमार्फत निगमका लागि अनुदानमा दुईवटा र सहुलियतमा चारवटा सहुलियत ब्याजको ऋणमा जहाज दिने सम्झौता भएको थियो । सम्झौताअनुसार एमए ६० नामक ५८ सिट क्षमताको एउटा र वाई १२ ई नामक १९ सिट क्षमताको एउटा जहाज अनुदानमा उपलब्ध हुनेछन्।
यसैगरी वाई १२ नामका तीनवटा र एक एम ६० नामको एउटा जहाज सरकारले ऋणमा खरिद गर्नेछ । चीनले वाई १२ नामक जहाज खरिद गर्न तीन अर्ब ७२ करोड ८० लाख र एम ६० का लागि दुई अर्ब ९४ करोड ३० लाख ऋण दिने गरी सम्झौता भएको थियो ।
चीनको एक्जिम बैंकबाट उपलब्ध हुने यो ऋण २० वर्षभित्रमा चुक्ता गर्नुपर्ने सर्त छ। सम्झौताअनुसार जहाज उडान भएको पहिलो सात वर्षसम्म ऋण र ब्याज केही पनि तिर्नुपर्दैन। आ वर्षदेखि लगातार १३ वर्षसम्म ऋण र त्यसको ब्याज तिर्दैजानुपर्ने छ। यो ऋणको ब्याजदर वार्षिक १.५ प्रतिशत रहने छ ।

Tata
GBIME
Nepal Life