BIZMANDU
www.bizmandu.com

नेपालमा लगानी गर्ने उपयुक्त समय छ : अर्थमन्त्री महत, सहमति नबने वहुमतका आधार संविधान जारी

२०७१ भदौ ३०

नेपालमा लगानी गर्ने उपयुक्त समय छ :  अर्थमन्त्री महत, सहमति नबने वहुमतका आधार संविधान जारी
नेपालमा लगानी गर्ने उपयुक्त समय छ : अर्थमन्त्री महत, सहमति नबने वहुमतका आधार संविधान जारी

काठमाडौं। अर्थमन्त्री डा. रामशरण महतले शान्ति प्रक्रिया पूरा हुने क्रमसँगै राजनीतिक स्थायित्व कायम भएकोले नेपालमा लगानी गर्ने अनुकूल समय भएको बताएका छन्।

Tata
GBIME
Nepal Life

नेपाल भ्रमणमा रहेको बेलायती संसदका सदस्यहरुको एक प्रमण्डलसँग अर्थमन्त्रालयमा भएको छलफलका क्रममा अर्थमन्त्रीले छिमेकी भारत र चीन ठूला बजारहरु रहेकोले नेपालमा लगानी गरेर विदेशी लगानीकर्ताहरुले प्रशस्त लाभ लिन सक्ने बताए।



 
छलफलका क्रममा प्रमण्डलका सदस्यहरुले नेपालको राजनीतिक अवस्था, सरकारले लिएको नीति र नेपालमा विदेशी लगानीका बारेमा जिज्ञासाहरु राखेका थिए। मन्त्री डा. महतले उनीहरुको प्रश्नको जवाफ दिने क्रममा लगानीका लागि अनुकूल नीति नियमहरु निर्माण गरी आर्थिक एजेण्डामा केन्द्रित भएकोले नेपालमा लगानी गर्ने अनुकूल समय आएको स्पष्ट पारे। 
 
'नेपालमा अत्यन्तै केन्द्रिकृत शासन व्यवस्था थियो। राजनीतिक परिवर्तनसँगै नब्बेको दशकमा आर्थिक सुधार कार्यक्रमहरु कार्यान्वयनमा ल्याइयो। त्यसले गर्दा अर्थतन्त्रको आकार बढ्ने मात्र नभै सामाजिक क्षेत्रमा समेत उल्लेख्य उपलब्धिहरु हासिल भएका छन्,' उनले भने। 
 
अर्थमन्त्री डा. महतले अहिले फेरि राजनीतिक स्थायित्व कायम गरी आर्थिक एजेण्डामा ध्यान केन्द्रित गर्न थालिएको र स्वदेशी तथा विदेशी लगानीकर्ताहरुलाई आकर्षित गर्न नयाँ आर्थिक सुधार कार्यक्रम लागू गरिएको स्पष्ट पारेका छन्। 
 
छलफलका क्रममा राखिएका जिज्ञासाहरुलाई सम्बोधन गर्दै उनले आर्थिक उदारीकरणको नीतिलाई कार्यान्वयन गर्ने क्रममा देखिएका कमी कमजोरीहरुलाई सम्बोधन हुनेगरी करिब तीन दर्जन कानूनहरुमा सुधार गर्ने काम भैरहेको बताए। 'लगानीका लागि उपयुक्त नीति आवश्यक पर्छ। सरकारले अनुकूल नीति बनाएको छ,' उनले भने। 
 
अर्थमन्त्रीले भारतसँग भएको बिद्युत व्यापार सम्झौता, नेपालमा जीएमआर लगायत अन्य कम्पनीहरुले तत्काल गर्न लागेको करिब ३००० मेगावाट  क्षमताका बिद्युत आयोजनाहरुको सञ्चालन आदिका कारण नेपालको जलबिद्युतका क्षेत्रमा लगानी गरी लाभ लिन सकिने संभावना पनि उजागर भएको उल्लेख गरे। उनले जलबिद्युतका अतिरिक्त पर्यटन र कृषि क्षेत्रमा लगानी गरेर पनि प्रचूर लाभ लिन सकिने संभावना रहेको बताए।
 
सहमतिमा संबिधान निर्माण गरी जारी गर्ने तयारी भैरहेको जानकारी दिदै अर्थमन्त्री डा महतले सहमति भएन भने पनि दुई तिहाई बहुमतका आधारमा संबिधान जारी हुने बताए। 
 
छलफलका क्रममा प्रमण्डलका सदस्यहरुले नेपालमा लगानीका संभावना, आर्थिक अवस्था, निर्यात बजार, श्रमको अवस्था, आयोजना सञ्चालनका क्रममा गर्नुपर्ने वातवारणीय प्रभाव मूल्यांकनका मुद्दाहरु, रोजगारीको स्तर जस्ता विषयमा जिज्ञासा राखेका थिए।  
 
बेलायतका सांसद सर जोन स्टेनलीको नेतृत्वमा  आएको सो प्रमण्डल अहिले नेपालको भ्रमणमा रहेको छ।भेटघाटका अवसरमा नेपालका लागि बेलायतका राजदूत एण्ड्यु जेम्स स्पार्कसको पनि उपस्थिति रहेको थियो।