ती ६ वटा ठेकदार कम्पनीको प्राविधिक र आर्थिक अवस्थाको प्रोफाइल हेर्दा चिनियाँ कम्पनी छनौट भएको प्राधिकरण स्रोतले बतायो । स्रोत भन्छ, 'चिनियाँ कम्पनीलाई दिने टुंगो लागेको छ ।
तर नाम भने बाहिर फ्ल्यास गर्न मिल्दैन ।' विमानस्थल निर्माण गर्न प्रस्ताव पेस गर्ने ६ कम्पनीमा चाइना हार्भर इन्जिनियरिङ कम्पनी, चाइना ओभरसिज इन्जिनियरिङ ग्रुप, सिनो हाइड्रो र नर्थ वेष्ट सिभिल एभिएसन कम्पनी छन् भने दुई स्पेनी कम्पनीमा सान्जोसे कालिका र आइसोलस कार्सन छन् । प्राधिकरणले प्राविधिक र आर्थिक दुवैतर्फको टेन्डर एकसाथ गरेको थियो ।
उनका अनुसार प्राविधिक तर्फ त्यहाँ प्रयोग गरिने सामाग्रीहरुबारे उल्लेख थियो भने आर्थिक पाटोतिर सो कम्पनीले पेश गरेको लागत रकम उल्लेख गरिएको थियो । ती कम्पनीले प्राधिकरणले अनुमान गरेको लागत रकमको हाराहारीमै टेन्डर हालेका थिए ।
विमानस्थल निर्माण गर्न गत साउन दोस्रो साता निर्माण कम्पनी छनोट भएको थियो । प्राधिकरणले ३ महिनाको अवधि तोकेर गत नोभेम्बर २८ मा विमानस्थल निर्माणका लागि बोलपत्र आह्वान गरेको थियो । जसअनुसार पाँच चिनियाँ र एक स्पेनी कम्पनीले प्रस्ताव पेस गरेका थिए ।
ती कम्पनीको अवस्थाबारे एसियाली विकास बैंक (एडीबी) ले अहिले अध्ययन गरिरहेको छ । भण्डारी भन्छन्,'हामीले आफ्नो पाटोबाट गर्ने काम सकेर सबै एडिबीमा पठाइसकेका छौँ । अब उताबाट स्वीकृत भएर आएपछि काम सुरु हुन्छ ।'
उनका अनुसार असोज पहिलो साताबाट काम सुरु हुनेछ । प्राधिकरणले एकहप्ताअघि एडिबीलाई प्रक्रिया पुर्याएर कागजात पठाएको थियो भने एडिबीले विस्तृत अध्ययन गर्न कम्तीमा तीन हप्ता लगाउने भण्डारी बताउँछन् । राष्ट्रिय गौरवको यो आयोजना एडिबीको ऋणमा निर्माण गर्न लागिएकाे हो ।
विमानस्थल निर्माणका लागि ३७ कम्पनीले प्रस्ताव फारम खरिद गरे पनि ६ वटा मात्रै योग्य ठहरिएका थिए । विमानस्थल निर्माणका लागि अाठ अर्ब ५५ करोड रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान छ । हाल ६ अर्ब १२ करोड ७३ लाख रुपैयाँ (६३ मिलियन डलर) रकमबराबरको काम गर्न टेन्डर आह्वान गरिएको हो ।
पहिलो चरणमा एक हजार पाँचसय मिटर धावनमार्गलार्इ विस्तार गरेर तीन हजार मिटर बनाइनेछ । पहिलाे चरणको कामपछि विमानस्थलको पाकिर्ङ वे (एप्रोन) समेत ६ वटा हुनेछ । भण्डारीले भने, 'पहिलो चरणमा धावनमार्ग र अरु भौतिक संरचनाहरु बन्नेछन् । त्यसपछि दोस्रो चरणको काम हुन्छ ।'
टर्मिनल भवन, पार्किङ लगायतका भौतिक संरचनाको साथै वरपर बाटो, ट्याक्सी–वे, रेस्क्यु एन्ड फयर फाइटिङ युनिटका लागि भवन, इलेक्ट्रिकल खानेपानीलगायत भौतिक निर्माणतर्फका सबै निर्माण हुने दाेस्राे चरणमा हुनेछ । बाँकी झन्डै दुर्इ अर्ब रकम भने विमानस्थल निर्माणपछि आवश्यक पर्ने उपकरण खरिदका लागि उपयोग गरिने भण्डारीले जानकारी दिए ।
विमानस्थल निर्माणकार्य सुरु हुनेबित्तिकै अर्को टेन्डर गरी इक्युपमेन्ट खरिद गरिने भण्डारीले जानकारी दिए । निर्माण कम्पनीसँग टेन्डर सम्झौता भएको मितिले तीन वर्षमा निर्माण गरिसक्नुपर्ने भएकाले सन् २०१७ को सेप्टेम्बरसम्ममा विमानस्थल सञ्चालनमा आउने उनको भनाइ छ ।
विमानस्थलमा छ वटा अन्तर्राष्ट्रिय र चार वटा आन्तरिक उडान भर्ने जहाज पाकिर्ङ गर्न मिल्नेछ ।
स्तरोन्नतीपछि भैरहवामा 'वाइड बडी' जहाज अवरण गर्न सक्नेछन्। गौतम बुद्ध विमानस्थलको स्तरोन्नति भएपछि त्रिभुवन विमानस्थल व्यस्त भएको समयमा अन्तर्राष्ट्रिय विमान भारतमा लगेर अवतरण गर्नुपर्ने बाध्यता पनि हट्नेछ ।
गौतम बुद्ध विमानस्थल सञ्चालनमा आएपछि त्रिभुवन विमानस्थलमा हाल अवतरण भइरहेका जहाजमध्ये १० प्रतिशत लुम्विनीमा अवतरण गर्ने प्रक्षेपण प्राधिकरणाको छ । यो विमानस्थललाई त्रिभुवन विमानस्थलको वैकल्पिक विमानस्थल बनाउन सकिनेछ।